काठमाडौं । गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनको परिणाम पनि करिब आइसकेको छ । अब छिटै नै अन्तिम परिणाम घोषणा हुनेछ । प्राप्त मतपरिणाम अनुसार केन्द्रमा कुनै दलको बहुमतको सरकार बन्ने छैन र प्रदेशहरुमा पनि एकल बहुमतको सरकार बन्ने छैन ।
अब सरकार निर्माणको जोड घटाउ हुन थालेको देखिन्छ । नेपालमा अब कस्तो सरकार बन्ला ? देशको भविष्य के हुनेछ ? आम जनमानसमा कौतुहलता हो यो । यही विषयको सेरोफेरोमा रहेर हाँक साप्ताहिकले निम्न राजनैतिक नेतृत्व र विश्लेषकहरुलाई प्रतिक्रिया मागेको छ ः
विमल शर्मा, नेकपा (मशाल) समर्थक वामपन्थी नेता
निर्वाचनको जुन परिणाम आएको छ, राम्रो संकेत देखिएको छैन । दलाल नोकरशाही पुँजीपति वर्गको सत्ताले गराएको निर्वाचन देश र जनताको पक्षमा नहुने निश्चित थियो । त्यही भयो । आफुलाई कम्युनिस्ट वा वामपन्थी बताउने समूहहरुले प्रतिक्रियावादी शक्तिसित जुन गठबन्धन गरेका छन् । त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई ठूलो नकारात्मक असर पार्नेछ । अहिलेको गठबन्धनबाट दलाल तथा नोकरशाही पुँजीपति वर्गको पार्टी नेपाली कांग्रेसलाई फाइदा भएको छ । अर्कोतर्फ यस चुनावबाट राजावादीहरु पनि विगतमा भन्दा बलिया भएका छन् । नेपाल स्वतन्त्र पार्टी र स्वतन्त्रका नाममा केही व्यक्तिहरुले संसदमा प्रतिनिधित्व गरेका छन् । तिनीहरुले कुनै न कुनै गठबन्धनमा सामेल हुने कुरालाई अस्वीकार गर्न सकिन्न । उनीहरुका कुनै प्रतिक्रियावादी समूह वा दलमा विलय भयो भने पनि आश्चर्यको विषय हुने छैन । यस अवस्थामा निर्वाचन बहिस्कारका पक्षधर पार्टीहरुले सचेत हुँदै आफ्नो संगठनलाई बलियो बनाउँदै जानु पर्ने आवश्यकता छ । प्रतिक्रियावादी र संशोधनवादीहरुको गठबनधन अगाडि बढिरहेको अवस्थामा उनीहरुको भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको प्रचार प्रसारलाई अरु व्यापकरुपमा बढाएर लैजान आवश्यक छ । नयाँ जनवादी क्रान्तिका पक्षधरहरुको कार्यगत एकता र संयुक्त मोर्चा बनाउँदै अगाडि बढ्नु र नयाँ जनवादी क्रान्तिका आधार तयार पार्न तिर ध्यान दिन आवश्यक छ ।
सि.पि. गजुरेल, नेता, नेकपा (क्रान्तिकारी माओवादी)
निर्वाचन सम्पन्न भएको छ । सरकार निर्माणका लागि प्रक्रिया अगाडि बढाउन खोजिरहेको छ । तर प्रष्ट चित्र अझै आएको छैन ।
सरकारी गठबन्धन यही गठबन्धनलाई अगाडि बढाएर लैजाने र सरकार संचालन गर्ने मनस्थितिमा रहेको देखिन्छ । प्रष्ट चित्र नआएको भए पनि ओलीले पनि सरकार बनाउन सकिन्छ कि भनेर कोशिस गर्दैछन् । निर्वाचन भन्दा पहिले जुन प्रतिक्रियावादी चरित्रको सरकार थियो । अब बन्ने सरकार पनि चरित्रका हिसावले गुणात्मक रुपमा फरक हुने छैन । अब बन्ने सरकारले राष्ट्रघात, जनघात, भ्रष्टाचार, जनतामाथिको शोषणलाई निरन्तरता दिनेछ । प्रचण्ड अहिले नै तत्कालै देउवा क्याम्प नछोड्ने मनस्थितिमा छन् । जे भए पनि अब बन्ने सरकारले देशीय प्रतिक्रियावादी वर्ग र विदेशी विस्तारवादी साम्राज्यवादी शक्तिहरुको स्वार्थको सेवामा काम गर्ने छ । राष्ट्रघाती, जनघाती कानुन बनाउने छ । देशका हितविरुद्ध सन्धिसम्झौता गर्नेछ । यस अवस्थामा क्रान्तिकारी शक्तिहरुको लागि आफ्नो कार्यक्रमलाई प्रतिक्रियावादी शक्ति विरुद्धमा लैजान उपयुक्त परिस्थिति पनि बन्दै गएको देखिन्छ । जनताले विकल्प खोजेका छन् । क्रान्तिकार िशक्तिहरुले जनतालाई विकल्प दिन नसकेको कुरालाई हामीले स्वीकार गर्नुपर्दछ । अब क्रान्तिकारी शक्तिहरुले बैकल्पिक शक्ति निर्माण गर्दैै वर्तमान प्रतिक्रियावादी संकटको विकल्प दिने गरी संघर्ष अगाडि बढाउनु पर्छ ।
