काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर पदमुक्त हुने भएका छन् । प्रमुख प्रशिक्षकमा नियुक्त भएको चार महिनामै प्रभाकर पदमुक्त हुने भएका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले पद छाड्न दबाव दिएपछि मुख्य प्रशिक्षक प्रभाकर २०७९ मंसिर २६ गते भारत गएका छन् । उनले भारत पुगेपछि इमेलमार्फत राजीनामा दिने बताएका छन् । राजीनामा नदिए पनि उनलाई अब मुख्य प्रशिक्षकमा निरन्तरता दिने सम्भावना नरहेको क्यानका एक पदाधिकारी बताउँछन् ।
क्रिकेट संघले २३ साउनमा मात्र रणजी ट्रफी विजेता प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
उनको प्रशिक्षणमा नेपालले केन्या भ्रमण गरेको थियो, जसमा नेपाल ३–२ ले टी–२० सिरिज जित्यो भने तीन म्याचको एकदिवसीय शृखला क्लिन स्वीप ग¥यो ।
नोभेम्बरमा काठमाडौंमा युएईसँग तीन एकदिवसीय शृंखला खेल्यो, जुन नेपालले २–१ ले जित्यो । तर नेपालका लागि महत्वपूर्ण क्रिकेट वर्ल्डकप लिग टूमा भने खराब खेल्यो । नामिबिया टूरमा नेपालले घरेलु टोलीसँग खेलेको पहिलो खेल वर्षाले अवरुद्ध भयो ।
नामिबियासँग दोस्रो र स्कटल्याण्डसँग भएको दुबै खेल हारेपछि नेपाल शीर्ष तीनमा पर्ने सम्भावना सकिएको छ ।
स्रोतका अनुसार क्रिकेट संघका पदाधिकारीहरु सुरुदेखि नै प्रशिक्षक प्रभाकरसँग असन्तुष्ट थिए । खेलाडीहरुको अर्डर बिगारेको, मन नपरेका खेलाडीहरुलाई बेञ्चमा राखेको, छनोट समितिलाई दबाव दिएको जस्ता आरोप उनीमाथि थियो ।
नामिबिया टूरमा एउटा पनि खेल जित्न नसकेपछि क्रिकेट संघका पदाधिकारीले प्रशिक्षक प्रभाकरलाई तत्काल राजीनामा दिन दबाव दिएका थिए । तर उनी काठमाडौं आउन चाहे । मुख्य प्रशिक्षक प्रभाकर र क्रिकेट संघका पदाधिकारीहरुबीच २५ मंसिरका दिन छलफल भएको थियो । त्यसक्रममा प्रभाकरले आफूलाई निरन्तरता दिने हो भने कहाँ कहाँ समस्या भयो भनेर स्पष्टीकरण दिने, नभए नदिने बताएका थिए ।
क्यान पदाधिकारीले निरन्तरता नदिने प्रष्ट संकेत गरेपछि थप छलफल नै भएन । ‘खेलाडी, अफिसियल र टिम म्यानेजर सन्तुष्ट थिएनन् । रिजल्ट आएको भए कतिपय विषय आफैं मिल्थ्यो, तर रिजल्ट आएन,’ एक पदाधिकारी भन्छन्, ‘बर्खास्त गर्नुभन्दा सहमतिमा जानुस् भनेर भनेका छौं ।’
प्रभाकरले भने दिल्ली गएर राजीनामा पठाउँछु भनेका छन् । स्रोतका अनुसार उनले घरायसी कारण देखाएर नेपाल नफर्किने लिखित जानकारी गराउन सक्छन् । नभए उनलाई बर्खास्त गर्न समेत क्यान तयार रहेको एक पदाधिकारी बताउँछन् ।