बर्दिबास । रक्तिम सांस्कृतिक अभियान केन्द्रीय कार्यालयको आयोजनामा रक्तिमको ३७ औं स्थापना दिवस मनाइएको छ । रक्तिमका संस्थापक अध्यक्ष जीवन शर्माको प्रमुख आतिथ्यतामा २०७९ चैत्र २६ गते महोत्तरी जिल्लाको बर्दिबासस्थित दिपक पार्टी प्यालेसको सभाहलमा रक्तिमको ३७ औ स्थापना दिवस मनाइएको हो ।
समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै वरिष्ठ जनगायक जीवन शर्माले सङ्गीत अभियात्रासँगै रक्तिमको प्रवाह पनि अघि बढिरहेको देख्न पाउँदा आफुलाई खुशी लागेको बताए । प्रगतिपथको यात्रामा आइलाग्ने विभिन्न बाधा र चुनौतीहरुको रक्तिमले साहसपूर्वक सामना गर्दै आएको स्मरण गराउदै शर्माले सर्वहारा वर्गीय पक्षधरतामा अबिचलित रहदै रक्तिम अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।
समारोहमा वरिष्ठ जनगायक उदय श्रेष्ठ र ओम श्रेष्ठ, रक्तिमका पुर्व उपाध्यक्ष एवं जनवादी गीतकार, सङ्गितकार र गायक चिरन सि र जनवादी गायक मोहित श्रेष्ठको समेत आतिथ्यता रहेको थियो । रक्तिम स्थापना दिवसका अवसरमा शुभकामना ब्यक्त गर्दै उनीहरुले रक्तिम आफ्नो स्थापना कालको आदर्शलाई आत्मसाथ गर्दै अविचलित रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए । रक्तिमको ३७ औ स्थापना दिवसको सो कार्यक्रम रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माको अध्यक्षता, महासचिव लक्ष्मी रिजाल “उदय” को संचालन र कोषाध्यक्ष डमर भण्डारीको स्वागत मन्तव्यमा अघि बढेको थियो ।
समारोहमा जनवादी गायक एवं कलाकारहरु लक्ष्मण पाख्रिन, रेष्मी मगर, सन्ध्या जिएम, कविता पुन, अनु शर्मा, आकृति भण्डारी, लक्ष्मी केसी र कुबेर सि लगायतको समेत आतिथ्यता रहेको थियो । चैत्र २६ गते रक्तिम साँस्कृतिक अभियान स्थापना गरिएको दिन हो । आज भन्दा ३६ वर्ष पहिले अर्थात २०४३ चैत्र २६ गतेका दिन काठमाडौंको घण्टाघरको प्राङ्गणमा सम्पन्न जनसङ्गितकर्मीहरुको जमघटले जीवन शर्माको नेतृत्वमा रक्तिम सांस्कृतिक अभियानको ९ सदस्यीय समिति गठन गरेको थियो ।