आवश्यकता संयुक्त संघर्षको
भाद्र २६ मा काठमाडौंमा ५ वाम दलको विरोध प्रदर्शन र सभा
काठमाडौं । देशको राष्ट्रियता यतिबेला इतिहासमै गम्भीर संकटमा परिरहेको छ । देशको राष्ट्रिय स्वाधिनता माथि आँच पुग्ने प्रावधानहरु रहेको राष्ट्रघाती नागरिकता विधेयक प्रमाणिकरणका निम्ति पुनः राष्ट्रपति कार्यालयमा पुगेको छ ।
राष्ट्रपतिले दिएका १५ बुंदे सुझावहरुलाई पूर्णतः बेवास्ता गर्दै पाँच दलीय गठबन्धनले राष्ट्रघाती नागरिकता विधेयकलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट अधिनायकवादी शैलीमा पुनः हुबहु पारित गराएको छ । पाँच दलीय गठबन्धनको देउवा सरकारले विस्तारवादी एवं साम्राज्यवादी शक्ति केन्द्रहरुको निर्देशनमा देशको राष्ट्रियता र स्वाधिनतामाथि गम्भीर सौदाबाजी गरिरहेको छ । पाँच दलीय गठबन्धनले बहुमतका आडमा एमसिसि जस्तो राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गराएर देशलाई अमेरिकी सेनाको परेड स्थल गराउने मार्ग प्रशस्त गरेको छ । राष्ट्रघाती नागरिकतता विधेयक दुवै संसदबाट पुनः पारित गराएर देशलाई फिजिकरणको दिशामा धकेलेको छ । जनघात र राष्ट्रघात पाँच दलीय गठबन्धनको देउवा सरकारको मूल मार्ग बनिरहेको छ ।
देशको राष्ट्रियता गम्भीर संकटमा फसिरहेको छ–पाँच दलीय गठबन्धनमा आबद्ध दलहरु सत्ताको रसोस्वादनमै मस्त छन् । उनीहरुलाई चिन्ता देशको राष्ट्रियता र स्वाधिनताको होइन, आगामी निर्वाचनमा कसरी बहुमत प्राप्त गरेर सत्ताको चास्नीमा डुबिरहने भन्ने मात्र देखिन्छ । देशका ठूलासाना पार्टीहरु प्रायलाई चुनावी नसाले लठ्याइरहेको छ । नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समिति र नेकपा (क्रान्तिकारी–माओवादी) ले मात्र स्पष्ट रुपमा घोषित निर्वाचनले जनताका आधारभूत समस्या समाधान गर्न नसक्ने भन्दै बुर्जुवा संसदीय निर्वाचन बाहिष्कार गरेर जान जनतालाई आह्वान गरिरहेका छन् । देशको राष्ट्रियताको रक्षा चुनावी फोहोरी खेलको हिस्सेदार भएर होइन, देशभक्तिपूर्ण आन्दोलनलाई निरन्तर रुपमा अगाडि बढाएर मात्र हुने देखिन्छ । समय र परिस्थितिले सम्पूर्ण देशभक्त नेपालीहरुलाई एकताबद्ध भएर देशभक्तिपूर्ण आन्दोलन अगाडि बढाउन माग गरिरहेको छ ।
समयको उक्त मागलाई आत्मसाथ गर्दै मुलुकका जिम्मेवार पाँच वाम दलहरुले संयुक्त संघर्ष अगाडि बढाउने प्रयास गर्दै आएका छन् । पाँच दलीय गठबन्धनको देउवा सरकारले देशलाई फिजिकरण र सिक्किमीकरणको दिशामा तीब्रतर गतिमा अगाडि बढाउन थालेपछि देशका जिम्मेवार पाँच वाम दलहरुले संयुक्त संघर्षलाई अब झनै पेचिलो र सशक्त रुपले अगाडि बढाउने भएका छन् । राष्ट्रियता र जनजीविकाका विविध विषयहरुलाई लिएर विगत लामो समयदेखि संयुक्त संघर्ष अगाडि बढाइरहेका पाँच वाम दलहरुले देउवा सरकारको राष्ट्रघात र जनघातका विरुद्ध २०७९ भदौ २६ गते काठमाडौंमा विरोध जुलुश तथा सभा गर्ने भएका छन् । बहुसंख्यक वास्तविक नेपालीहरुलाई अल्पमतमा पार्ने गरी राष्ट्रघाती नागरिकता विधेयक पारित गर्ने, राष्ट्रपतिको समेत अपमान गर्ने, राष्ट्रहीतलाई खुल्लमखुल्ला तिलाञ्जली दिने, शहिदहरुको बलिदानको अपमान गर्ने काम वर्तमान संसदले गरिरहेको भन्दै पाँच वाम दलले देशको स्वाधिनताको रक्षार्थ संघर्षको मैदानमा उत्रन सम्पूर्ण देशभक्त नेपालीहरुलाई आह्वान गरेका छन् ।
नेकपा (मसाल) विशेष महाधिवेशन आयोजक समितिका संयोजक सन्तबहादुर नेपाली, नेकपा (क्रान्तिकारी–माओवादी) का स्थायी समिति सदस्य सिपि गजुरेल, नेकपा (बहुमत) का संयोजक कञ्चन, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदी र संयुक्त क्रान्तिकारी मोर्चा नेपालका प्रतिनिधि नारायण शर्माको संयुक्त हस्ताक्षरमा २०७९ भदौ २० गते जारी गरिएको संयुक्त वक्तव्यमा उक्त आह्वान गरिएको छ । वक्तव्यमा अगाडि भनिएको छ–“सार्वभौम भनिएको संसदलाई विदेशी स्वार्थको हित गर्ने अखडामा परिणत गर्ने र त्यसलाई लोकतन्त्रको सुन्दर अभ्यासको संज्ञा दिएर जनतालाई भुलभुलैयामा राख्दै विदेशीको खासगरी अमेरिकी साम्राज्यवाद र भारतीय प्रभुत्ववादको आशीर्वादमा शासन चलाउने दास मनोवृत्ति र दुष्प्रवृत्तिले गर्दा संसदले देशको स्वाधीनतालाई नै गम्भीर खतरामा पार्ने घातक र राष्ट्रहित विपरीतको एम.सी.सी. सम्झौता व्यापक जनविरोधका बाबजुद केही महिनापहिला पारित ग¥यो । यता, पछिल्लो समयमा बाह्य जनसाङ्ख्यिक अतिक्रमण बढाउने पुस्तौं पुस्तादेखि नेपालमा बसोबास गर्दै आएका बहुसङ्ख्यक नेपालीलाई अल्पमतमा पार्ने राष्ट्रघाती नागरिकता विधेयक पनि पारित गर्न यतिबेला जोडतोडले संसद लागिरहेको छ । यसरी देशलाई फिजीकरण र सिक्किमीकरण गर्ने बाटो खोलिरहेको छ । जनता र राष्ट्रको हितलाई खुलमखुला तिलाञ्जली दिने र रक्षा गर्न नसक्ने र नेपाली जनताले परिवर्तनका लागि चलाएका बलिदानीपूर्ण सङ्घर्षहरुको उच्च जनादेशको ठाडो उल्लङ्घन गर्ने तथा अमर शहीदहरुको घोर अपमान गर्ने काम संसदले गरिरहेको छ । यस्तो संसदले न नेपाली जनताको हितको प्रतिनिधित्व गर्न सक्छ न राष्ट्रिय हितको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने राष्ट्रपतिजस्तो सर्वोच्च संस्थाको मर्यादा र गरिमा नै कायम राख्न सक्दछ । कदापि सक्तैन भन्ने निचोडमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षा र विकासका निमित्त संयुक्तरुपमा सङ्घर्षरत हामी पाँच वामशक्तिहरु पुगेका छौं ।
अतः यस्तो गम्भीरतम् स्थितिमा के तराई, के पहाड, के हिमाल सबै क्षेत्रका आम नेपाली जनता मजदूर, किसान, महिला, युवा, विद्यार्थी, मधेशी, जनजाति, अल्पसङ्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख सबै तह र तप्काका जनसमुदायमा आफ्नो नागरिक स्वतन्त्रता र जनतान्त्रिक अधिकार तथा राष्ट्रिय स्वत्व, अस्तित्व, स्वाभिमान र स्वाधीनताका लागि एकजुट भएर देशको स्वाधीनता र आफ्ना अधिकारको रक्षा गर्न सङ्घर्षको मैदानमा उत्रिनुबाहेक अन्य कुनै विकल्प नरहेको गम्भीर स्थिति सिर्जना भएको औंल्याउन चाहन्छौं र सङ्घर्षको मैदानमा सचेत र एकताबद्ध किसिमले खडा हुन सर्वशक्तिमान जनतामा हामी हार्दिक आह्वान गर्न चाहन्छौं ।
बाह्य शक्तिको अवाञ्छित स्वार्थको आडमा देशमा उत्पन्न गराइएको आजको यो गम्भीरतम् र संवेदनशील स्थितिमा देश र जनताको हितमा आफूलाई क्रियाशील ठान्ने सबै निष्ठावान् देशभक्त, लोकतान्त्रिक, वामपन्थी, तथा कम्युनिस्ट शक्ति, समूह एवम् सत्यनिष्ठ व्यक्तिहरुलाई समेत हामी सङ्कीर्ण राजनीतिक पूर्वाग्रहलाई त्यागेर देश र जनतलाई जोगाउने र शतत् रक्षा गर्ने आन्दोलनलाई एकताबद्ध र सशक्त तुल्याउन अग्रसर हुन र पहल गर्न पनि जोडदाररुपमा विशेष आग्रह गर्दछौं ।
यस सन्दर्भमा हामी पाँच वामशक्तिले आगामी भदौ २६ गते काठमाडौंमा विरोध जुलुस तथा सभा गर्ने निर्णय गरेका छौं र यसमा सहभागी भई सफल पार्न सम्पूर्ण जनसमुदायमा हार्दिक आह्वान गर्दछौं ।”