काठमाडौं । एसियन राष्ट्र कतारमा जारी फिफा विश्वकपको सेमिफाइनल समीकरण पूरा भएसँगै यसपटकको विश्वकप कसले उचाल्ला भन्ने कौतुहलता झनै बढेर गएको छ । यस विश्वकपको प्रमुख दावेदार मानिएको ब्राजिल प्रतियोगिताबाट बाहिरिइसकेको छ भने अर्क दावेदार अर्जेन्टीना सेमिफाइनलमा आइपुगेका छन् । तर कोसिया र मोरक्कोको चुनौती पार गर्न ती देशलाई त्यति सहज भने देखिएको छैन ।
अफ्रिकन राष्ट्र मोरक्को इतिहास कायम गर्दै सेमिफाइनल आइपुगेको छ । पेनाल्टी बचाएर केही गोलकिपरहरू नायक बनेका छन् ।
अन्तिम नतिजा नजिकिंदै गर्दा यसपटकको विश्वकप रोमाञ्चकसँगै आश्चर्यजनक जस्तै बनिरहेको छ । लिग र क्वाटर फाइनलमा खेलिएका यस पटकको खेलका नतिजा सोचेभन्दा फरक आएका छन् । उपाधि दाबेदार र नाम चलेका खेलाडीहरू भटाभट आउट भएका छन् । नयाँ टिमले पनि इतिहास बनाएका छन् ।
क्वाटरफाइनलमा ८ खेल सकिएपछि कतार विश्वकपले सेमिफाइनल पुग्ने चार टिम पाइसकेको छ ।
सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ । मोरक्को अफ्रिकाबाट विश्वकप सेमिफाइनल पुग्ने पहिलो टिम बनेकी छ ।
विश्वकपका ६४ मध्ये ६० खेल सकिएको छ र अब जम्मा चार खेल बाँकी छ । तेस्रो स्थानको खेललाई छाड्ने हो भने अबको तीन खेल एकदमै प्रतिक्षित र रोमाञ्चीत हुने निश्चित छ ।
अब बाँकी चार टिममध्ये कसले जित्ला उपाधि भन्ने कौतुहलता झन् बढेको छ । के यसपटक नयाँ टिम विजेता होला ? वा पुरानै टिमले उपाधि थाप्लान् ? त्यसका लागि पुस तीन गतेसम्म कुर्नुपर्नेछ ।
ब्राजिलसँगै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल, नेदरल्याण्ड्स पनि क्वाटरफाइनलबाटै बाहिरिसकेका छन् ।
त्यसअघि दुई पूर्वविजेता जर्मनी र उरुग्वे समूह चरणबाटै बाहिरिए भने अर्का पूर्वविजेता स्पेन अन्तिम १६ बाट घर फर्कियो ।
यसपटक सेमिफाइनलसम्म आइपुग्दा सबैभन्दा ठूलो सरप्राइज भने मोरक्को रह्यो । पूरा अप्रिकाको प्रतिनिधित्व गर्दै मोरक्कोले सेमिफाइनल पुगेर इतिहास रचेको छ ।
सेमिफाइनल पुगेका मध्ये दुई पूर्व विजेता छन् भने दुई टिमले उपाधि जितेका छैनन् ।
अर्जेन्टिना र फ्रान्सले उपाधि जितिसकेका छन् भने क्रोएसिया साविक उपविजेता हो । मोरक्को नयाँ हो ।
अब फाइनल समीकरण जस्तो पनि बन्न सक्छ । दुई पूर्वविजेता वा दुई उपाधि जित्न बाँकी टिम फाइनल पुग्न पनि सक्छन् ।
यदि क्रोएसिया र मोरक्को फाइनल पुगेमा विश्वकपले १२ वर्षपछि नयाँ विजेता पाउनेछ । अस अघि पछिल्लो पटक विश्वकप जित्ने नयाँ टिम स्पेन हो । स्पेनले सन् २०१० को फिफा वल्र्डकप जितेको थियो । फिफा विश्वकप २०२२ को सेमिफाइनल पुगेका ४ टिम आखिर को कस्ता छन् त ?
