काठमाण्डो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सल्लाहकार सदस्य पुष्पगोपाल श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको छ। सभालाई सम्बोधन गर्दै केन्द्रीय संयोजक किरणले कमरेड पुष्पगोपाल श्रेष्ठमा निडरतापूर्वक आफ्नो कुरा राख्ने बेजोड कला भएको बताउनु भयो । उहाँले भन्नुभयो, “क्रान्तिप्रति उहाँ निकै चिन्तित हुनुहुन्थ्यो । क्रान्तिकारी शक्तिलाई कसरी एकताबद्ध तुल्याउने र क्रान्तिको कार्यभार पूरा गर्ने भन्ने विषयमा उहाँ सँधै चिन्तन, छलफल र बहस गरिरहनु हुन्थ्यो ।” उहाँले अगाडि भन्नुभयो, “निरन्तरता, दृढता, सिद्धान्त र विचारप्रति निष्ठा र क्रान्तिका निम्ति अहोरात्र खटिरहने उहाँका क्रान्तिकारी गुण विशेषता अनुशरणीय छन् ।”
पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवले कम्युनिस्ट आन्दोलनको निरन्तर क्रान्तिकारी धारामा उभिरहनु र आफूले सकेको योगदान गरिरहने दृढता उहाँबाट सिक्ने कुरा भएको बताउनु भयो । त्यसैगरी पार्टीका कार्यालय सदस्य रामसिंहले आफ्नो विचारमा उहाँ दृढ संकल्पित भएको बताउनु भयो । उहाँका लेखरचनाहरु संकलन गरेर प्रकाशनमा ल्याउनु पर्ने पनि बताउनु भयो ।
पार्टीका प्रवक्ता सुदर्शन, कार्यालय सदस्य कुमुद र पार्टीका सल्लाहकार अध्यक्ष कमल चौधरीले पनि कमरेड पुष्पगोपाल श्रेष्ठले क्रान्तिकारी कम्युनिस्ट आन्दोलमा पु¥याउनु भएको योगदानका बारेमा चर्चासहित श्रद्धाञ्जली मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संयोजक किरणले पार्टीको तर्फबाट पुष्पगोपाल श्रेष्ठका परिवारजनलाई समवेदना पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको सुरुमा श्रेष्ठको फोटोमा पुष्पगुच्छा र माल्र्यापणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो ।