बाबुराम आचार्य, बुटवल । लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट दाङको भालुवाङ्गमा स्थानान्तरण हुँदैछ । यस अघि लुम्बिनी प्रदेश सभाको दुई तिहाई बहुमतले२०७७ असोज २० मा प्रदेशको नाम र स्थायी राजधानीको बारे निर्णय लिइएको थियो । सो निर्णयमा प्रदेशको नाम “लुम्बिनी” र स्थायी राजधानी “राप्ती उपत्यकाको देउखुरी रहनेछ” भन्ने उल्लेख थियो ।
संघीयता कार्यान्वयनको प्रथम निर्वाचन सम्पन्न पछि २०७४ माघबाट २०७७ असोज २० पुर्व बेनामी अर्थात प्रदेश नम्बर पाँचको नाम मा बोर्ड टाँसेर बुटवललाई अस्थायी मुकाम घोषणा गरी बसेका मन्त्रालयहरु अहिले बुटवलबाट धमाधम सार्न थालिएको छ । यस पुर्व राजधानी बुटवलमै कायम गर्ने एजेन्डा बोकेर चुनाव जितेका एमालेका नेताहरु उनकै पार्टीका नेता मुख्यमन्त्री रहेकै बेलामा राजधानी दाङ लैजाने निर्णय गराएका थिए । राजधानी बुटवलदेखी दाङ लैजाने तात्कालिक निर्णयका विरुद्धमा बुटवल क्षेत्रमा करिब दुई महिना आन्दोलन भएको थियो । त्यही आन्दोलनको जगमा उभिएर चुनाव जितेको एमाले र उसैको प्रदेश सरकारले राजधानी स्थानान्तरण गराएको थियो । तर अहिले प्रदेस कार्यालयहरुका सामान रातारात दाङ तिर सार्न थालिएपछि त्यसका बिरुद्धमा एमाले काङ्ग्रेसहरु वक्तव्यबाजीमा उत्रिएका छन् ।
स्मरणरहोस राजनीतिमा “लाज र घृणा” हुन्न भन्ने जनबुझाइलाई चरितार्थ गर्दै हालै सम्पन्न निर्वाचनको सिलसिलामा नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाणले राजधानी बुटवल मै फिर्ता ल्याउने कुरा गरेका थिए । त्यस्तै एमालेका उपाध्यक्ष बिस्णु पौडेलले भैरहवाको एउटा कार्यक्रममा समेत राजधानी पुनः बुटवलमा नै स्थापना गर्ने कुरा बताएर विवादमा तानिएका थिए ।
यसैबीच २०७९ मङ्सिर १९ गते रातारात मुख्यमन्त्री कार्यालयका सामान दाङ देउखुरी सारिएको छ । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने जनाइएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले संचारकर्मीहरुलाई जनाए अनुसार मुख्यमन्त्री कार्यालयका सामानहरू दाङ देउखुरी लगिएको छ । अबदेखि मुख्यमन्त्री कार्यालय दाङमै खुल्ने पनि प्रवक्ता शर्माले बताए । ‘अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ,’ उनले भने । सोमबार राति १०ः३० बजे मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा मंगलबार बिहान झारिएको थियो । राजनीतिक दाउपेचमा रहेको लुम्बिनी राजधानी स्थान्ततरणको विषयलाई यहाँका ठुला राजनीतिक दलहरुले मजाकको रूपमा लिएर वक्तव्यबाजी गरे पनि यहाँको राजधानी स्थानान्तरणले आम नागरिकका दैनिक जीवनमा खासै असर पर्ने छैन । बरु यहाँबाट राजधानी सर्दा बुटवलको ट्राफिकमा सहजता हुनेछ भने ध्वनी प्रदुषण कम हुनेछ ।