काठमाडौं । नेकपा (मसाल) भित्रको क्रान्तिकारी विचार समूहका रुपमा परिचित नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिले देशमा फिजिकरण र सिक्किमीकरणको खतरा बढेको जनाउँदै त्यसका विरुद्ध देशभक्त, राष्ट्रप्रेमी शक्तिहरु एक भएर आन्दोलनमा उत्रिन अपिल गरेको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकलाई जस्ताको त्यस्तै पारित गर्ने प्रतिनिधि सभाको कार्यप्रति मसाल विशेष महाधिवेशन आयोजक समितिले गम्भीर आपत्ति जनाएको छ ।
नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपालीद्वारा २०७९ भदौ ३ गते जारी प्रेस विज्ञप्तमिा उक्त आपत्ति जनाइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ–“राष्ट्रपति विधादेवी भण्डारीले श्रावण २९ गते प्रतिनिधि सभा र राष्टिय सभा दुवै सदनवाट पारित गरिएको नेपाल नागरिकता ऐन २०६३ (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि सन्देश सहित प्रतिनिधि सभामा फिर्ता पठाउनु भएकोमा २०७९ भाद्र २ गते प्रतिनिधि सभावाट जस्ताको त्यस्तै पारित भएको प्रति हाम्रो पार्टीको ध्यान आकर्षित भएको छ । नागरिकता जस्तो जटिल र संवेदनशील विषयमा गठवन्धन सरकारले राष्ट्रप्रमुखको सन्देश माथि कुनै छलफल वा पुनर्विचार नै नगरी पुनर्विचार गर्नु पर्ने विषयको समेत बेवास्ता गरी बहुमतको नाममा अधिनायकवादी शैलीमा हतार हतार जवरजस्ती पारित गर्ने र राष्ट्रिय सहमति कायम नगरी नागरिकता विधेयक जस्ताको त्यस्तै पारित गर्नु लाई हाम्रो पार्टीले गम्भीर आपत्ति र क्षोभ प्रकट गर्दछ ।
गठबन्धन सरकारले विधेयक पारित गरे पछि अब देश गम्भीर संकटमा पुगेको छ । संसदको यो निर्णयले देशमा गैर नेपालीले नेपाली नागरिकता प्राप्त गर्ने र जनसांख्यिक अतिक्रमण समेत बढेर जाने खतरा उत्पन्न भएको छ । त्यसबाट देश फिजीमा भारतीयहरुको बाहुल्यता बढदै गए पछि अन्तमा सत्ता कव्जा गरे जस्तै नेपालमा पनि गैर नेपालीहरुको बाहुल्यता भई फिजिकरण र सिक्किमीकरण हुने खतरा बढेको छ । देशलाई त्यो खतराबाट बचाउनका लागि राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्नु पर्ने अपरिहार्य भएकाले सम्पूर्ण देशभक्त राष्ट्रप्रेमी शक्तिहरु एक भएर आन्दोलनमा उत्रिन हाम्रो पार्टी अपील गर्दछ ।”