त्रिवि कल्याण परिषद्को प्रस्ताव फागुन २८ मा स्ववियु निर्वाचन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र देशभरीका उसका आंगिक सामुदायिक र निजी क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको हक हितको संरक्षण सम्बद्र्धनका लागि सक्रिय रहने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन २८ गते गर्ने प्रस्ताव त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले गरेको छ । शिक्षाध्यक्ष शिवलाल भूसालको अध्यक्षतामा बुधबार बसेको बैठकले सो प्रस्ताव गरेको हो । अन्तिम निर्णय भने विद्यार्थी संगठनसँगको परामर्श पछि गरिने निर्णय रहेको छ । त्रिविका ९ वटै संस्थान र संकायका डिनसँग चुनावी तयारीका विषयमा परिषद्ले छलफल गरेको थियो ।
त्रि.वि. शैक्षिक क्यालेण्डरमा २÷२ वर्षमा फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ तर २०६५ सालयता त्रिविमा नियमित रुपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७४ र २०७६ मा स्ववियु निर्वाचन तयारी थालेर अन्तिम समयमा स्थगितहुन पुगेको थियो । कार्यकारी परिषद्ले २०७६ फागुन १४ मा चुनावको मिति घोषणा गरेको थियो तर फागुन ५ मा विशेष कारण देखाउँदै त्रिविले निर्वाचन स्थगित गरेको थियो । स्ववियु निर्वाचन २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्थाले निर्वाचनमा अप्ठ्रो परेका धारणाहरु पनि आएका छन् ।
यस प्रणालीमा मनोनयन गर्ने अन्तिम दिनसम्म २८ वर्षे पूरा नभएका विद्यार्थी मात्रै उम्मेदवार बन्न पाउँछन् । सभापति सचिव र कोषाध्यक्ष, प्रत्यक्ष निर्वाचन र उपसभापति, सहसचिव लगायत सदस्य समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा विद्यार्थीले आफ्नो संगठित वा स्वतन्त्र व्यक्तिगत रुपमा पनि उम्मेदवारी दिन सक्नेछन् । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारी सहित ११ जना, दुई सय भन्दा बढी एक हजार सम्म विद्यार्थी संख्या भएमा १५ एक हजार भन्दा तीनहजारसम्म विद्यार्थी भएमा १९ र तीन हजार भन्दा बढी विद्यार्थी संख्या भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ । स्ववियुको संरक्षक क्याम्पसप्रमुख रहने छन् ।
विद्यार्थी कल्याण परिषद्को सिफारिसमा कार्यकारी परिषद्ले स्ववियु निर्वाचनको मिति तय गर्ने त्रिवि संठगठन तथा शैक्षिक प्रशासन नियममा उल्लेख छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विद्यार्थीसँग परामर्श गरेपछि फेरि बैठक बसेर मिति तय हुनेछ । निर्देशनालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरिरहेको छ ।
२०२१ साल वैशाखको अन्तिम हप्ता त्रिचन्द्र कलेज विद्यार्थी युनियनको पहलमा पाँच दिनसम्म, उपत्यका अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । त्यो सम्मेलनले स्ववियु खोल्न पाउने गोर्खा भर्ती केन्द्र खारेजी असमान सन्धिहरुको खारेजी, बन्दी विद्यार्थीहरुको रिहाई आदि माग सहित आन्दोलन गर्ने निर्णय ग¥यो–२०२१ साल जेष्ठ १ गते विद्यार्थीहरुले काठमाडौंमा विशाल प्रदर्शन गरे । प्रदर्शनमाथि प्रहरीले निर्ममतापूर्वक दमन ग¥यो । पचास जना भन्दा बढी विद्यार्थी गिरफ्तार भए । विद्यार्थीहरुको रिहाईको स्ववियु काठमाडौं उपत्यका व्यापी आम हड्ताल गरे सरकार अत्तालिएर स्ववियु खोल्नेअधिकार दिनुका साथै गिरफ्तार विद्यार्थीलाई रिहाई गर्न बाध्य भएको थियो । त्यसैले जेठ १ गते वर्षेनी विद्यार्थी दिवश मनाउने गरिन्छ ।
२०३० सालमा संघ खारेज ऐन लागु गरेर सरकारले स्ववियुमाथि प्रतिबन्ध लगायो ।२०३२ सालदेखि विद्यार्थी आन्दोलन चर्कियो र २०३६ सालको जनमत संग्रहपछि विद्यार्थीहरुले स्ववियु खोल्ने अधिकार प्राप्त गर्दै आएका थिए । देशमा सशस्त्र द्वन्द्वको बेलामा चुनाव हुन सकेको थिएन ।
२०६५ सालदेखि २०७१ सम्म त्यही २०६५ सालकै स्ववियु पदाधिकारीहरुले म्याद थप गर्दै स्ववियु चलाइरहेका थिए ।त्यो स्ववियुको मर्यादाको विपरीत थियो । त्यसका विरुद्धमा अखिल (छैठौं) का अध्यक्ष विमल पोख्रेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले २०७२ वैशाख ८ गते खारेजका लागि अन्तरिम आदेश दिएको थियो । त्यसपछि पनि स्ववियुको निर्वाचन घोषणा भयो तर कैयौं ठाउँमा हुन सकेन ।
महत्वपूर्ण गरिमा बोकेको विद्यार्थीको हक अधिकारका लागि क्रियाशील रहने स्ववियुको निर्वाचन समयमै गरिनुपर्छ । विगतमा अनेकौं बहानामा निर्वाचन स्थगित भएका थिए । यसमा त्रिभुवन विश्वविद्यालय, विद्यार्थीहरु सबैको ध्यान जान जरुरी छ । निर्वाचनको मिति घोषणा गर्न, त्यसलाई सम्पन्न गर्न सबैको सक्दो पहल हुनुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित