छैटौँ चौँरी महोत्सव सम्पन्न

पाँचथर । परम्परागत चौँरीपालन पेसाको संरक्षण तथा चौँरीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजना हुने गरेको चौँरी महोत्सव सम्पन्न भएको छ । विसं २०७४ देखि आयोजना हुन थालेको महोत्सव यसवर्ष फालेलुङ गाउँपालिका–४ चार रातेको नेपाल–भारत सीमा क्षेत्रमा आज सम्पन्न भयो ।

दुई दिने महोत्सवमा विशेषतः चौँरी र चौँरीजन्य उत्पादन, संस्कृति र परम्पराको प्रदर्शनी, उच्च पहाडी क्षेत्रका उत्पादन तथा परम्परा झल्काउने प्रयास गरिएको थियो । विश्वका सात वटा राष्ट्रमा मात्रै पाइने चौँरीको संरक्षण तथा नेपालमा परम्परागत रुपमा गोठ सार्दै चौँरी पालन गर्ने परम्पराको सम्वद्र्धन गर्ने अभिप्रायसहित आयोजकले महोत्सव सञ्चालन गर्ने गरेका छन् ।

यसवर्षको महोत्सवमा नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रका गोठबाट भेला गरिएका विभिन्न प्रजातिका करिब पाँच सय चौँरी र याकको प्रदर्शनी, नश्ल सुधारका लागि भुटानबाट ल्याइएका याकको प्रदर्शनी, चौँरीबाट उत्पादित र फालोट क्षेत्रका सामग्रीको प्रदर्शनी महोत्सवका मुख्य आकर्षण रहेका थिए । यस अतिरिक्त फालोट क्षेत्रमा पाइने जडीबुटी, यहाँका बासिन्दाले उत्पादन गर्ने स्थानीय खाद्य परिकार, भेडाको ऊनबाट निर्मित सामग्रीसमेत प्रदर्शनी र बिक्रीका लागि राखिएका थिए ।

पर्यटकको आकर्षणका लागि गोठ बास (गोठ–स्टे)को अनुभव, चौँरीपालन गर्ने उत्कृष्ट पालकलाई सम्मान, उच्च पहाडमा साहसिक पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र हिमालय बाइकिङलगायत कार्यक्रम आयोजना गरिएको आयोजक फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिए ।

फालेलुङ गाउँपालिकाको मुख्य आयोजना र फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवद्र्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजङ्घा चौंँरीपालन तथा संरक्षण संस्थाको सहआयोजनामा महोत्सव सम्पन्न भएको हो । सो अवसरमा महोत्सवका प्रमुख अतिथि सहरी विकासमन्त्री सीता गुरुङले हिमालय बाइकिङ सडकको शिलान्यास गरे ।

उक्त सडक २० किलोमिटर लामो हुने उपाध्यक्ष जबेगूको भनाइ छ । महोत्सवमा विशेषतः स्थानीय पर्यटकको उपस्थिति बाक्लो हुने गर्दछ । यसवर्ष मुलुकका विभिन्न जिल्लासहित छिमेकीमूलुक भारत र भुटानबाटसमेत महोत्सवमा रमाइलो गर्न पर्यटक आएका महोत्सवको सहआयोजक दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिए । पाँचथरमा नेपाल–भारत सीमा क्षेत्रको करिब ४५ किलोमिटर क्षेत्र पर्दछ ।

केही समय हिउँले पनि ढाकिने सीमाबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन, चैत र वैशाक महिनामा गुराँस र चाँपका फूलको मनमोहक दृश्य देख्न सकिन्छ । बहुमूल्य जडीबुटी, वन्यजन्तु तथा पक्षी र सम्पदाले भरिएको यस क्षेत्रको ब्यापक खोज र अध्ययन भने हुनसकेको छैन् । पर्यटन विकासका लागि भने गोठबास निर्माण, अतिथि गृह निर्माण, सडक निर्माणजस्ता कार्य अघि बढेका छन्, जसले पर्यटकको यात्रालाई सहज बनाउन मद्दत गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित