माओका विचारलाई आत्मसाथ गर्ने प्रण

देशविदेशमा भव्यताका साथ मनाइयो १३० औं माओ जयन्ती

काठमाडौं । विश्व सर्वहारा वर्गका महान् नेता माओत्सेतुङको १३० औं दिवस नेपाल तथा विश्वका विभिन्न देशहरुमा  विविध कार्यक्रमका साथ मनाइएको छ । देश तथा विदेशका विभिन्न भागमा भएका १३० औं माओ दिवसका कार्यक्रमहरुमा बोल्दै कम्युनिस्ट नेताहरुले महान् नेता माओत्सेतुङका विचारहरु नेपालका सन्दर्भमा अहिले झनै सान्दर्भिक रहेको चर्चा गर्दै माओको योगदान र विचारहरुलाई आत्मसाथ गरेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलन अघि बढाउने प्रण गरेका छन् ।

पौष ११ गते अर्थात् डिसेम्बर २६ का दिन विश्वभरीका क्रान्तिकारी कम्युनिष्टहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै माओ दिवस मनाएका हुन् । माओ दिवस समारोहमा बोल्ने वक्ताहरुले माओका योगदान र विचारलाई आत्मसाथ गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । सन् १९९३, डिसेम्बर २६ मा चीनको हुनान प्रान्तको शाओसान भन्ने गाउँमा माओको जन्म भएको थियो । सामान्य मध्यम वर्गीय परिवारमा जन्मिएका उनी स्कूले जीवनमै क्रान्तिकारी र देशभक्तिपूर्ण विचार राख्दथे । सन् १९२१ मा चीनमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । माओ चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक मध्ये एक थिए । माओको नेतृत्वमा नै चीनबाट जापानी साम्राज्यवादलाई लखेटेर स्वाधीन चीन निर्माण भएको थियो । उनको नेतृत्वमा नै सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । चीनको विशिष्टतामा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्न सफल भएकाले माओलाई विश्वभरीका क्रान्तिकारीहरुले प्रेरणाको स्रोत मान्दछन् ।

क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन दक्षिणपन्थी अवसरवाद र उग्र वामपन्थी अवसरवाद जस्ता गलत चिन्तन र प्रवृत्तिका  विरुद्ध संघर्ष गर्नुपर्ने शिक्षा माओको जीवनीले बताउँछ । माओले क्रान्ति हुनु भन्दा पहिले नै चिनियाँ कम्युनिस्ट पार्टीभित्र देखा परेको बाङमिङ र लिलिसानको गलत विचार विरुद्ध संघर्ष गरेका थिए । क्रान्तिपछि ल्यू शाओ चिले चीनलाई लामो समयसम्म पुँजीवादी कार्यक्रम नयाँ जनवादमा नै राख्नु पर्दछ भनेका थिए तर माओको नेतृत्वमा चीन सन् १९५६ को पार्टीको आठौं महाधिवेशनबाट समाजवादमा प्रवेश गरेको थियो ।  माओले आफ्नो जीवनकालमा ल्यूशाओ चि को षडयन्त्रकारी गतिविधिको पनि सामना गर्नु परेको थियो ।

सन् १९६६ देखि १९७६ सम्म चीनमा महान् सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भएको थियो । माओले भनेका थिए–“पुँजीवादी पुनस्र्थापनालाई रोक्न, सर्वहारा अधिनायकत्वलाई सुदृढ गर्न र समाजवाद निर्माण गर्न सर्वहारा सांस्कृतिक क्रान्ति आवश्यक छ ।” माओको सन् १९७६ सेप्टेम्बर ९ मा मृत्यु भयो । माओको मृत्यु पछि पार्टीको नेतृत्वमा आएका देङ्ग शियाओ पिङ्ग लगायतका दक्षिणपन्थीहरुले महान् सर्वहारा सांस्कृतिक क्रान्तिको १० वर्षलाई “कालो दिन”  भनेर मूल्यांकन गरे । सांस्कृतिक क्रान्तिका पक्षधरहरु चियाङचिङ, चियाङ्गचुङ्ग चियाओ, याओ वेन लगायतलाई जेल हाल्ने र मृत्युदण्ड दिनेसम्मका अपराधिक काम गरियो । सांस्कृतिक क्रान्तिमा केही व्यवहारिक कमीकमजोरी भएको हुन सक्छ । तर सांस्कृतिक क्रान्तिको मूल मर्म भनेको माक्र्सवादको मूल सिद्धान्त वर्ग संघर्ष, सर्वहारा र अधिनायकत्वलाई दह्रोसँग पक्रनु पर्दछ भन्ने थियो । सर्वहारा सांस्कृतिक क्रान्तिलाई आत्मसाथ नगरिकन आजको युगमा क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन । माओले दर्शन, राजनीतिक अर्थशास्त्र, राजनीति, सैन्य विज्ञान, संस्कृति, शिक्षा लगायतका राजनीतिक एवं सामाजिक जीवनसित जोडिएका विषयहरुमा महत्वपूर्ण विचारहरु प्रदान गरेका छन् । माओ दिवसका दिन नेपाल र नेपालभरी विभिन्न ठाउँमा माओका योगदानहरुलाई स्मरण गर्दै र आत्मसाथ गर्ने प्रण गर्दै भव्य रुपमा कार्यक्रमहरु सम्पन्न भएका छन् ।

काठमाडौंः

तीन कम्युनिस्ट पार्टीहरुले काठमाडौको जमलस्थित राष्ट्रिय नाँचघरमा १३० औं माओ दिवस विशेष कार्यक्रम गरी मनाएका छन् । नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले माओदिवस समारोहलाई सम्बोधन गर्ने क्रममा माओको विचारको मूल कडी संशोधनवाद विरुद्धको संघर्ष हो भन्नु भयो । नेपालीले भान्नु भयो,“उत्तर तर्फ विशाल चीन र दक्षिण तर्फ विशाल भारत भएको मुलुकमा क्रान्ति गर्न सम्भव छैन भन्ने गरिन्छ । यो दक्षिणपन्थी संशोधनवादी विचार हो ।” अर्को सन्दर्भमा नेपालीले नेपाली जनताको विचार गतिशील रहेको बताउनु भयो । अहिलेकै चुनावमा पनि जनताले पुराना पार्टी र पुराना नेतालाई त्याग गरेर नयाँलाई रोज्न कोशिस गरेको देखियो । यो जनताको गतिशील चेतना हो । कम्युनिस्ट क्रान्तिकारीहरुले जनताको गतिशील चेतनालाई पक्रनु पर्छ र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु पर्दछ – नेपालीले भन्नुभयो । महासचिव नेपालीले अब सङ्कीर्णताका बन्धनहरु तोडेर क्रान्तिकारी शक्तिहरु ध्रुबीकरण हुनु पर्ने समय आएको पनि बताउनु भयो । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य सी.पी. गजुरेलले माओको सिद्धान्तलाई नेपाली विशिष्टतामा प्रयोग गर्नु पर्ने बताउनु भयो ।  उहाँले भन्नु भयो,“माओले चीनमा माक्र्सवाद प्रयोग गर्दा त्यहाँको विशेषताका आधारमा प्रयोग गर्नु भयो र हामीले पनि नेपालकै विशेषतामा प्रयोग गर्नु पर्दछ ।” गजुरेलले नेपालमा राजनीतिक , आर्थिक सड्ढट गहिरिदै गएको र वर्तमान प्रतिक्रियावादी सरकार, संसदवादी पार्टीहरुले यो संकट हल गर्न सक्दैनन  भन्नु भयो । सङ्कटको हल गर्न यहाँ क्रान्ति हुनै पर्छ र हामी अब त्यसका लागि आत्मगत परिस्थिति बलियो बनाउन लाग्नु पर्छ । त्यसका लागि हामी छरिएर रहेका क्रान्तिकारीहरु एक ढिक्का हुनै पर्दछ  – गजुरेलको कथन थियो ।  नेता गजुरेलले तीन पार्टीहरुका बीचमा पार्टी एकताका लागि छलफल भैरहेको पनि खुलासा गर्नु भयो ।  तर छलफल कसरी,के के विषयमा भैरहेको छ भन्ने कुरा खुलाउनु भएन ।  नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले समारोहलाई सम्बोधन गर्दै माओले दर्शनमा अन्तर्विरोध, राजनीतिक अर्थशास्त्रमा पिछडिएको अर्थतन्त्र भएको देशमा समाजवादको निम्ति आर्थिक आधार तयार गर्ने बाटो, राजनीतिमा नयाँ जनवाद हुँदै समाजवादमा जाने बाटो स्पष्ट पारेको बताउनु भयो । कार्यक्रमको अध्यक्षता नेकपा (बहुमत) का प्रवक्ता हेमन्तप्रकाश वली, संचालन नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य चन्द्रहरी सुवेदी र स्वागत नेकपा (मशाल) पोलिव्यूरो सदस्य कृष्णराज पौडेलले गर्नु भएको थियो। कार्यक्रम शहिदहरुप्रति १ मिनेट मौन धारण गरी अगाडि बढेको थियो ।

कार्यक्रममा सबै पार्टीका सल्लाहकारहरुको आतिथ्यता रहेको थियो । सल्लाहकार अतिथिहरुमा नेकपा (मशाल) का गोविन्द सिंह थापा, नेकपा(क्रान्तिकारी माओवादी) का कमल चौधरी र नेकपा (बहुमत) का असारे काका रहेका थिए । अन्य केन्द्रीय नेताहरुमा नेकपा (मशाल) का प्रवक्ता रामबहादुर बुढा, नेकपा (क्रान्तिकारी माओवादी) का रामसिंह श्रीस, परी थापा, हरिभक्त कंडेल, नेकपा (बहुमत) का बाबुराम गजमेर र उदय चलाउनेको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रममा तीनवटै क्रान्तिकारी पार्टी निकटका सांस्कृतिक संगठनहरु रक्तिम सांस्कृतिक अभियान र सामना परिवारले जुझारु गीत र नृत्य प्रस्तुत गरेका थिए ।  रक्तिम अध्यक्ष  नारायण शर्मा र महासचिव लक्ष्मी रिजाल उदयले “छेकेर छेकिन्न इतिहासको पांग्रा”   तथा लक्ष्मी रिजालले “नछोड बाटो तिमीले”  बोलको गीत प्रस्तुत गर्नु भएको थियो । सामना परिवारका कलाकारहरुले “प्यारो जलजला, तिमी सित गहिरो माया बस्यो जलजला” , “बहादुरहरुका निम्ति”, “पूर्व रातो भयो” लगायतका  गीतहरुमा प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुले उठेर अन्तर्राष्ट्रिय गीत गाएका थिए । कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

रुपन्देही ः

नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को संयुक्त आयोजनामा बुटवलमा १३० औं माओ दिवसको सन्दर्भमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) लुम्बिनी प्रदेश सदस्य लक्ष्मीकान्त पौडेल, संचालन नेकपा (मशाल) रुपन्देही प्रवक्ता दिपक पौडेल र स्वागत नेकपा (बहुमत) लुम्बिनी प्रदेश सदस्य संजीव कुमारले  गरेका थिए ।

कार्यक्रमका अतिथि नेकपा (मशाल) का केन्द्रीय प्रतिनिधि विमल शर्माले नेपालका क्रान्तिकारी शक्तिहरुले भित्री र बाहिरी संकीर्णता त्यागेर क्रान्तिकारी शक्तिलाई संगठित गर्नुपर्ने कुरामा जोड दिए । उनले कमरेड माओको योगदानको स्मरण गराउँदै चीनको जनवादी क्रान्तिको मोडलबाट शिक्षा लिंदै नेपालमा जनवादी क्रान्तिको विकास गर्न पहल अगाडि बढाउनु पर्ने  बताए । कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) पिविएम केबी गुरुङले चीनको तत्कालीन अवस्थाको व्याख्या गर्दै नेपालको कृषि क्षेत्र नै आर्थिक उन्नतिको आधार भएको हुनाले देशलाई आत्मनिर्भर र स्वाधीन वनाउन जनवादी क्रान्ति अपरिहार्य भएको बताए ।

कार्यक्रममा नेकपा (बहुमत) केन्द्रीय सदस्य कमरेड प्रवेश, नेकपा (क्रान्तिकारी माओवादी) पिविएम प्रेम सुवेदी , मार्सवादी विचार मञ्चका सचिव विनबहादुर कुँवरले माओको योगदानको चर्चा गरेका थिए ।

बाँके ः

१३० औं माओ जन्म दिवसको अवसरमा बाँकेको नेपालगन्जमा सरसफाइ एवं कोणसभा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा भेरी अस्पताल परिसर सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । सरसफाइ कार्यक्रम पछि लगत्तै भेरी अस्पताल अगाडि चोकमा चिनियाँ नयाँ जनवादी क्रान्तिमा कमरेड माओको योगदान र नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा कमरेड माओको सिद्धान्त र विचारको महत्वबारे खुल्ला कोणसभा सम्पन्न गरिएको छ ।

कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी (मशाल), नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । यस कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (मशाल) केन्द्रीय सदस्य गौरीलाल कार्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य प्रेमबहादुर चलाउने ( अनन्त) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य लक्ष्मी चौलागाईं (प्रतिज्ञा) ले सम्बोधन गरेका छन् । उनीहरुले कमरेड माओको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान रहेको चर्चा गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा माओका विचार र सिद्धान्तको अनुसरणले क्रान्तिकारी आन्दोलन सफलतामा पुग्न सहयोग पुग्ने कुरा बताएका थिए । कार्यक्रमको संचालन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का केन्द्रीय सदस्य तथा बाँके संयोजक कृष्ण शाहले गरेका थिए ।

दाङः

दाङमा चिनियाँ जनक्रान्ति तथा विश्व कम्युनिस्ट आन्दोलनका नेता माओत्सेतुङको १३० औं जन्म दिवस जुलुश र सभा गरी मनाइएको छ । तुलसीपुरचोकबाट शुरु भएको जुलुश बजार परिक्रमा गरी ट्राफिकचोक नजिक साइ मन्दिरको सभा हलमा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का सहइन्चार्ज रामजी थारुले गरेका थिए भने कार्यक्रमको संचालन नेकपा (बहुमत) का मनोज परियारले र स्वागत नेकपा (मशाल) का जिल्ला प्रवक्ता रेशम विसीले गरेका थिए । कार्यक्रममा अतिथिहरु नेकपा (मशाल) केन्द्रीय सदस्य शशिधर भण्डारी, नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समीर के.सी. र नेकपा (बहुमत) का केन्द्रीय सदस्य तिलक पुन रहेका थिए । कार्यक्रममा अतिथिहरुले दार्शनिक नेता माओत्सेतुङले देखाएको बाटोमा अग्रसर हुनको निम्ति माओविचारधारालाई अनुशरण गर्नुपर्ने धारणा राखेका थिए ।

प्यूठान ः

प्यूठानमा पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको संयुक्त आयोजनामा १३० औं माओ दिवस मनाइएको छ । कार्यक्रमको संचालन नेकपा (मशाल) का प्रतिनिधि जितामित्र सुनारले गरेका थिए भने कार्यक्रमको अध्यक्षता कृष्ण बहादुर सुनारको रहेको थियो । कार्यक्रममा अतिथिहरु नेकपा (मशाल) का जिल्ला सचिव विरबहादुर पुन, नेकपा  (बहुमत) का का. नविन, नेकपा (क्रान्तिकारी माओवादी) का टिकाराम पौडेल रहेका थिए । कार्यक्रममा अतिथिहरुले कम्युनिस्ट आन्दोलनमा माओको योगदानबारे चर्चा गरेका थिए ।

 

कास्की ः

त्यसैगरी कास्कीको पोखरामा पनि एक कार्यक्रम गरी माओ दिवस मनाइएको छ । कार्यक्रमको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) का रामजी थापा, संचालन नेकपा (बहुमत) का जिलला सदस्य बद्री अधिकारी र स्वागत नेकपा (मशाल) का जिल्ला प्रवक्ता विक्रम थापाले गरेका थिए । कार्यक्रममा अतिथिहरु नेकपा (मशाल) का प्रतिनिधि सागर कुँवर, नेकपा (बहुमत) का केन्द्रीय सदस्य गोकुल पराजुली, नेकपा (क्रान्तिकारी माओवादी) का पिविएम केशबहादुर परियार रहेका थिए । अतिथिहरुले माओको कम्युनिस्ट आन्दोलनमा रहेको योगदानबारे चर्चा गरेका थिए ।

कपिलवस्तु ः

नेकपा (मशाल), नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) ले संयुक्त रूपमा कपिलवस्तुको बाणगङ्गामा  १३०औँ माओ दिवस मनाएका  छन् ।

ने.क.पा.(मशाल)का प्रतिनिधि हिमलाल वाग्ले, नेकपा (बहुमत) का इन्चार्ज का. धमिल, ने.क.पा.( क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार पिताम्बर आचार्य लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

माओका योगदान, माओविचारधाराको अपरिहार्यता, नयाँ जनवाद  र नेपाली क्रान्तिको कार्यदिशा लगायत माक्र्सवाद को बिकासमा माओको योगदान को चर्चा गर्दै माओले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता सहित नेपालको बर्तमान परिस्थितिको विषयमा समेत गम्भीर समीक्षा गरिएको थियो । विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओ २६ डिसेम्बर १८९३ मा जन्मिएका थिए । माओको जन्मदिनमा संसारभरका क्रान्तिकारीहरूले सिर्जनात्मक–वैचारिक कार्यक्रम गरी माओ दिवस मनाउने गर्छन् । ने.क.पा. (क्रान्तिकारी माओवादी) का सेक्रेटेरी का. कमल उप्रेतीको अध्यक्षता, नेकपा (बहुमत) का जिल्ला संयोजक का. संघर्ष स्वागत मन्त्ब्य र  नेकपा (मशाल) का जिल्ला प्रवक्ता माधव भाट क्षेत्रीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

चितवन ः

सर्वहारावर्गका नेता माओ–त्सेतुङको १३० औं माओ दिवस चितवनमा एक संयुक्त कार्यक्रम गरी मनाइएको छ । नेकपा (क्रान्तिकारी–माओवादी) का कामरेड बाबुराम प्यासीको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको संचालन नेकपा (बहुमत) को दुर्गा सुवेदीले गरेका थिए । अतिथि वक्ताहरु नेकपा (मशाल) का प्रतिनिधि गंगा पौडेल, नेकपा (क्रान्तिकारी–माओवादी) का कामरेड अम्बिका मुडवरी र नेकपा(बहुमत) का क. महेश क. रविकिरण निर्जिव रहेका थिए । नेकपा (बहुमत) का क. बुद्धि, नेकपा (क्रान्तिकारी माओवादी) के.स. क. विकास, सल्लाहकार दिवाकर न्यौपाने र शहिद परिवारबाट क. खडक बहादुर कुँवरको आतिथ्यता रहेको थियो । कार्यक्रममा अतिथि वक्ताहरुले का. माओको कम्युनिस्ट आन्दोलनमा रहेको योगदानको विषयमा चर्चा गरेका थिए । माओको कला र संस्कृति सम्बन्धी योगदानको चर्चा क. रवि किरण निर्जिवले गरेका थिए ।

 

 

 

 

नवलपुर ः

नेकपा (मशाल) नवलपुरको आयोजनामा नवलपुरको अमरापुरीमा एक कार्यक्रम गरी  १३० औं माओ दिवस मनाइएको छ । नेकपा (मशाल) का राधाकृष्ण आचार्यको अध्यक्षता, रामप्रसाद आचार्यको संचालन तथा सोमनाथ शर्माको स्वागतमा अगाडि बढेको कार्यक्रमका बोल्ने वक्ताहरुमा नेकपा (मशाल) जिल्ला सचिव राम प्रसाद सापकोटा, जिल्ला सदस्य लेखनाथ शर्मा रहेका थिए ।

तनहुँ ः

सन्सारका मजदुर एक होऔं ! भन्ने मुल नाराका साथ २०७९ पौष ११ का दिन १३० औं माओ दिबस ब्यास –४ दमौलीमा सम्पन्न भएको छ । कार्यक्रम संचालन नेकपा(क्रान्तिकारी माओवादी)का क. नबिनले गरेका थिए । उपस्थिति सबैलाई नेकपा (मशाल) का क. धन बहादुर परियारले स्वागत मन्तव्य मार्फत् स्वागत गरेका थिए ।

कार्यक्रममा १ मिनेट मौन धारण रहेको थियो भने अध्यक्षता नेकपा (बहुमत) जिल्ला समितिका क. नेत्र थापाले गरेका थिए । अतिथिहरु नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य जिल्ला इन्चार्ज क. दिनेश, नेकपा (मशाल) गण्डकी प्रदेश ब्यूरो प्रबक्ता पुष्पलाल श्रेष्ठ, नेकपा (बहुमत) जिल्ला इन्चार्ज क. सुजन, देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश अध्यक्ष क. नेत्र रानाभाट, देशभक्त जनगणतान्त्रिक मोर्चा तनहुँका अध्यक्ष क. बेनि बहादुर र अनेरास्ववियुका अध्यक्ष क. शिव रहेका थिए। कार्यक्रममा अतिथिहरुले माओले देखाएको बाटोलाई कम्युनिष्टहरुले भुल्न नहुने र यदि कसैले भुल्दछ भने त्यो कम्युनिष्ट नै नरहने बताएका छन् र सबै कम्युनिष्ट पार्टीहरु फुटेर हैन जुटेर एकतामा बाँधिनु पर्ने अबस्था सिर्जना भएको छ । अनि मात्र यो संसदीय ब्यबस्थाको विरुद्ध लड्न सक्ने बताएका छन् । कार्यक्रम समापन अध्यक्षले गरेका थिए । कार्यक्रम सब्य र भब्यताका साथ सफल भएको थियो ।

सुनसरी ः

पूर्वी नेपालको सुनसरी जिल्लाको इटहरीमा पनि माओ दिवस मनाइएको छ । १३० औं माओ दिवसको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) को विमल निरौला, संचालन डिल्ली बोहोराले गर्नु भएको थियो । नेकपा (मशाल) का बालकृष्ण सुवेदी लगायतले माओको विचार र योगदानको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नेकपा (मशाल) का केन्द्रीय सदस्य सुरेन्द्र भण्डारी, मशालका क्षेत्रीय प्रवक्ता योगेन्द्र ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

चेन्नै, भारत

नेपाली मुक्ति मञ्च (फोरम फर द इमान्सिपेसन अफ नेपालीज् पिपुल) को तत्वाधानमा २६ डिसेम्बरका दिन १३० आंै माओ दिवस मनाइएको छ । सहिदहरु प्रति एक मिनेट मौन धारणसहित अगाडि बढेको कार्यक्रमको अध्यक्षता कृष्ण ढकालले, स्वागत देवी रिजालले र भूपी पौडेलले संचालन गर्नु भएको थियो । माओको योगदान माथि अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, महासचिव महेन्द्र बस्याल, केन्द्रीय सदस्य हेमराज रिजाल, अर्जुन केसी, हाँक साप्ताहिकका प्रतिनिधि राजु अधिकारीलगायतले प्रकाश पार्नु भएको थियो । अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय महिला विभागकी देवी रिजाल, सुनिता बस्याल, रमा गौतम, मैना अधिकारी, चेन्नै पश्चिमगर समितिका सदस्य दिलकुमार, पुष्पराज शर्मा, मोहदत्त शर्मा, चेखनाथ शर्मा, डोलबहादुर थापा, रामु ढकाल र राजेन्द्र शर्मा लगायतको कार्यक्रममा उपस्थिति थियो ।

भारत बेंगलोर ः

१३० औं माओ दिवस भारतका विभिन्न स्थानमा कार्यक्रम गरी मनाइएको छ । बेंगलोर दक्षिण नगर समितिले भव्य र सानदार रुपमा मनाएको छ । कार्यक्रमको अध्यक्षता करन दयाल, संचालन सेरसिंह विकले गरेका थिए । शहिदहरुप्रति एकमिनेट मौनधारणपछि अघि  बढेको कार्यक्रमको स्वागत मन्तव्य अरुणा वि.क.को रहेको थियो भने रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत संगीतबाट स्वागत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव रामसिंह वि.क. रहेका थिए भने अन्य अतिथिहरुमा विद्यार्थी केन्द्रीय सदस्य प्रकाश दयाल, अखिल भारत नेपाली एकता समाज केन्द्रीय बैकल्पिक सदस्य गणेश वि.क., क्षेत्रीय महिला विभागकी सदस्य मिना वि.क., नगर विभागका हिरा विक, बेंगलोरकी विद्यार्थी संघकी कोषाध्यक्ष रोशनी दयाल, दक्षिण नगर बेंगलोरबाट हरिश वि.क. र रक्तिम सांस्कृतिक अभियानका सदस्य पुष्पा दयाल रहेका थिए ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित