काठमाडौं । चीनले ३१ महिनादेखि बन्द रहेको रुसुवागढी नाका मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
चीनले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीपछि ३१ महिनादेखि सो नाका बन्द गरेको थियो । हाललाई खुला गर्ने भएको छ । नाका खुलाएको पहिलो दिन नै झण्डै ५१ लाख बराबरको बस्तु निर्यात भएको छ । नेपालबाट बाँसको मुठा तामाका भाँडा लगायत वस्तु चीनतर्फ निर्यात भएको छ । मंगलबार ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ निर्यात भएका छन् ।
चैत्र २०७६ मा नेपाल सरकारले कोभिड १९ महामारीलाई ध्यान दिंदै सबै नाका सिल गरेको थियो । व्यस्त यो नाका ठप्प थियो । तत्कालका लागि चीनले रसुवागढी नाका मात्रै खोलेको हो । लह्सास्थित नेपाली महावाणिज्य दुतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात गर्नेे जानकारी गराएका थिए । यसबारे जानकारी महावाणिज्य दुतावासले रसुवा जिल्ला प्रशासन र भन्सार कार्यालयलाई गराएको थियो । सोही अनुसार मंगलबार नेपाली वस्तु निर्यात शुरु भयो । यता सिन्धुपाल्चोक तातोपानी भने अझै खोल्ने छाँटकाँट छैन ।
चिनियाँ पक्षबाट यस सम्बन्धमा कुनै जानकारी नआएको अधिकारीहरुले बताएका छन् ।
नेपाल र चीनका बीचमा मोटरबाटोले जोडेका दुई वटा नाका मात्र छन्–सिन्धुपाल्चोकको तातोपानी नाका र रसुवाको रसुवागढी नाका । २०७२ को भुकम्पपछि बन्द भएको तातोपानी नाका अझै खुलेको छैन । कोभिडका कारण बन्द रसुवागढी नाका अहिले खुलेको छ ।