फरिदाबाद, १ मे, भारत । अखिल भारत नेपाली एकता समाज, फरिदाबाद नगर समितिको आयोजनामा १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमको सञ्चालन केवल बहादुर बुढाथोकीले गर्नुभएको थियो भने अध्यक्षता नगर समिति अध्यक्ष बिनि मधव पौडेलले गर्नुभयो। कार्यक्रममा महिला क्षेत्रीय विभागकी रमा न्यौपाने विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रमको प्रारम्भमा ज्ञात–अज्ञात श्रमिक सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि श्रमिक आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र आजको सन्दर्भमा यसको महत्त्वमाथि प्रकाश पार्दै विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा प्रस्तुत गरे।
वक्ताहरूमा फरिदाबाद नगर समितिबाट विरूचन, शंकर न्यौपाने र भुमिश्वरा बुढाथोकी, एनआईटी एरिया समितिबाट अर्जुन न्यौपाने, तथा शास्त्री कोलोनी महिला विभागबाट दीपा बीसीले सम्बोधन गर्नुभएको थियो। उहाँहरूले श्रमिक वर्गको एकता, सचेतना र सशक्तिकरणको आवश्यकतालाई जोड दिँदै फरिदाबादमा बसोबास गर्ने नेपाली श्रमिक तथा महिला समुदायको संगठित प्रयास समाजको समुन्नतिको आधार हुने धारणा राख्नुभयो।
कार्यक्रम उत्साहजनक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको नगर समितिले जानकारी दिएको छ।