गोरखा, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु भएको बताउनुभएको छ ।
गोरखाको हर्मीमा पन्थडिही–कटहरे–हर्मी–साहिलटार सडक स्तरोन्नति कार्यको आज शिलान्यास गर्दै उहाँले विश्वासको मत लिएसँगै सरकारलाई पूर्णता दिन छलफल सुरु भइसकेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारलाई पूर्णता दिन नेपाली कांग्रेसलगायत अन्य दलसँग छलफल भइरहेको जानकारी दिनुभयो । “हिजोदेखि फेरि एउटा राजनीतिक वातावरण बनेको छ, लय पक्रिएको छ”, उहाँले भन्नुभयो, “सदनमा रहेका झन्डै ११ पार्टीको विश्वासको मतसहित अब छिट्टै हामी सरकारलाई पूर्णता दिने प्रक्रियामा छाैँ ।”
उहाँले प्रदेशका सरकार पनि तत्काल पुनःगठन हुने बताउनुभयो । “सबै प्रदेशमा आलोपालो प्रणालीबाट सरकारको नेतृत्व गर्ने गरी सबै प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा छौँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनताका विकास, निर्माण र समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न एकीकृतरुपमा काम अगाडि बढाउने योजनासहित तीनवटै तहका सरकारबीच बृहत् बैठकको आयोजनासमेत गर्न लागिएको छ ।”
Comments