काठमाडौं । वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले वर्गीय समाजमा कुनै पनि व्यक्ति वर्ग र समाज भन्दा बाहिर रहन नसक्ने बताएका छन् । “हामी समाजमा जन्मिएका हौं, त्यसैले हामी समाज भन्दा बाहिर हुन सक्दैनौं ।”– वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले भनेका छन्–“कविता र कविको पनि वर्गीय चरित्र हुन्छ ।”
अखिल नेपाल लेखक संघले २०७९ भदौ १८ गते इन्छुक प्रतिष्ठानको सभाहल काठमाडौंमा आयोजना गरेको “कविता र कविता चर्चा” कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै चैतन्यले उक्त कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै चैतन्यले साहित्य सिर्जना समाज र जीवन रुपान्तरणका निम्ति हुनुपर्नेमा जोड दिएका थिए ।” कविता समाज रुपान्त्रणका निम्ति, जीवन रुपान्तरणका निम्ति रचिनुपर्छ । कविता आफैमा शास्त्र होइन तर शास्त्रलाई अभिप्रेरित गर्ने विषय हो कविता ।”–चैतन्यको भनाई थियो–“कवि पनि एक सामाजिक प्राणी हो । स्वतन्त्रता पनि आवश्यकतासँग जोडिएको विषय हो ।” सम्बोधनका क्रममा नेकपा (क्रान्तिकारी–माओवादी)का महासचिव समेत वरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले कुनै पनि विषयको व्याख्या गर्नु मात्र माक्र्सवादी लेखकहरुको कर्तव्य नहुने स्पष्ट पारे । “माओ–त्सेतुङ स्वयंले पनि साहित्यमा नाराको विरोध गर्नु भएको छ ।” उनको भनाई थियो–“व्याख्या मात्र गरेर माक्र्सवादी भइदैन ।” कार्यक्रममा प्रस्तुत गरिएका कविताहरुमा आफूले शैलीमा नविनता पाएको चैतन्यले बताए । हामीले चाहेको जस्तो समाज देशमा अझै निर्माण नभइसकेको बताउँदै चैतन्यले सम्बोधनका क्रममा प्रगतिवादी कवि र साहित्यकारहरुलाई क्रान्तिका पक्षमा निरन्तर आफ्ना सिर्जनाहरु पस्किरहन आह्वान समेत गरे । चैतन्यले कार्यक्रममा प्रस्तुुत कविताहरु जनहितमा आधारित भएर रुपान्तरणको पक्षमा उभिएका भन्दै कविता प्रस्तुत गर्ने कविहरुलाई धन्यवाद समेत दिए ।
अर्का माक्र्सवादी सौन्दर्य चिन्तक निनु चापागाँइले कार्यक्रममा प्रस्तुत कविताहरुको समालोचना गर्दै आफूलाई माक्र्सवादी बताउने स्रष्टाहरुले समाजवादी यथार्थवादी धार अवलम्बन गर्नुपर्ने बताए । नेपालको वाम आन्दोलन एवं प्रगतिवादी साहित्यमा समेत भनाई र गराइका बीचमा गहिरो खाडल देखिएको बताउँदै समालोचक चापागाँइले त्यो खाडल प्रगतिवादी साहित्यकारहरुले नै मेटाउनु पर्नेमा जोड दिए । समाज रुपान्तरणमा साहित्यले सहयोग पु¥याउनै पर्ने उनको थप भनाई थियो ।
यस्तै अर्का माक्र्सवादी सौन्दर्य चिन्तक ताराकान्त पाण्डेले कार्यक्रममा प्रस्तुत कविताहरुको समालोचना गर्दै प्रगतिवादी कविहरुले आदर्श र विचार स्खलनका समस्याका विरुद्ध आलोचनात्मक चेत दिने अस्त्रको रुपमा कविताहरुको सिर्जना गर्नुपर्ने बताए । वर्तमान सत्ताले समाजमा अनेकन प्रकारका विडम्बनाहरु सिर्जना गरिरहेको यथार्थता पस्कँदै माक्र्सवादी चिन्तक पाण्डेले सत्ता र शासकको विसंगत चरित्रमाथि साहित्यीक क्षेत्रबाट पनि तीब्र प्रहार गरिरहनु पर्नेमा जोड दिएका थिए ।
समालोक कवि भूपाल राइले कार्यक्रममा प्रस्तुत गरिएका कविताहरुको समालोचना गर्दै कविता आफैमा शास्त्र नभएको प्रष्ट पारे । “कविता विचार हो तर सिद्धान्त होइन ।”–कवि राइको भनाइ थियो–“कविता सुन्ने र बोध गर्ने विषय हो । कविता सिर्जना हो, तर शास्त्र होइन ।”
कार्यक्रममा १५ जना प्रगतिवादी कविहरुले आफ्ना रचना वाचन गरेर सुनाएका थिए । कविहरुका ती कविताहरुमा देश र जनताले भोग्नु परिरहेका विविध पीडाहरु बोलिएको थियो । विचार र आर्दशबाट च्यूत हुँदै गैरहेको राजनैतिक नेतृत्व प्रति तिखो व्यंग्यवाण प्रहार गरिएको थियो । पितृसत्तात्मक सोंच र प्रवृत्तिका विरुद्धमा धावा बोलिरहेको थियो । जातीय विभेदका विरुद्ध आगो ओकलिएका थिए ती कविताहरुमा । कार्यक्रममा कवि अनिल श्रेष्ठले “यो देशको सबैभन्दा ठूलो मूर्दाघर हो–सिंहदरवार” शीर्षकको कविता, कवि गौरी देवकोटाले “सडक र सुन्यता” शीर्षकको कविता , कवि पुरषोत्तम आचार्यले छन्दमा “तिम्रो नाममा” बोलको कविता, कवि राजु स्याङताङले “छुटेको प्रचण्ड” शीर्षकको, कवि विन्दु शर्माले “अर्की सुनकेशरी”, कवि शोभा दुलालले “विभेद”, कवि केवल विनावीले “प्रतिवादीको बयान” र कवि नारायण शर्मा ‘विपिन’ ले “सरकार तेरो र मेरो कुरै फरक छ” शीर्षकको कविता प्रस्तुत गरेका थिए । यसैगरी कवि प्रकाश गुरागाँईले “म सगरमाथा हेर्न गएको थिएँ”, कवि रोशन जनकपुरीले “जनकपुर र जनकपुर”, कवि केशव सिलवालले “टाउको काटिएको शालिक”, कवि पंचकुमारी परियारले “बुढी वादीको विन्तीपत्र”, कवि विनोद विक्रम के.सी.ले “समाजवादको तिर्खाको क्षेत्रफल”, कवि यज्ञ बहादुर डाँगीले “अचेल” र कवि विमल निभाले “प्रेम” शीर्षकको आफ्नो कविता कार्यक्रममा वाचन गरेका थिए । अखिल नेपाल लेखक संघका अध्यक्ष, प्रगतिवादी कवि मित्रलाल पंगेनीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको संचालन कवि सुनिता बुढाथोकीले गरेकी थिइन ।