बाबुराम आचार्य,
बुटवल । गत आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गरे । उनले सो अवसर मा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया छिट्टै थालिने समेत बताए ।
उनले थप एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाइ छाड्ने बताइरहँदा जेठ २ गते २०७९मा उद्घाटन भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय वायुसेवा विहीन हुँदै घाटामा सञ्चालित छ भन्ने बारे केहि बोलेनन् । त्यति मात्रै होइन हाल तराईमा बढेको हुस्सुले आन्तरिक उडान समेत प्रभावित पारेको छ, विमानस्थलसँग करिब एक अर्ब बराबरका सुरक्षा सम्बन्ध आधुनिक उपकरणहरु जडान गरिएको छ तर भारतीय पक्षको प्राविधिक अवरोध एवं नेपाल सरकारको कुटनैतिक असफलताका कारण सन्चालन हुन सकेको छैनन् । इन्स्ट्रोमेन्टल ल्यान्डिग सिस्टम ( आईएलएस)– जडान गरिएको छ यो कमजोर भिजिबिलिटि मै उडान अवतरण गर्न सकिने एक चुस्त रेडियो नेभिगेसन प्रणाली हो जसले बिमानलाई खराव मौसममा पनि रनवे अप्रोच गर्न उपकरणद्वारा निर्देशन गर्छ । यस्तो प्राविधिक समस्याको समेत समाधान गर्न चासो नदिने तर विमानस्थल खोल्दै जानुले देशहित हुने देखिंदैन ।
राष्ट्रिय गौरवकै आयोजनाका रुपमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ । यो बेला धेरैको मनमा उठेको प्रश्न हो, ‘पोखराको सुविधा सम्पन्न नयाँ विमानस्थलको हालत पनि भैरहवा विमानस्थलको जस्तै हुन्छ कि ? पोखरा विमानस्थलले आम्दानी दिन सुरु गर्छ ?
भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा समानता छ । त्यो हो दुबै विमानस्थलमा स्थानीय क्षेत्रमा आउने पर्यटकहरुलाई लक्षित गरेर बनाइएका छन् ।
यी दुबै विमानस्थल बनाउँदाको लाभबारे ‘धेरै लामा लामा भाषणबाजी’ भएपनि पर्याप्त अध्ययन र गृहकार्य भएको थिएन ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप उत्कर्षमा पुग्दा आवश्यकता, औचित्य र व्यवसायिक सम्भाव्यताको अध्ययनले भन्दा बढी विमानस्थल बनाउने राजनीतिक इच्छाशक्तिले भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेका हुन्, भन्ने प्रसस्त आधारहरु छन् ।
पोखरामा अन्तर्राष्ट्रिय उडान गराउने राजनीतिज्ञको चाहनालाई प्राविधिज्ञले सदर गरिदिए । ’ उनीहरुले आन्तरिक सेवामा रहेका विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सकिने त बताए, तर यस्ता आयोजनालाई ऋणको पासोबाट कसरी मुक्त राख्न सकिन्छ ? भन्ने बारे केही बताएनन्, न राजनीतिक नेतृत्वले नै सोच्यो । लगानी गर्नुको तात्पर्य हो न्युनतम मुनाफा अनिवार्य आर्जन गर्नु तर हाम्रो राजनीतिक नेतृत्वले नत अत्यावश्यकताको आधारमा लगानी गरेको छ नत मुनाफा आर्जन हुने गरिनै । हाम्रो नेतृत्व भौतिक पूर्वाधारमा रुचीकर हुनु पर्ने कारण के होला ? यो विचारणीय प्रश्न हो ।
लगानीको तुलनामा न्यून आम्दानी
आफ्नो स्रोतबाट बनाउन नसकिने निष्कर्ष निकाल्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी लगानी स्वीकार गरेको हो नेपाल सरकारले । त्यसैकारण यी दुवै विमानस्थल विदेशी ऋण लगानीमा सम्पन्न भएका छन् ।
भैरहवा विमानस्थलका लागि एसियाली विकास बैंकले ६ अर्बभन्दा बढी ऋण १ प्रतिशत भन्दा कम ब्याजदरमा प्रदान गरेको थियो । जसको कुल लागत करिव तीस अरब रहेको छ ।
तर, पोखराको ऋणको तथ्य डरलाग्दो छ, सरकारले पोखराका लागि २०३२ सालमा अधिग्रहण गरेको जग्गा अपुग हुने भएपछि करिब थप ८ अर्ब रुपैयाँ आफ्नै स्रोतबाट खर्चियो, निर्माणका लागि चीनको आयात–निर्यात (एक्जिम) बैंकबाट २८ अर्ब ५३ करोड रुपैयाँ (२१६ करोड डलर) लगानी ल्याउने गरी सम्झौता ग¥यो ।
त्यसमध्ये २५ प्रतिशत रकम ७ अर्ब १३ करोड रुपैयाँ (५४ मिलियन डलर) मा ब्याज नलाग्ने गरी सम्झौता भएको छ । तर, यो ब्याज नलाग्ने ऋणको साँवा भने किस्ताबन्दीमा तिर्नुपर्छ । यस्तै ७५ प्रतिशत अर्थात् २१ अर्ब ४० करोड (१६२ मिलियन डलर) मा भने २ प्रतिशत ब्याज तिर्नुपर्छ । सँगै त्यसको साँवा पनि तालिका अनुसार तिर्दै जानुपर्नेछ ।
सम्झौता अनुसार उड्डयन प्राधिकरणले पोखरा विमानस्थल सञ्चालन भएको वर्षदेखि नै सरकारलाई ऋणको किस्ता बुझाउन सुरु गर्नुपर्छ । यस्तो साँवा र ब्याजसहितको किस्ता रकम तिर्न मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थलबाट वार्षिक औसत डेढ अर्बभन्दा बढी आम्दानी गर्न सक्नुपर्छ ।
सम्झौता हुँदाको सुरुवाती चरणमा कुल २२ अर्ब रुपैयाँ बराबर मात्रै रहेको ऋण अहिले बढ्दै २८ अर्ब नाघेको छ भने ब्याज तिनुपर्ने ऋणको हिस्सा मात्रै २२ अर्ब नाघेको छ ।
यस्तो महंगो ऋणमा बनेको परियोजनाले प्रतिफल नदिएमा सरकारका लागि यो आयोजना सेतो हात्तीमा परिणत हुनसक्छ । यो विमानस्थलमा ठूला क्षमता वाइडबडी विमानहरुले उडान भर्न सक्दैनन् । भौगोलिक तथा प्राविधिक कारण साना विमानहरुको उडान पनि पोखराका लागि जोखिमपूर्ण नै मानिन्छ । जसले गर्दा विदेशी वायुसेवा कम्पनीले पोखरालाई आफ्नो रोजाइमा पार्ने कुरामा अधिकारीहरू विश्वस्त छैनन् ।
सञ्चालन खर्च पनि उठाउन गाह्रो
भैरहवा जस्तो सहज र ठूला विमान समेत अवतरण गर्न सकिने गरी बनाएको विमानस्थल चल्न समेत नसकिंरहँदा पोखराले अन्तर्राष्ट्रिय उडान आकर्षित गर्दै ऋणको किस्ता व्यवस्थापन गरेर सञ्चालन खर्च उठाउला त ?
चिनियाँ ऋणबारे जानकार रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन समारोहबाटै विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेका छन् ।
‘यो विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउनु प¥यो, भारतसँग कुरा गरेर सहजीकरण गर्नुप¥यो’, उनले भने, ‘विमानस्थलबाट भारत, अरब, मलेसिया लगायतका मुलुक जान पाउनुपर्छ ।
युरोप अमेरिका दोस्रो चरणमा होला । तर, एसियाली मुलुकमा यही विमानस्थलबाट आउजाउ गर्न पाउनुपर्छ ।’ उनले पोखरा विमानस्थललाई दक्षिण एसिया र पश्चिम एसियासँग जोड्न सक्ने हो भने पोखरालाई पर्यटनको राजधानी बनाउन सकिने पनि बताएका थिए ।
प्राधिकरणका एक अधिकारी भन्छन् “तत्कालै सोचिएजस्तो सोझो प्रकारले पोखरा विमानस्थललाई सजिलै चलाउन र लगानी फिर्ता गर्न गाह्रो पर्ने देखिन्छ ।”
‘दैनिक ४–५ वटा अन्तर्राष्ट्रिय उडान गराएर विमानस्थलको खर्च धानिंदैन’, उनी भन्छन्, ‘भैरहवा त्यति राम्रो ठाउँमा हुँदासमेत एउटा पनि अन्तर्राष्ट्रिय उडान नभएको अवस्था छ । त्यसलाई हेरेर–बुझेर सबै पक्षले पोखरा विमानस्थल सञ्चालनको स्पष्ट योजनाहरु बनाउनुपर्छ ।