काठमाडौँ । मंसिर चारमा सम्पन्न संसदीय निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभाका नयाँ निर्वाचित सदस्यहरुले २०७९ पौष ७ गते लिने भएका छन् ।
सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा २०७९ पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ ।
नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ ।
सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् ।
शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ। राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भईदिनसमेत सचिवालयले आग्रह गरेको छ ।