वामपन्थीको सरकार बन्न नसक्ने माधव नेपालको भनाई

काठमाडौं ।  पाँच दलीय गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले देशामा अहिले वामपन्थीहरुको सरकार बन्नै नसक्ने बताएका छन् । वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र हुने माधवको भनाई रहेको छ ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन २०७९ पौष ४ गते राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने खतरा औल्याए । ‘कसैले गैरवामपन्थी सरकार बनाउने कुरा उठाउने गरेका छन्, त्यो खयाली पुृलाव मात्र हो । कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि अलमल्याउने कुरा मात्र हो । अध्यक्ष नेपालले भने, ‘भएकाको विश्वास गुमाउने अनि हुदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दैनौं ।’

अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि नेता नेपालको प्रष्ट भनाई थियो ।

अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेको भन्दै गठबन्धनकै सरकार बन्ने दावी गरे ।

‘गठबन्धन हामी कायम राख्नेछौं, गठबन्धन दलका नेताले सँगसँगै जाने संयुक्त वक्तव्य जारी गरिसकेका छौं । गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं’ अध्यक्ष नेपालले भने, ‘गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार छ भने, उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न हामी तयार छौं ।’

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित