प्यूठान । प्यूठानको अर्खामा जातीय विभेद गर्नेहरुले गल्ती भएको स्वीकार गर्दै माफी मागेका छन् । वर्तमान संविधान र कानुनले जातीय विभेद गर्न नपाउने व्यवस्था गरेको भए पनि नेपालमा जातीय विभेदका घटनाहरु घटिरहेका छन् ।
गत भाद्र १ गते प्यूठानको उत्तरी गाउँ अर्खाका टिकाराम राना विटालुको मृत्यु भएको थियो । टिकारामको मृत्यु पछि पूर्व गाविस अध्यक्ष रतिमान रानाका छोरा नरेन्द्र रानाले चुमान राना लगायतलाई दलितको मलामी जान हुन्न भनेका थिए । त्यो कुरा चर्चामा आएपछि भाद्र २८ गते रानाहरुको बीचमा छलफल भएको थियो । तर जातीय विभेदप्रति कुनै आत्मालोचना नगरेपछि कार्तिक ७ गते महेन्द्र प्रा.वि. पैयुँपाटाका पूर्व प्रधानाध्यापक अमर राना विटालुले इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए । इलाका प्रहरी कार्यालयले त्यो मुद्दा मिलाउन अस्वीकार गरेपछि गौमुखी गाउँपालिका न्यायिक समितिमा पनि छलफल भएको थियो । न्यायिक समितिले मेलमिलाप गर्न आग्रह गर्दा पनि मेलमिलाप हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय प्यूठानमा अमर राना विटालु लगायतले निवेदन दिएका थिए ।
विगतमा त्यस सम्बन्धमा भेला र छलफलहरु भएका थिए । भेलामा जातीय विभेद र अपमान गर्नेहरु २५ जनालाई जिल्ला प्रहरी कार्यालय प्यूठानमा अमर विटालु लगायतले निवेदन दिएका थिए । पौष ११ गते जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षका बीचमा छलफल भएको थियो । विभेदका विरुद्धमा अमर राना विटालु, लक्ष्मण राना विटालु, रुद्र बहादुर राना, लालमणि राना, दीपक राना थिए भने अर्को पक्षबाट पूर्व गाविस अध्यक्ष रतिमान राना, चुमान राना, नरेन्द्र राना, कुमारसिंह राना, कन्वीर राना, दुर्गाबहादुर राना, जनक राना लगायत २० जना थिए । निवेदनमा नाम नदिइएका ५ जना उपस्थित थिएनन् ।
जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले आफ्नो कार्यालयले जातीय विभेदको मुद्दा हेर्दैनौं । या आपसमा मिल्नुस् । अन्यथा यो फौजदारी मुद्दा हो । मुद्दा अदालतमा गयो भने ३० हजार जरिवाना देखि ३ वर्षसम्म जेल जानु पर्ने हुन्छ भनेपछि अन्त्यमा गल्ती गर्नेहरुले “हाम्रो गल्ती भयो । माफी माग्छौं । अब मिलेर जानु पर्दछ” भनेका थिए र अब गाउँमा जातीय विभेद नगर्ने सहमति भएको थियो ।