दाङ । विजय जिएम चौथो स्मृति दिवस पुरस्कार वितरण कार्यक्रम प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं २ नोस जनता प्राथमिक विद्यालयमा २०७९ पौष ६ गतेका दिन पुरस्कार प्रदान गरि मनाइएको छ । सो कार्यक्रममा विपन्न तथा जेहेन्दार विद्यार्थीहरु ३ जनालाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा अक्षयकोष दाता स्वर्गीय विजय जिएमका बुबा राम बहादुर जिएमले आफ्नो भनाइ राख्दै भने “म आज आफ्नो जति पीडा भएपनि आँसुको ढिक्का नझार्ने प्रण गरेको छु किनभने म अतितलाई बिर्सने र यी सानासाना विद्यार्थी भाइबहिनीहरुको अनुहारमा मेरो छोरा विजयको अनुहार र भविष्य खोज्ने प्रयत्न गरिरहेको छु मलाई आशा छ यो सानो पुरस्कार सहयोग लिएको विद्यार्थी भोलि भविष्यमा इन्जिनियर, पाइलट, डाक्टर, शिक्षक र देशको नेतृत्व हाँक्ने र सर्वोच्चको पदसम्म पुग्न सक्नेछन् ।” कार्यक्रममा जिएमले आगामी दिनमा ३ मध्य दुई वटा अशक्त विपन्न वर्गका विद्यार्थी र एउटा स्कुल टपलाई यो पुरस्कार प्रदान गर्न समेत अनुरोध गरे ।
कार्यक्रमको प्रमुख अतिथि जनप्रतिनिधि वडा सदस्य रामकली सुनार रहेकी थिइन । कार्यक्रममा बोल्ने अन्य वक्ताहरूमा समाजसेवी मेघ बहादुर घर्ती र शिक्षिका प्रतिभा घर्ती रहेका थिए । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबिर पुनले गरेका थिए । संचालन प्रधानाध्यापक गंगा शर्माले गरेका थिए भने स्वागत मन्तव्य जुठा कुमारी गोरेले गरेकी थिइन । –मेघराज भट्टराई