सन्जु सुन्दास, दमौली । देशमा प्रत्येक वर्ष महिला हिंसाका विरुद्ध सचेतना गराउने भन्दै “लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान” संचालन गरिन्छ । उक्त अभियानका क्रममा राज्यकै ढुकुटीबाट समेत करोडौं खर्च गरिन्छ । विभिन्न महिलावादी संघ÷संगठनहरुले ठूला होटेल र पार्टी प्यालेसहरुमा महिला हिंसाका विरुद्ध कार्यक्रमहरु गर्ने गर्छन् । तर त्यो अभियानको प्रभाव समाजमा भने एकदमै न्यून मात्रामा परेको देखिन्छ । नेपालमा यस वर्ष पनि “लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान” संचालन गरियो । तर त्यही अभियान चलिरहेै बेला देशमा महिला हिंसाका कहालीलाग्दा घटनाहरु भने घटिनै रहे ।
हाम्रो समाजमा डाक्टरलाई शिक्षित र बुद्धिजीवी मानिन्छ । डाक्टरलाई भगवानकै अर्को रुप मान्नेहरु पनि छन् यो समाजमा । तर त्यही डाक्टरी पेशामा रहेका एक व्यक्तिले भने जति दाइजो नदिएको निहुँमा आफ्नी श्रीमतिलाई अमानवीय शारीरिक यातना दिएको समाचार संचार माध्यममा आयो । महोत्तरीकी नेहा चौधरी रुँदै मिडियामा आएर आफूलाई पति डाक्टर पंकज चौधरीले भने जति दाइजो नल्याएको भन्दै शारीरिक र मानसिक यातना दिएको बताइन । नेहाका अनुसार करोड बढी नगद र अन्य महत्वपूर्ण सामानहरु उनका माइतीले पंकजको परिवारलाई बुझाएका थिए । तर पंकजको परिवारले खोजे जति नपुगेपछि नेहामाथि शारीरिक र मानसिक यातना दिन शुरु गरिएको थियो । पहिले वाचा गरे अनुरुप २० तोला सुन र ५१ लाख नगद दाइजोमा अपुग भएको भन्दै नेहालाई डाक्टर पंकज र उनको परिवारले दैनिक शारीरिक एवं मानसिक यातना दिएको थियो ।
प्रहरी समाजको रक्षक भनिन्छ । अपराधीलाई पक्राउ प्रहरीले नै गर्दछ । तर बैतडीमा हत्यारा, अपराधी पक्राउ गर्नुपर्ने एक प्रहरी आफै हत्याराका रुपमा देखा परे । बैतडीमा सशस्त्र प्रहरीका एक जवानले आफ्नै प्रेमिकालाई अमानवीय र क्रुर तरिकाले हत्या गरे । पञ्चेश्वर–४ बैतडीकी २१ वर्षीया माया लुहारको लास घना जंगलको बीचमा आधा घाँटी रेटेको अवस्थामा २०७९ मंसिर १४ गते फेला परेको थियो । शिवनाथ –६ बैतडीस्थित शिवनाथ मन्दिर नजिकैको जंगलमा मायाको लास भेटिएको थियो । मायाको लास भेटिएको स्थानभन्दा धेरै पर शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको सिमानामा पर्ने लामडाँडा भन्ने स्थानमा मायाकी १५ वर्षीय भदैनी नेहा लुहार, धारिलो हतियारले घाँटीमा प्रहार गरिएको घाइते अवस्थामा भेटिइन । मायाको हत्या गर्ने भरतराम कोली कास्कीको पोखरास्थित सशस्त्र प्रहरीको शिक्षालयमा कार्यरत प्रहरी जवान थिए । विदामा घर आएका बेला प्रेमिका मायाको सम्बन्ध अरुसँग पनि रहेको आशंकामा उनले मायाको त्यसरी क्रुरतापूर्वक हत्या गरेका थिए ।
त्यति मात्र होइन, सुर्खेत पञ्चपुरी नगरपालिका वडा नम्बर ३ का अमरबहादुर आलेले अरुसँग सल्केको आशंकामा आफ्नै श्रीमतीको घाँटी छिनाली क्रुरतापूर्वक हत्या गरे । हत्या पश्चात् श्रीमतीको छिनालिएको टाउको झोलामा झुण्डाउँदै आले आफै प्रहरी समक्ष आत्मसमर्पण गर्न पुगेका थिए । यस्तै धरान–१३, सुनसरीमा आमा समूहद्वारा नै एकल महिला उषा राइको हत्या गरिएको समाचार सार्वजनिक भयो । देशको राजधानी काठमाडौं मै एक युवतीले आत्मदाह गरेको घटना पनि “लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान” चलिरहेकै बेला सार्वजनिक भयो । बिहे गर्ने भन्दै इन्गेजमेन्ट गरे पनि बेहुला पक्षले एकपक्षीय रुपमा इन्गेजमेन्ट तोडेपछि काठमाडौं बानेश्वरकी पुष्पा न्यौपानेले धुम्बाराहीस्थित बेहुलाको घर अगाडि गएर पेट्रोल छर्किई आत्मदाह गरेकी थिइन ।
ती त संचारमाध्यममा आएका कही प्रतिनिधिमुलक घटना मात्र हुन् । देशको राजधानीमै त महिला हिंसाका त्यस प्रकारका घटना घटेका छन् भने विकट र दुर्गम गाउँ वस्तीहरुको अवस्था के होला ? आखिर समाजमा त्यसप्रकारका अमानवीय र क्रुर घटनाहरु किन घट्ने गर्दछन् ? समाजमा मानवीय मुल्य मान्यता किन हराउँदै गैरहेको छ ? –यी निकै गम्भीर प्रश्नहरु हुन् ।
पहिलेको तुलनामा अहिले देशमा महिला हिंसाका घटना झनै बढेको तथ्यांकले देखाउँछ । हामीले कल्पना समेत गर्न नसकिने क्रुर र निर्मम हत्याले समग्र समाज र देशकै लागि चुनौतीको बिषय बनेको छ । विश्व जगत २१ औं शताब्दीको बैज्ञानिक युगमा प्रवेश गरिसक्दा पनि हाम्रो देशमा भने मानिसले मानिसलाई नै अमानवीय व्यबहार गरिरहेका छन् । प्रत्येक मानिसले गल्ती गर्दछ गल्ती गर्ने बित्तिकै उसलाई घर र समाजबाट नै अपहेलित हुनुपर्ने गल्ती गरेको सजाय मृत्यु नै हो भन्ने किसिमको आम मानसिकता हामी नागरिकहरुमा छाएको छ । यो सरकारले नागरिकका लागि कानुन प्रभाबकारी ढंगले कार्यन्वयन गर्न सकिरहेको छैन । अझैपनी दिनहुँ घटेका घट्नाहरुको नजरअन्दाज गर्ने र सरकारले कानुनलाई ब्यबस्थित तरिकाले कार्यान्वयन नगर्ने हो भने कयौं महिलाहरुले अकालमा ज्यान गुमाउनु पर्नेछ । कैयौं अबोध बालबालिका टुहुरा र बेसहारा हुनेछन् । यसको भागिदार केवल यो सरकार हुनेछ ।
किनकि सरकारको काम कानुन निर्माण गर्ने मात्र होइन, त्यसलाई कार्यान्वयन गराउनु पनि हो । महिला हिंसाका विरुद्ध ऐन कानुनहरु बनाएर मात्र सरकार उम्कन पाउँदैन, त्यसलाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने दायित्वबाट सरकार पन्छिन मिल्दैन । एक त महिला हिंसाका विरुद्ध प्रभावकारी ऐन कानुन निर्माण नहुनु त्यसमाथि भएका कानुनहरुको पनि उचित तवरले कार्यान्वयन नगरिनु समाजमा महिला हिंसाका घटना बढ्नुको मुख्य कारण त्यही नै हो । यसका साथै महिलामाथि हुने हिंसाका घटनाहरुको न्यूनीकरणका लागि स्थानीयस्तरसम्म नै जनचेतनाको अभियानलार्ई प्रभावकारी प्रकारले संचालन गर्नु पनि उत्तिकै जरुरी देखिन्छ । हामी सबै यस विषयमा गम्भीर बन्नु नितान्त आवश्यक छ ।