काठमाडौं । सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सीको विश्वकपको उपाधि जित्ने सपना पुरा भएको छ ।
विश्वकप फुटबलको आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई हराउँदै मेस्सीले विश्वकप उपाधिको सपना पुरा गरेका हुन् । फाईनलमा उनले दुई गोल समेत गरे । र प्रतियोगिताको उत्कृष्ट खेलाडि पनि बने ।
सन् २००५ मा सिनियर अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका मेस्सीले जित्न बाँकी यहि मात्र एक प्रतियोगिता थियो । क्लब फुटबलका सबै उपाधि जितेपनि राष्टिय टोलीका लागि उपाधि जित्न नसकेको भनेर उनको आलोचना हुँदै आएको थियो ।
गत वर्ष मात्र उनले सिनियर राष्टिय टोलीका लागि पहिलो उपाधिका रुपमा कोपा अमेरिका जितेका थिए । ब्राजिलालाई उसकै मैदानमा हराएर अर्जेन्टिनाले २८ वर्षपछि पहिलो सिनियर अन्तर्राष्टिय उपाधि जितेको थियो । सन् २०१४ सपना पुरा गर्ने लक्ष्य नजिक पुगेरपनि उनी निराश हुनु परेको थियो । फाईनलमा अर्जेन्टिना जर्मनीसँग हारेको थियो ,
मेस्सी अब पेले र म्याराडोनाजस्तै विश्वकप जित्ने महान खेलाडी बनेका छन् ।
सन् २०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेस्सीले आफ्नो भागमा सिनियर अन्तर्राष्टिय उपाधि लेखेको रहेनछ भन्दै सन्यास लिएका थिए ।
तर चौतर्फी दबाबपछि उनी सन्यास फिर्ता लिएर राष्टिय टोलीमा फर्किएका थिए । र, त्यसपछि उनले व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गरे पनि टिम उपाधि विहीन बनेको थियो । विश्वकपको फाईनलपछि लगातार तीन पटक कोपा अमेरिकाको फाईनल हार्नु उनका लागि निकै पीडादायी थियो । सन् २०१८ को विश्वकप उनका लागि बिर्सन लायक रह्यो । तर क्रमशः कथा फेरिँदै गयो, उपाधिको खडेरी तोड्दै २०२१ मा कोपा र २०२२ मा उनले विश्वकप उपाधि जिते ।
अरु सबै उपाधि जितेका मेस्सीको विश्वकप जित्नु अन्तिम सपना जस्तै थियो, उनी यो उपाधि जित्न कति भोको थिए र यसमा उनी कसरी डुबेका थिए भन्ने सनु २०१६ मा एक स्पेनिस मिडियासँगको अन्तर्वार्तामा उनले बोलेको कुराले प्रष्ट हुन्छ ।
त्यतिबेला मेस्सीलाई उनले जितेको पाँच वालोन डी ओर कि एउटा विश्वकप उपाधि भनेर सोधिएको थियो। मेस्सीले आफूलाई पाँच वालो डी ओर भन्दा विश्वकप उपाधि नै महत्त्वपूर्ण रहेको जवाफ दिएका थिए । उनले भनेका थिए, ‘मैले धेरै वालोन डी ओर तथा अन्य अवार्ड र उपाधि जितिसकेको छु। तर एक पटक विश्व विजेता बन्ने सपना छ। वालोन डी ओर जित्ने सपना मैले पूरा गरिसकेको छु । अब म विश्वकप उपाधि जित्न चाहन्छु।’ त्यसपछि उनले थप दुई वटा बालोन डिओर जिते तर विश्वकप हात पर्न सकेको थिएन, यसपटक भने त्यो सपना पुरा भयो । र, उनको यो सफलता उनलाई फूटबलको महान हस्तीमा स्थापित गरेको छ ।