हरियाण । भारतको हरियाणा राज्य अन्तर्गत फरिदावाद सर्मिक बिहारमा सडक दुर्घटनामा परी घाइते भएका नेपाली बालकको मृत्यु भएको छ ।
अर्घाखाँची मालारानी गापा–६ घर भई हाल भारतको हरियाना राज्यको फरिदाबादमा बस्दै आएका १३ वर्षिय ८ कक्षामा अध्ययनरत विकासलाई ८ अप्रिलमा पिकअप भ्यानले ठक्कर दिंदा दुर्घटना भएको थियो । दुर्घटनाबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो ।
दुर्घटनापछि उनलाई बेहोसीको अवस्थामा बिके अस्पताल फरिदावाद लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि डाक्टरले उनलाई रिफर गरेको थियो । त्यसपछि उनलाई दिल्लीको एक प्राइभेट हस्पिटलमा उपचार गराइएको थियो । प्राइभेट हस्पिटलले १२ घण्टा उपचार गरेपछि उनलाई नयाँ दिल्लीको सफलतजंग अस्पताल लगिएको थियो । अप्रिल १० तारिखका दिन अस्पतालमै बालक मृत्यु भएको छ ।
बालकको मृत्यु पछि अखिल भारत नेपाली एकता समाजले एक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । श्रद्धाञ्जली सभामा बालकका बाबु विशाल र आमा बिमला, अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य नारायण शर्मा, नगर अध्यक्ष बिनिमाधब पौडेल, उपाध्यक्ष केबल बहादुर बुडाथोकी, सहसचिव बिरुचन्द, सदस्य हरिबहादुर, मूल प्रवाहबाट नगर अध्यक्ष बाबुराम बिष्ट, मान्सिङ बिष्ट, धर्म खनालका साथै शोकाकुल परिवारका आफन्तजन, छिमेकीको समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा बालक प्रति एक मिनेट मौनधारण गरिएको थियो । – नारायण शर्मा