‘नयाँ जनवाद कि समाजवाद’ विषयक अन्तरक्रियात्मक गोष्ठी

काठमाण्डौ । पुष्पलाल विचार प्रवद्र्धन केन्द्र नेपालको आयोजनामा ‘नयाँ जनवाद कि समाजवाद’ विषयक अन्तरक्रियात्मक गोष्ठी सम्पन्न भएको छ ।

वैशाख २५ गते नेकपाको कार्यालय कीर्तिपुरमा आयोजित गोष्ठीमा नेकपाका अध्यक्ष ऋषि कट्टेलले समाजवाद कार्यान्वयनमा आइपरेको अप्ठ्यारोलार्ई फुकाउन अर्थात पिछडिएको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशमा समाजवाद लागू गर्न अगाडि सारिएको कार्यक्रम नयाँ जनवाद हो भन्नु भयो । वहाँले नेपालको कम्युनिष्ट आन्दोलन दुई ध्रुवमा विभक्त भएको बताउँदै संसदवादी ध्रुव र संसदवाद विरोधी ध्रुव मध्ये संसदवाद विसर्जनवाद भएको बताउनु भयो । इतिहासको स्मरण गर्दै कट्टेलले लेनिनले संसदवादको प्रयोग गर्ने भन्नु भएको थियो । नेपालमा संसदवादको प्रयोग गर्ने हो कि ध्वंस गर्ने हो छलफल गर्न जरुरी छ भन्नुभयो । कट्टेलले जनवादी क्रान्ति भनेको सर्वहारा वर्गको नेतृत्वमा संयुक्त क्रान्ति हो भन्दै अहिले तत्काल वैज्ञानिक समाजवाद लागू गर्न नसक्ने भएकोले नयाँ जनवादी कार्यक्रम आवश्यक भएको पनि बताउनु भयो । कट्टेलले सामन्ती उत्पादन सम्बन्धको बारेमा चर्चा गर्दै स्वर्गद्वारीको गुठी पीडित जानकी मन्दिरको चौध सय विघा जमिनको गुठीमा काम गर्ने किसानहरुको दुःखको चर्चा गर्दै नयाँ जनवादी कार्यक्रमको आवश्यकतामाथि जोड दिनु भयो । वहाँले सत्ताको चावी दलालपुँजीवादको हातमा छ त्यसैले समाजवादमा पुग्ने आर्थिक सामाजिक कार्यक्रम आवश्यक छ भन्नु भयो । वहाँले यदि संसदवादको विरुद्धमा उभिने हो भने नयाँ जनवाद र समाजवाद मान्ने शक्तिहरु ध्रुवीकृत भएर अगाडि बढ्न जरुरी रहेको कुरामा जोड दिनु भयो ।

नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलाले तेस्रो अन्तर्राष्ट्रियको बहसमा बुखारिन र ट्राटस्कीले राखेको विचार र १९४०मा माओले लेखेको नयाँ जनवादको समेत अध्ययन गरेर आफ्नो पार्टीले समाजवादी क्रान्तिको कार्यदिशा तय गरेको बताउनु भयो । वास्तोलाले दोस्रो विश्वयुद्ध पछि राष्ट्रिय स्वाधीनताकालागि संघर्षको युग समाप्त भएको बताउनु भयो ।वहाँले नेपालमा २०२१ मा भूमिसुधार लागू हुनुलाई पूँजीवाद लागू भएको बताउनु भयो ।

अर्का वक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य रामबहादुर बुढाले नेपालमा पुँजीवादी क्रान्ति पूरा भयो भन्ने विचार राख्नेहरु २ प्रकारका रहेको बताउनु भयो ।एक पक्षले संसदको उपयोगबाट समाजवादमा जान सकिने बताउँछ भने अर्को पक्षले वर्ग संघर्षबाट समाजवादमा जान सकिने बताउँछ ।ती दुवै पक्षकोबीचमा के कस्तो सम्बन्ध छ भन्ने कुरा आगामि दिनले स्पष्ट गर्दै जाने बुढाको भनाई रहेको थियो। बुढाले नेपालको कुल ग्राहस्थ उत्पादनको ६० प्रतिशत सेवा क्षेत्र , २४ प्रतिशत कृषि क्षेत्र र १३ प्रतिशत उद्योग क्षेत्रले ओगटेको बताउँदै सेवा क्षेत्र जस्तै बैंकिङ सेवा ,सञ्चार सेवा , विद्युत सेवामा दलाल पूँजीवाद हावी हुँदै गएको स्पष्ट गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार दलाल पूँजीवादको अन्त्य गर्नु हो त्यसैले नयाँ जनवादी क्रान्तिको कार्यक्रमको आवश्यक रहेको बताउनु भयो ।

प्राध्यापक डा. केशवराज देवकोटाले कम्युनिष्टहरुले जनसम्बन्धलाई बलियो बनाउने कुराम विशेष ध्यान दिनु पर्ने बताउनु भयो ।

नेकपाका केन्द्रीय सदस्य नरेन्द्र सी ले पुरानै कुरामा नअल्झिकन माक्र्सवादको विकासमा ध्यान दिनु पर्ने बताउनु भयो ।कार्यक्रममा संस्थाका अध्यक्ष खेम नारायण ढुङगानाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । नेकपाका उपाध्यक्ष शम्भु कट्टेलले स्वागत गर्नु भएको थियो र नेकपाका सचिवालय सदस्य कृष्णहरी भट्टले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।कार्यक्रममा शहिदहरुप्रति १ मिनेट मौनधारण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित