महेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको कन्चनपुरबाट सुरु हुने जनसम्बन्ध विस्तार अभियानको चैत्र ४ गते नेपाल – भारत सिमाना गड्डाचौकीमा उद्घाटन गरिएको छ । पार्टीका स्थायी समिति सदस्य तथा केन्द्रीय स्तरबाट गठित ४ टोली मध्ये एक टोलीका नेता कृष्णराज पौडेल कुमुदले अभियानको उद्घाटन गर्नु भयो । नेता पौडेलले यस अभियानले पार्टी र जनतालाई एकाकार गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले वर्तमान संसदीय व्यवस्थाले देश र जनताको समस्या समाधान गर्न नसक्ने हुनाले नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादले जनताको रोजगारीको समस्या समाधान गर्ने ,राष्ट्रिय स्वाधीनताको समस्या समाधान गर्ने स्पष्ट पार्नु भयो । सिमानामा सर्वसाधारण जनतालाई दुवै पक्षका सुरक्षाकर्मीले अनाबश्यक दुख दिने र ठूला दुई नम्बरीवालाहरूले अबैधानिक काम गर्ने तरिकाको विरोध गर्नु भयो । महाकालीको पानी आधा अधा हुनु पर्नेमा नेपाल ठगिदै आएको बारे पनि उहाँले स्पस्ट पार्नु भयो ।
कार्यक्रमको सन्चालन पार्टीका कन्चनपुर जिल्ला ईन्चार्ज रामबहादुर महरा चिन्तक, स्वागत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कन्चनपुर जिल्ला सेक्रेटरी बिष्णु दमाई शितल र अध्यक्षता पार्टीका १ नम्बर ब्युरो ईन्चार्ज शेर बहादुर देउवाले गर्नु भएको थियो । अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सहसंयोजक तथा रक्तिम साँस्कृतिक अभियानका सल्लाहकार नारायण योगीले स्वागत गीत गाउनु भएको थियो । पार्टीका पोलिटब्युरो सदस्य तथा २० नम्बर ब्युरो ईन्चार्ज चक्रपाणी शर्माले राजतन्त्र मरिसकेको लास हो भन्दै त्यो फर्किने सम्भावना नरहेको दावी गर्दै राजावादीहरूले मरेको लास बोक्ने दुस्साहस नगर्न चेतावनी दिनु भयो ।पार्टीका पोलिटब्युरो सदस्य तथा क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्बिका मुडभरीले छाउपडी प्रथा लगायतका अन्धविश्वास समाजबाट ह्ट्नु पर्ने धारणा राख्नुभयो ।उहाँले महिला माथिको विभेद अन्त्यको लागि संघर्षको आबश्यकता माथि जोड दिनु भयो । कार्यक्रममा पार्टीका दुई नम्बर ब्युरो ईन्चार्ज रामबहादुर थारु महानले पनि मन्तब्य राख्नु भएको थियो । अभियान टोलीका सहभागीहरूले गड्डा चौकीमा जुलुस प्रदर्शन समेत गरेकाथिए।
कोण सभा
महेन्द्र नगरको भानु चोकमा चैत्र ४ गते नै कोण सभा पनि सम्पन्न भएको छ । कोण सभालाई क्रान्तिकारी महिला संगठन नेपालकी संयोजक अम्बिका मुडभरीले सम्बोधन गर्नु भएकोथियो । टोली कन्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर ३ मा खाना खाई वडानम्बर २ बसन्तथालामा आई दुई टोली बनेर जनताको घरमा बास बसेको थियो ।
फोटो ःजितामित्र सुनार