सञ्चारगृहका श्रम समस्या समाधानमा सक्रिय हुँदै नेपाल पत्रकार महासंघ

काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारगृहहरुमा विद्यमान श्रम समस्या समाधानका लागि गम्भीरतापूर्वक कदम चालेको छ । पटकपटकको आग्रहलाई बेवास्ता गरिएपछि महासंघले जनता टेलिभिजन, इमेज टेलिभिजन र नाइस टेलिभिजनमा सांकेतिक धर्ना कार्यक्रमको घोषणा गरेको थियो । धर्ना कार्यक्रमको घोषणापछि ती सञ्चारगृहहरुमा धर्नाका साथै वार्ता र सहमति समेत भएका छन् । शुरुमा जनता टेलिभिजन, जनता रेडियो र जनता अनलाइनको सञ्चालक संस्था जनता प्रसारण तथा प्रकाशन लिमिटेडसँग महासंघको वार्ता भएको थियो । काम छोडेका श्रमजीवीहरुलाई तलव र सेवासुविधा दिने, कार्यरत श्रमजीवीहरुको रोकिएको तलब तथा सेवासुविधा क्रमैसँग दिँदै जाने सहमति भएपछि त्यहाँको धर्ना कार्यक्रम स्थगित गरिएको थियो । सहमतिमा महासंघका उपाध्यक्ष उदय जीएम र केन्द्रीय सदस्य रामकृष्ण अधिकारी तथा लिमिटेडका तर्फबाट प्रशासन प्रमुख सन्दीप पौडेल र समाचार सम्पादक टंक पन्तले हस्ताक्षर गर्नुभएको थियो ।

उता नाइस टेलिभिजनमा पनि शुक्रवार आन्दोलन रोकेर वार्ता प्रारम्भ भएको थियो । उपाध्यक्ष उदय जीएमको उपस्थितिमा टेलिभिजनको कार्यालयमै टेलिभिजन ब्यवस्थापन, श्रमजीवी पत्रकारका बीचमा वार्ता भएको थियो । वार्तापछि १२ जना पत्रकारहरुलाई नाइस टेलिभिजनले २३ हजारदेखि ८१ हजारसम्मका चेक केही समय राखेर दिएको छ । सुरक्षा गार्डसम्मले चेक बुझेको र विदेश जानुभएका १ जनाले मन्जुरीनामा पठाएपछि तत्काल चेक दिने सहमति भएको छ । चेक नसाटिने समस्या नहोस भनेर व्यवस्थापनलाई महासंघको तर्फबाट गम्भीर रुपमा ध्यानाकर्षण गराइएको छ ।

इमेज टेलिभिजनमा देखिएका श्रम समस्यालाई पटकपटक सम्बोधनको आग्रह गर्दा पनि बेवास्ता गरिएपछि महासंघको तर्फबाट धर्ना कार्यक्रम नै आयोजना गरिएको थियो । धर्नालगत्तै इमेज टेलिभिजनमै ब्यवस्थापन पक्षसँग वार्ता पनि पारम्भ भएको छ । इमेज टेलिभिजनको ब्यवस्थापनका तर्फबाट अध्यक्ष आरके (रामकृष्ण) मानन्धर, महेन्द्र विष्ट र डिजिएम सुरेश शर्मा तथा नेपाल पत्रकार महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र केन्द्रीय सदस्य रामकृष्ण अधिकारीबीच वार्ता भएको थियो । वार्ताका क्रममा शुरुमा केही नोकझोक चलेपनि पछि समस्या समाधान गर्न ब्यवस्थापन पक्षले वार्ता टोली नै बनाएर छलफल आरम्भ गर्न प्रस्ताव गरेको थियो । सोही आधारमा इमेज टेलिभिजनका डिजिएम सुरेश शर्मालगायतको टोली र महासंघका तर्फबाट केन्द्रीय सदस्यद्वय रामकृष्ण अधिकारी, विकास कार्की र इमेज प्रतिष्ठान शाखा अध्यक्ष शंकर खनाल रहेको वार्ता टोली बनेको छ । भोलि नै वार्ता गरेर समस्या समाधानको पहल गर्ने निष्कर्षमा पुगिएको महासंघले जनाएको छ ।

श्रम समस्या देखिएको नागरिक दैनिकले पनि महासंघलाई पत्र पठाएको छ । तर, नागरिक दैनिकले पठाएको पत्रसँग महासंघ सहमत हुने अवस्था नरहेको बताइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित