काठमाडौं । लामो समयको रस्साकस्सी पछि अन्तत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पदाधिकारीको टुंगो लगाएको छ । विशेषतः महासचिवमा वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा प्रभाकरको बलियो दावीका कारण माओवादी केन्द्रमा महाधिवेशन सकिएको लामो समयसम्म पदाधिकारी टुंगो लाग्न सकेको थिएन ।
पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रीय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै अध्यक्ष प्रचण्डले स्थायी समितिको बैठकमा पदाधिकारीको नाम प्रस्ताव गरेका थिए । अध्यक्षद्वारा प्रस्तावित पदाधिकारीहरुको नाम २०७९ भाद्र ४ गते सर्वसम्मत रूपमा पारित भएको छ ।
माकेको महासचिवमा अनन्त र प्रभाकर भन्दा तेस्रो व्यक्तिको रुपमा देव गुरुङ आएका छन । महासचिवका बलिया दुई दावेदारहरु अनन्त र प्रभाकरले आखिर उपमहासचिवमा चित्त बुझाएका छन ।
अब माओवादी केन्द्रका पदाधिकारहरुमा अध्यक्ष ः पुष्पकमल दाहाल “प्रचण्ड”,वरिष्ठ उपाध्यक्ष ः नारायणकाजी श्रेष्ठ “प्रकाश” , उपाध्यक्ष ः कृष्णबहादुर महरा र महासचिव ः देव गुरुङ निश्चित भएका छन । यस्तै माकेका सात उपमहासचिवहरुमा वर्षमान पुन अनन्त, पम्फा भुसाल, जनार्दन शर्मा प्रभाकर, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेल रहेका छन । यसैगरी ९ सचिवहरुमा दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन भने कोषाध्यक्षको जिम्मेवारी श्रीराम ढकाल प्रशान्तले पाएका छन ।