भारतको चरम दलालीमा सत्ता गठबन्धन

पाँच दलीय गठबन्धनलाई राष्ट्रियता भन्दा सत्ता नै प्यारो

काठमाडौं । भारतीय पक्षबाट गरिएको ढुंगा प्रहारबाट सिमानामा नेपाली जनता घाइते भएका छन्, जनता सडकमा उत्रिएर भारतको विस्तारवादी कदमका विरुद्ध खबरदारी गरिरहेका छन्, तर पाँच दलीय सत्ता गठबन्धनलाई भने त्यो घटनाले कुनै प्रभाव पार्न सकेन । भारतको ज्यादती र विस्तारवादी रवैयाका विरुद्ध दार्चुलाका नेपाली जनता सडकमा जुधिरहँदा पाँच दलीय सत्ता गठबन्धनलाई भने नेपालको राष्ट्रियता, स्वाधिनता भन्दा सत्ता नै प्रिय बन्न पुगेको छ । यसबाट पाँच दलीय गठबन्धन भारतीय विस्तारवादको चरम दलालीमा लिप्त रहेको पुनः पुष्टि भएको छ ।

भारतले महाकाली नदी नेपालतर्फ धकेल्ने गरी तटबन्ध निर्माणलाई जारी राखेपछि दार्चुलाका जनता यतिबेला सडकमै उत्रिएर कडा विरोध गरिरहेका छन् । दार्चुलामा भारतले खलंगा र धार्चुला जोड्ने पुलमुनि विगत दुई वर्षदेखि पक्की तटबन्धन निर्माण गरिरहेको छ । दार्चुलाका स्थानीय नेपाली जनताले २०७९ मंसिर १८ गते उक्त पुल नै अवरुद्ध गरेर भारतलाई उक्त पक्की तटबन्धन निर्माण कार्य रोक्न माग गर्दा त्यहाँ भारतीय पक्षबाट नेपाल जनता माथि आक्रमण भयो । भारतीय पक्षको ढुंगा प्रहारबाट आफ्नो सिमानाको रक्षार्थ सडकमा उत्रिएका स्वाभिमानी देशभक्त दार्चुलाका चार नेपालीहरु गम्भीर घाइते भए । भारतीय पक्षको प्रहारबाट स्कूलमा खेलिरहेका नेपाली बालबालिकाहरु समेत घाइते भए । भारतीय पक्षको ज्यादती र विस्तारवादी रवैयाका विरुद्ध दार्चुलाका नेपाली जनताले १९ मंसिरमा पनि आन्दोलन जारी राखे । दार्चुलाका स्थानीय नेपाली जनता आफ्नो मातृभूमिको रक्षार्थ सडकमा आवाज बुलन्ध गरिरहेको ठीक त्यही समयमा काठमाडौंको बालुवाटारमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको थियो । तर त्यो बैठकले नेपालको राष्ट्रियता र स्वाधीनतासँग प्रत्यक्ष रुपमा जोडिएको उक्त दार्चुला घटनाबारे केही निर्णय नलिएको बैठक पश्चात् पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट चार दलका शीर्ष नेताहरुको हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीले प्रष्ट पारेको छ । सत्ता गठबन्धनका चार दलका शीर्ष नेताहरुको हस्ताक्षरमा जारी उक्त विज्ञप्तीमा आगामी सरकार निर्माण गर्दा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने स्पष्ट उल्लेख गरिएको छ तर नेपाली राष्ट्रियतामाथि भारतीय पक्षबाट गरिएको ज्यादती बारे चुँसम्म बोलिएको छैन । राष्ट्रियतामाथि प्रहार हुँदा चुँसम्म नबोल्नु तर सत्ताको भोग गर्नका लागि गठबन्धनलाई निरन्तरता दिने निर्णय भने गर्नुले पाँच दलीय सत्ता गठबन्धनलाई राष्ट्रियता र स्वाधिनता भन्दा सत्ता र सरकार नै प्रिय रहेको प्रष्ट बुझ्न सकिन्छ ।

सत्ता गठबन्धनको विज्ञप्ती

बालुवाटार बैठक पश्चात् सत्ता गठबन्धनका चार दलका शीर्ष नेताहरुको हस्ताक्षरमा २०७९ मंसिर १९ गते एक प्रेस विज्ञप्ती जारी गरिएको छ । जारी विज्ञप्तीमा भनिएको छ–“मुुुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तिनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायीत्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीहरुको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ । निर्वाचनको नतिजाले राजनीतिक स्थायीत्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नु पर्ने स्पष्ट सन्देश दिएको छ ।

निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझ्दारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ती असमझ्दारीहरुको पनि आगामी दिनमा उचित समिक्षा र सम्बोधन गरिनेछ । गठबन्धनप्रति आम मतदाताले दर्साएको विश्वास र मायाप्रति हामी आभारी छौं । आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं । निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयगमन गर्दै हामी गम्भीर समिक्षाका साथ अघि बढ्ने छौं ।

निर्वाचनमा सहभागी सम्पूर्ण मतदातालाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दै प्रतिनिधिसभा र प्रदेश सभा सदस्यमा निर्वाचित सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

साथै शान्तिपूर्ण रुपले निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन आयोग, निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय, निर्वाचनमा सहभागी राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, राष्ट्रिय र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक लगायत सबैलाई समेत हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।”

विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।

सत्ताका लागि भारतको चरम दलाली

सत्ता गठबन्धनका चार दलका शीर्ष नेताहरुको हस्ताक्षरमा जारी उक्त प्रेस विज्ञप्तीमा दार्चुला घटनाबारे कतै केही उल्लेख छैन । कुरा प्रष्ट छ–यो बेला भारतीय ज्यादतीबारे बोलियो भने भारत बिच्किन सक्छ, भारतले गठबन्धनलार्ई दिंदै आएको साथ, सहयोग र समर्थन अब नदिन सक्छ भन्ने त्रासका कारण नै उक्त संयुक्त विज्ञप्तीमा दार्चुला  घटनाबारे केही नबोलिएको हो । यो सत्ता प्राप्तिका लागि पाँच दलले गरेको भारतीय विसतारवादको चरम दलाली नै हो ।

पाँच दलीय गठबन्धनको निर्माण नै अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको डिजाइनमा गरिएको यस अघिका विभिन्न घटनाक्रमहरुले प्रष्ट पारिसकेका छन् । भन्दा प्रतिगमनका विरुद्ध भनिए पनि यथार्थमा यो गठबन्धन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको स्वार्थसिद्ध गर्न नै निर्माण गरिएको थियो भन्ने कुरा राष्ट्रघाती एमसीसी संसदबाट अनुमोदन र राष्ट्रघाती नागरिकता संशोधन विधेयक समेत संसदबाट पारित भएको घटनाले नै प्रष्ट पार्दछ । पाँच दलीय सत्ता गठबन्धनमा पहिले नेपाली कांग्रेस, नेकपा(माओवादी–केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । चुनावी सिट बाँडफाँडमा चित्त नबुझेपछि जनता समाजवादी पार्टी पाँच दलबाट निस्कियो भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई सत्ता गठबन्धनमा सामेल गराइयो । सत्ता गठबन्धनभित्र रहेको राष्ट्रिय जनमोर्चाले जसपा,  लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जस्ता मधेशवादी  पार्टीहरुलाई “विखण्डनकारी” समूहका रुपमा आफ्नो दस्तावेजमा सुचीकृत गरेको छ । भारतीय वर्गस्वार्थ पूर्ति गर्न नै ती पार्टीहरु खोलिएको उसको विश्लेषण छ । राजमोको विश्लेषण अनुसारको भारतीय स्वार्थमा खोलिएको मधेशवादी पार्टीलार्ई गठबन्धनमा सामेल गराउनुको अर्थ त्यो सिधै भारतको निर्देशनमा गरिएको कार्य हो भन्ने बुझ्न सकिन्छ । पाँच दलबाट एउटा मधेशवादी दल निस्कियो भने त्यो कोटामा अर्को मधेशवादी दललाई सामेल गरिनुले पनि त्यो भारतीय विस्तारवादको निर्देशनमा वा उसलाई खुशी पार्न गरिएको कार्य हो भन्ने प्रष्ट हुन्छ । पाँच दलीय गठबन्धन निर्माणको चरणमा माओवादी–केन्द्रका अध्यक्ष प्रचण्डको “कम्फरटेवल” सरकारको अभिव्यक्ति निकै चर्चित रहेको थियो । त्यो बेला प्रचण्डले प्रष्ट रुपमा भनेका थिए–‘मधेशवादी दलहरु र आफूहरु मिलेर बनाएको सरकार नै भारतका लागि पनि कम्फरटेवल हुनेछ ।’ प्रचण्डको उक्त भनाई अनुसार पनि अहिलेको पाँच दलीय गठबन्धन भारतका लागि “कम्फरटेवल” भएको स्वतः बुझ्न सकिन्छ । भारतका लागि मात्र भन्दा पनि यो पाँच दलीय गठबन्धन अमेरिका तथा भारत दुवैका लागि ‘कम्फरटेवल’ रहेको भन्न अब हिच्किचाउनु पर्ने अवस्था छैन ।

नयाँ सरकार गठनका लागि पाँच दलीय सत्ता गठबन्धनले पहलकदमी अगाडि बढाइरहेको छ । सिके राउत नेतृत्वको जनमत पार्टी, उपेन्द्र नेतृत्वको जनता समाजवादी पार्टी र रेशम चौधरीको अभिभावकीय नेतृत्व रहेको नागरिक उन्मुक्ति पार्टीलाई समेत सत्ता गठबन्धनमा सामेल गर्ने गरी पाँच दलीय गठबन्धनले छलफल अगाडि बढाइरहेको छ । त्यसैले आगामी सरकार पाँच दलीय गठबन्धनकै नेतृत्वमा बन्ने लगभग निश्चित जस्तै देखिन्छ । जसरी जो जसलाई सामेल गराएर बनाए पनि आखिर त्यो सरकार अमेरिका र भारतको रुची र निगाहमा बनेको सरकार नै हुनेछ । त्यसबाट नेपाली राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा हुन नसक्ने प्रष्ट छ । राष्ट्रघात र जनघातका श्रृंखलाहरु त्यसपछि झनै बढेर जानेछन् । देशमा राजनैतिक अस्थिरता बढ्दै जानेछ । वैदेशिक शक्तिकेन्द्रहरुको खेल अरु तीब्र रुपमा चल्दै जानेछ । देश असफल राष्ट्र तर्फ अगाडि बढ्नेछ । त्यसैले देशलाई त्यो अवस्थामा जान नदिन र अग्रगमनको पथमा अगाडि बढाउन इतिहासले क्रान्तिकारी तथा देशभक्त कम्युनिस्ट शक्तिहरुको काँधमा गहन जिम्मेवारी सुम्पिएको छ । क्रान्तिकारी कम्युनिस्ट शक्तिहरुले इतिहासले सुम्पिएको उक्त जिम्मेवारीलाई आत्मसाथ गर्दै यो व्यवस्था परिवर्तनको आन्दोलन अघि बढाउन अब विलम्व गर्नु हुँदैन ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित