काठमाडौं । आजीवन नेपालको कम्युनिस्ट आन्दोलन तथा महिला आन्दोलनमा क्रियाशील महिला नेतृ यमुना भूसालको गत पौष ७ गते काठमाडौंस्थित न्यूरो अस्पतालमा असामयिक निधन भएको छ । उनी अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. २ कुर निवासी थिइन् । उनको बुबाको नाम तिलक राम भूसाल र आमाको नाम हरिकला भूसाल थियो । उनी तीन जना दाजुभाइ र पाँच जना दिदीबहिनी मध्ये कान्छी बहिनी थिइन् । उनको जन्म २०१९ भाद्र ३१ गते भएको थियो । यमुना भुसाल सहिद शोभाखर धनञ्जयकी बहिनी हुन् । शोभाखर धनञ्जयको २०४३ सालमा दिल्लीमा हत्या भएको थियो । हाँक साप्ताहिकका संस्थापक शोभाखर धनञ्जयले देखाएको बाटो र विचारमा उनी अविचलित रुपमा लागिरहिन ।
उनको राजनीतिको शुरुवाती पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) थियो । मसालको महिला संगठनदेखि लिएर विभिन्न मोर्चाहरुमा रहेर उनले सक्रिय भूमिका निभाएकी थिइन । उनी जस्तो सुकै अवस्थामा पनि कम्युनिस्ट आन्दोलनमा आउने तमाम खलाका उतारचढावहरुमा पनि निश्क्रिय नभइकन नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन, महिला मुक्ति आन्दोलनलाई अगाडि बढाउन निरन्तर क्रियाशील रहेकी थिइन् । कैयौं पार्टी सदस्यहरु, यो वा त्यो बहानामा पलायनको भ्रष्टीकरणको बाटो रोज्ने गर्दछन् । कैयौं निराश हुने, खै के होला र भन्दै आन्दोलनलाई लात मारेर हिंड्ने गर्दछन् । तर उनले कहिल्यै आन्दोलनलाई छोडिनन् । नेपालको महिला आन्दोलनमा उनलाई जान्नेहरु उनी अत्यन्त जुझारु रहेको बताउँछन् ।
यमुना नेपालको लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएकी थिइन । कैयौं आन्दोलनकारीहरु, नेता कार्यकर्ताहरु पद र लाभको लागि कुद्ने गर्दछन् । धेरै जसोले आफुलाई नै केन्द्रमा राखेर सोच्ने गर्दछन् । तर यमुना भूसाल सदैव यसको अपवादका रुपमा रहेकी थिइन् । पंचायतकालीन अवस्था होस् या लोकतान्त्रिक, गणतान्त्रिक अवस्थामा होस् जुनसुकै अवस्थामा पनि महिलाहरुका लागि एक प्रेरणाको स्रोत थिइन् । पुरुष साथै नयाँ पुस्ताका लागि पनि एक पे्ररणा थिइन् ।यमुना भूसाल २०६२–२०६३ को ऐतिहासिक जनआन्दोलनपछि तत्कालिन नेकपा (एकता केन्द्र–मसाल) का बीचमा देखा परेको अन्तर्विरोध र पार्टीमा आएको विभाजनका बेला तत्कालिन नेकपा (एकीकृत) तिर लागेकी थिइन । पछिल्लो समय नेकपा(एकीकृत) समाजवादीको केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज रहेकी थिइन । झण्डै ६० वर्षको उमेरसम्म मृत्यु नहुन्जेल सक्रिय उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई खर्चेकी हुन् । उनी पछिल्लो समयमा दिमागमा रक्तश्रावको विमारी थिइन । उपचारको क्रममै उनको निधन हुन पुग्यो । उनको मृत्युले देश र जनताले एक निष्ठावान, कर्मठ, संघर्षशील र क्रियाशील महिला नेतृलाई गुमाउन पुगेको छ । यसले आन्दोलनलाई अपुरणीय क्षति पुगेको छ । उनी बाँचेको भए देश र जनताको पक्षमा अझ योगदान गर्न सक्ने थिइन । तर विडम्बना ! समयले हामी सबैको माझबाट उनलाई चुँडेर लगेको छ । तर उनको मृत्यु साँच्चिकै लोभलाग्दो छ । उनको जीवन साँच्चिकै अनुकरणीय छ ।
उनको मृत्युको कारण उनलाई चिन्ने, जान्ने सबैलाई निकै चोट पुगेको छ । यस अवस्थामा हाँक साप्ताहिक परिवारको तर्फबाट यमुना भूसालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छ ।