काठमाडौं । नेपाल र उत्तरी छिमेकी राष्ट्र चीन बिच ६ बुदे समझदारी भएको छ । नेपालको प्रतिनिधिसभा तथा जनवादी गणतन्त्र चीनको नेशनल पिपुल्स कंग्रेसका बीच १२ सेप्टेम्बर २०२२ अर्थात २०७९ भदौ २७ गतेका दिन अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको भएको हो ।
नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र नेपालको औपचारिक भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच द्विपक्षीय वार्तामा भएको सहमतिको आधारमा २७ भदौका दिन बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
हस्ताक्षरित उक्त ६ बुंदे समझदारीपत्रमा दुवै पक्षले एकअर्काको विधायिकी, सुपरीवेक्षकीय र शासन सञ्चालनसम्बन्धी अभ्यासका बारेमा जानकारी आदानप्रदान गर्ने र दुई सरकारबीच सहमति भएबमोजिम ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ मार्फत समेत दुई राष्ट्रहरुबीच अन्तरआबद्धता अभिवृद्धि गरी पारस्परिक लाभको सहयोगमा सहजीकरण गर्न महत्व दिने उल्लेख छ । सम्झौतापत्र अनुसार दुवै पक्ष आपसी विश्वास सुदृढ र विकास गर्न, एकअर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्न, एकअर्काको स्वतन्त्र रूपमा छनोट गरिएको सामाजिक प्रणाली र विकास पथको सम्मान गर्न तथा एकअर्काका मूल हित र महत्वपूर्ण सरोकारका विषयमा साथ दिन सहमत भएका छन् ।
यसैगरी दुवै पक्षले दुई राष्ट्र र जनताबीचको द्विपक्षीय सम्बन्ध थप गहन बनाउन र सहयोगमा योगदान पु¥याउन बहुआयामिक माध्यमबाट सबै तहमा अन्तरसंसदीय आदानप्रदान र सहयोग सुदृढ गर्न प्रयास गर्ने सम्झौतापत्रमा उल्लेख छ । समझदारीपत्रमा उल्लेख भए अनुसार अब दुवै पक्षले नेपाल र जनवादी गणतन्त्र चीनका दुई व्यवस्थापिकाबीच उच्चस्तरीय भ्रमण र सम्पर्कको आदानप्रदानमा प्राथमिकता दिनेछन् ।