अर्जेन्टिना ः
फिफा विश्वकप– २०२२ को सेमिफाइनल पुग्ने मध्ये फिफा वरीयतामा सबैभन्दा माथि रहेको टिम हो अर्जेन्टिना । अर्जेन्टीना फिफा वरियातको तेस्रो नम्बरमा छ । दुई पटकको उपाधि विजेता पनि हो अर्जेन्टीना । अनि ३६ वर्षपछि पहिलो विश्वकप जित्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले कप्तान लिओनल मेसीको प्रेरणादायी प्रदर्शनमा अन्तिम चारको यात्रा तय गरेको छ ।
अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा फाइनल पुगेको थियो तर जर्मनीसँग पराजित भयो । त्यसको ८ वर्षपछि अर्जेन्टिना अहिले सेमिफाइनल पुगेको हो । २०१८ को विश्वकपमा अर्जेन्टीना अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै बाहिरिएको थियो । के अर्जेन्टीनाले यस अघिको वल्र्डकपमा फ्रान्ससँग बेहोरेको पराजयको बदला लिंदै वल्र्डकप उचाल्ला ? अहिले यो सर्वाधिक चासोको विषय बनेको छ ।
मेसीको लागि यो अन्तिम विश्वकप हुने सम्भावना रहेकोले पूरा टिम र अर्जेन्टिना नै अहिले एकजुट बनेको छ विश्वकप जित्नका लागि । कतारमा पनि अर्जेन्टिनाले समर्थकको उत्तिकै साथ पाइरहेको छ ।
उपाधि दाबेदार मध्ये एक टिमको रुपमा कतार पुगेको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासाग २–१ ले स्तब्ध भएको थियो । यसले अर्जेन्टीना समूहचरणबाटै घर फर्काउने शंका उत्पन्न गरे पनि मेसीले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाको विश्वकप जित्ने सपनालाई जीवित राखेका थिए ।
पहिलो खेल हारे पनि अर्जेन्टिनाले त्यसपछि लगातार दुई खेल जित्दै समूह बीको विजेता बनेर नकआउट चरणमा स्थान बनाएको थियो । साउदीसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाले पुनरागमन गर्दै मेक्सिको र पोल्याण्डलाई समान २–० ले हराएको थियो ।
अन्तिम १६ मा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले हराएको थियो । क्वाटरफाइनलमा अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टीसुटआउटमा ४–३ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
अर्जेन्टिनाका कप्तान मेसी ४ गोल गर्दै सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छन् । उनले दुई असिस्टसमेत गरेका छन् ।
फ्रान्स ः
यसअघि अर्थात् सन् २०१८ मा रुसमा भएको फिफा विश्वकपको विजेता फ्रान्स फिफा वरियताको चौथो स्थानमा रहेको राष्ट्र हो । पछिल्ला केही विश्वकपमा साविक विजेताहरु प्रदर्शन खराब रहेको अवस्थामा फ्रान्सले भने त्यसको ठीक विपरीत साविक विजेताको रुपमा यसपटक राम्रो प्रदर्शन गरिरहेको छ ।
ब्राजिल र अर्जेन्टिनापछि फ्रान्सलाई यस पटक उपाधि दाबेदारको रुपमा हेरिएको छ । फ्रान्स सँगै अर्जेन्टिना सेमिफाइनल पुग्दा ब्राजिल भने बाहिरिसकेको छ । दुवैले सेमिफाइनल जिते फाइनलमा भेट पक्का हुनेछ ।
फ्रान्स १९६२ मा ब्राजिलपछि विश्वकप उपाधि रक्षा गर्ने पहिलो टिम बन्ने लक्ष्यमा रहेको छ ।
विश्वकपअघि र विश्वकप सुरु हुँदादेखि नै फ्रान्सले यस पटक चोटले पिरोलेको थियो । तर किलिएन एमबाप्पेको साथ पाएको फ्रान्सले सेमिफाइनल पुग्दै आफ्नो लक्ष्यको करिब नजिक पुगेको छ ।
क्वाटरफाइनलमा अर्को पूर्वविजेता इंग्ल्याण्डलाई पराजित गर्दै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गरेको थियो ।
केही खेलाडी घाइते हुँदा पनि फ्रान्सको अट्याक उत्कृष्ट छ । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । अब फ्रान्स उपाधि रक्षाबाट दुई खेल टाढा छ । फ्रान्सले सेमिफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग खेल्नेछ । मोरक्को यस पटक जायन्ट किलर बन्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ ।
फ्रान्सका लागि तुलनात्मक रुपमा सहज देखिए पनि मोरक्कोले स्पेन र पोर्चुगल जस्ता टिमलाई हराइसकेको छ ।
फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा अष्ट्रेलियालाई ४–१ ले र दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको फ्रान्स तेस्रो खेलमा ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।
अन्तिम १६ मा पोल्याण्डलाई ३–१ ले सहजै हराएर फ्रान्सले लयमा फर्केको संकेत गरिसकेको छ । त्यसपछि इंग्ल्याण्डलाई क्वाटरफाइनलमा २–१ ले पराजित गर्ने क्रममा रेगुलर टाइममा फ्रान्सले खेल जितेको थियो ।
क्रोएसिया ः
ब्राजिललाई क्वाटरफाइनलबाटै घर फर्काएको क्रोएसिया फिफा वरियतामा १२ औं नम्बरको राष्ट्रहो । ब्राजिलको उत्कृष्ट अट्याकलाई समेत रोकेको क्रोएसिया यस विश्वकपमा पेनाल्टी किंङको रुपमा देखा परेको छ ।
लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल पुग्दा क्रोएसियाले नकआउट चरणमा दुई खेल पेनाल्टी सुटआउटमै जितेको थियो ।
यस विश्वकपमा अपराजित टिममध्ये रहेको क्रोएसिया चार वर्षअघि रुसमा भएको विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनल पुगेको थियो । तर फ्रान्ससँग पराजित हुँदा उपविजेतामै सीमित भयो ।
यस पटक पनि क्रोएसियाले त्यो प्रदर्शनलाई निरन्तरता दिएको छ ।
भेट्रान मिडफिल्डर लुका मोडरिचको प्रेरणादायी प्रदर्शन र नेतृत्वमा क्रोएसियाले प्रदर्शनलाई एकरुपता दिएको छ र विपक्षी टिमको लागि चुनौती बनिरहेको छ । क्रोएसियाका गोलिकपर लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी पोष्टमा चुम्बक जस्तै बनेका छन् ।
क्रोएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदा लिभाकोभिचले तीन प्रहार रोकेका थिए । यस्तै ब्राजिलविरुद्ध क्वाटरफाइनलमा पनि उनले एक सेभ गरेका थिए।
क्रोएसिया समूह एफमा एक जित र दुई बराबरी खेल्दै समूह उपविजेता बनेको थियो । मोरक्को विरुद्ध भने गोलरहित बराबरीमा रोकिएको थियो । क्रोएसियाले दोस्रो खेलमा सुरुमा एक गोल खाएर पनि क्यानडालाई ४–१ ले पराजित गरेको थियो । त्यसपछि समुहचरणको अन्तिम खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसियाले नकआउट चरणमा स्थान पक्का गरेको थियो । स्टार र नाम चलेका खेलाडी नभए पनि क्रोएसियाले संगठित प्रदर्शन गरिरहेको छ र विपक्षी फरवार्डका लागि बलियो डिफेन्सको नमूना प्रस्तुत गरेको छ ।
मोरक्को ः
यस विश्वकपमा नयाँ इतिहास बनाएको मोरक्को फिफा वरियतमा २२ औं स्थानमा छ । पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने टिमको रुपमा मोरक्कोले इतिहास बनाएको छ ।
कतारमा मोरक्कोको प्रदर्शन उत्कृष्ट छ ।
यस पटक मोरक्को जायन्ट किलर, डार्क हर्स, अन्डर डग जस्ता टिमको रुपमा देखिएको छ ।
एटलस लायन्सको उपनामले चिनिने यो मोरक्कोले समग्रमा अफ्रिकाको प्रतिनिधित्व गर्दै सेमिफाइनल खेल्नेछ ।
मोरक्कोले यसअघि सन् १९८६ मा विश्वकपको समूह चरण पार गरेको थियो । तर त्यसको ३६ वर्षपछि मोरक्कोले झन् धेरै सफलता हासिल गरिसकेको छ । मोरक्कोले बनाएको इतिहासलाई अब सबैले सम्झनेछन् ।
बेल्जियम र क्रोएसिया जस्ता टिम रहेको समूह एमा दुई जित र १ बराबरीको नतिजासहित मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो ।
मोरक्कोको अर्को रोमाञ्चक तथ्य के छ भने यस पटक उसलाई विपक्षीले अहिलेसम्म गोल हान्न सकेका छैनन् । अझ पेनाल्टी सुटआउटमा समेत गोल खाएको छैन ।
क्रोएसियासँग गोलरहित बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियमलाई २–० ले हरायो भने क्यानडालाई २–१ ले पराजित गरेको थियो । जारी विश्वकपमा मोरक्कोले बेहोरेको एक मात्र गोल पनि आत्मघाती थियो ।
अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै मोरक्को क्वाटरफाइनल प्रवेश गरेको थियो ।
ठूला टिमलाई हराउने क्रममा मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले स्तब्ध पार्दै इतिहास रच्यो । अब त्यसलाई सेमिफाइनलमा पनि कायम राख्दै मोरक्कोले फाइनल पुगेर नयाँ इतिहास रच्ने लक्ष्य राखेको छ ।
(अनलाइन खबरमा गोविन्दराज नेपालले लेख्नु भएको समाचारमा आधारित)