प्रा.डा. सुरेन्द्र के.सी., राजनीतिक विश्लेषक
निर्वाचनको परिणाम हेर्दा अब २०५१ देखि २०५६ सम्मको राजनीतिक स्थितिको पुनरावृत्ति हुने देखिन्छ । कुनै पनि दलको बहुमत नआएपछि बारम्बार सरकार परिवर्तनको खेल चलिरहने अवस्था आउँछ जस्तो लाग्छ । २०७४ मा वामपन्थीहरुको बहुमतको सरकार बन्यो तर त्यसलाई पनि आफ्नै झगडाका कारण ५ वर्ष टिकाउन सकेनन् । यत्तिको बलियो सरकार बनेपछि केही राजनीतिक स्थिरता हुन्छ कि भन्ने लागेको थियो । त्यो सरकार त स्थिर हुन सकेन भने अब झन अस्थिरता कै स्थिति आउनेछ । वर्तमान गठबन्धन सरकारलाई नै निरन्तरता दिने प्रयास हुँदैछ । यो गठबन्धन कुनै सिद्धान्त, विचारका आधारमा बनेको गठबन्धन हो । सत्तास्वार्थका लागि बनेको गठबन्धन हो ।
जहाँसम्म वाम एकताका आधारमा ओलीले सरकार बनाउने प्रस्ताव राखेको भन्ने सन्दर्भ छ । साँच्चै भन्ने हो भने ओलीसितत्यो प्रस्ताव राख्ने नैतिक धरातल पनि छैन । आफ्नै बलियो स्थितिलाई भताभुंग पार्ने काम त उनले नै गरेका हुन् ।
सत्ताका लागि जे पनि गर्न तयार हुने राजनीतिक दलहरुको तरिकाले देशलाई अधोगतितिर लगिरहेको छ । सबैभन्दा खतरनाक कुरा त के हो भने एउटा कुरा भन्ने तर अर्को काम गर्ने । वामपन्थी भन्ने प्रतिक्रियावादीलाई फाइदा पु¥याउने । आफैले गरेको गल्ती प्रति कहिलै महशुस नगर्ने । यस्तो भएपछि कसरी देश उँभो लाग्छ ।
एमसीसी चाहिंदैन भनेर युवा विद्यार्थीलाई सडकमा ढुंगामुढा गर्न लगाउने पनि माओवादी केन्द्र तर एमसीसी पारित गर्ने पनि माओवादी केन्द्र नै । राष्ट्रिय जनमोर्चाले भन्छ वामपन्थी तर सत्तास्वार्थका लागि कांग्रेससँग तालमेल गर्छ । मोहन विक्रम सिंह र चित्रबहादुरको तालदेखि हाल्नु भयो । १÷२ सिटको लागि आफैले प्रतिक्रियावादी भनेको शक्तिसित घाँटी जोडेका छन् । यो चिल देखाएर कुखुरा चोर्ने तरिकाले नै कम्युनिस्ट आन्दोलनलाई दिग्भ्रमित पारेको छ ।
आफूलाई वामपन्थी र देशभक्त भन्ने शक्तिहरु एक ढिक्का भएर विकल्पको खोजी गर्नु आवश्यक छ जस्तो लाग्छ । यो नै आजको सन्दर्भमा प्रगतिशील धार हो ।
धनकुमारी वि.क., सचिवालय सदस्य, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी , नेपाल
बहुमत कुनै पनि पार्टीको आएको छैन । अब गठबन्धन प्रकारको सरकार नै बन्ने छ । देशमा अस्थिरता बढेर जाने देखिन्छ ।दलहरुका निर्वाचन घोषणापत्र हेर्दा यिनीहरुबाट जनताको आधारभूत समस्या समाधान नहुने नै देखिन्छ । दलहरुले घोषणापत्रमा ५÷१० लाख रोजगारी सिर्जना गर्ने भनेका छन् । रोजगारी सिर्जना कसरी गर्ने , कहाँ के कति उद्योग खोल्ने ? कृषिमा कसरी रोजगारी सिर्जना गर्ने ? पर्यटनमा कसरी ? कुनै ठोस योजना नै छैन । ती कुराहरु चुनावमा भन्नका लागि मात्र भनिएका हुन् । गर्नका लागि हैन । प्रत्येक नेपालीको टाउकोमा ६३ हजार विदेशी ऋण छ । विदेश ऋण लिएर करिब ४० अर्ब धनराशी खर्च गरेर अहिलेको चुनाव गरिएको छ । तर मिशन भिजन केही छैन। यस्तो अवस्थामा जनतामा छरिएका भ्रमहरुलाई स्पष्ट पार्ने, जनताका प्रत्यक्ष सरोकारका मुद्दाहरुलाई उठाएर आन्दोलन गर्ने र जनतालाई प्रगतिशील आन्दोलनमा संगठित गर्दै जाने कम्युनिस्ट पार्टीको दायित्व हो ।
Comments