काठमाडौं । तीन क्रान्तिकारी पार्टीहरु नेकपा (मशाल), नेकपा (क्रान्तिकारी–माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा १३० औं माओ दिवस मनाउने भएका छन् । केन्द्रीयस्तरमा काठमाडौंको जमलस्थित राष्ट्रिय नाँचघरको सभाहलमा उक्त कार्यक्रम गर्ने आयोजकहरुले बताएका छन् । नेकपा (मशाल) का पोलिव्यूरो सदस्य चिन्तामणि शर्माले बताए अनुसार आगामी पौष ११ गतेको उक्त दिवसलाई तीन पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । शर्माका अनुसार तीनवटै पार्टीका तर्फबाट “कम्युनिस्ट आन्दोलनमा माओको योगदान” शीर्षकमा बेग्लाबेग्लै तीनवटा कार्यपत्र पनि प्रस्तुत गरिने छ । उता फोरम फर इमान्सिसपेशन अफ नेपालीज् पिपुलको तर्फबाट भारतका विभिन्न शहरहरुमा माओ दिवस मनाउने बताइएको छ । नेपालमा जिल्लास्तरमा तीन पार्टीले संयुक्त रुपमा माओ दिवस मनाउने र कतिपय ठाउँमा नेकपा (मशाल) ले एकलरुपमा पनि माओ दिवस मनाउने तथा माओवाद र माओविचारधारा मान्ने अन्य पार्टीहरुले पनि बेग्लाबेग्लै पनि माओदिवस मनाउने जनाएका छन् ।
सन् १८९३, २६ डिसेम्बरका दिन चीनको हुनान प्रान्तको शाओसान भन्ने गाउँमा माओको जन्म भएको थियो र १९७६, सेप्टेम्बर ९ मा उहाँको मृत्यु भएको थियो । सन् १९२१ जुलाई २१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक मध्ये माओ पनि एक हुनुहुन्थ्यो । थुप्रै उतारचढावको बीचबाट चिनियाँ कम्युनिस्ट आन्दोलन अगाडि बढेको थियो । सन् १९२८ मा सम्पन्न पार्टीको छैठौं महाधिवेशनले छन तुश्युको दक्षिणपन्थी आत्मसमर्पणवादलाई अस्वीकार गरेको थियो । माओको नेतृत्वमा सन् १९३४ देखि २६८ दिन लम्बे अभियान संचालन गरिएको थियो । त्यो अभियानले चिनियाँ जनताको बीचमा कम्युनिस्ट पार्टीप्रति विश्वास जगाउने काम गरेको थियो । माओले जापानी साम्राज्यवादका विरुद्ध च्याङकाइसेकसित संयुक्त मोर्चा बनाएका थिए ।
सन् १९४५ मा जापानी साम्राज्यवादलाई चिनियाँहरुले आफ्नो देशबाट भगाएका थिए । सन् १९४९ अक्टोबर १ मा माओले नयाँ जनवादी व्यवस्था स्थापना भएको घोषणा गर्नु भएको थियो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा आएको विवाद र चिनियाँ कम्युनिस्ट पार्टीभित्र चलेको दक्षिणपन्थी र क्रान्तिकारी बीचको संघर्षका बेला माओको नेतृत्वमा सन् १९६६ देखि १९७६ समम चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति संचालन गरिएको थियो । माओको मृत्यु पछि चीनमा प्रतिक्रान्ति भयो । तैपनि माओले बोकेको क्रान्तिकारी लाइनको अहिले पनि महत्व छ ।