बुटवल । अखिल नेपाल शिक्षक संघको राष्ट्रिय भेला वैशाख ५ गते रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै भेलाका प्रमुख अतिथि तथा नेकपा (मशाल) का महासचिव सन्तबहादुर नेपालीले भन्नुभयो–“कम्युनिस्ट पार्टी अहिले दुई खेमामा विभाजित छ । एक, यही व्यवस्था जोगाउने र दोस्रो, यो व्यवस्थाको विकल्पमा विश्वास गर्ने । क्रान्तिकारी शिक्षकहरु यो व्यवस्थाको विकल्पमा जानुपर्छ । सामाजिक व्यवस्था प्रतिकुल छ तर त्यही प्रतिकुलतामा संघर्ष गर्दै त्यसलाई अनुकुलतामा बदल्ने साहस गर्नु पर्छ । संघर्षबाट अगाडि बढ्यौं भने मात्रै हामी स्थापित हुन सक्छौं । यदि संघर्षबाट पलायन भयौं वा हामी निरास भएर संघर्षबाट पछि फक्र्यौं भने हामी हराउने छाँै। अब हराउने होइन स्थापित हुन संघर्षको बाटोमा अगाडि बढांै।”
भेला सफलताको शुभकामना दिनेहरुमा नेकपा (मशाल) का पिविएम एवं विशिष्ट अतिथि कृष्णराज पौडेल, अखिल नेपाल युवक संघका महासचिव बाबुराम आचार्य, अखिल नेपाल टे«ड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सचिव दयाराम खनाल, अखिल नेपाल किसान महासंघ रुपन्देही जिल्ला संयोजक नरबहादुर थापा लगायतले शुभकामना दिनु भएको थियो ।
विशेष राष्ट्रिय भेलाको अध्यक्षता भेला आयोजक समितिका संयोजक नरेन्द्रबहादुर थापा, संचालन दलबहादुर खत्री, स्वागत बोमबहादुर बुढाले गर्नुभएको थियो । सहिदहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो ।
भेलाले ११ सदस्यीय केन्द्रीय समिति तथा पाँच सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ । जसमा केन्द्रीय समितिमा दुई स्थान रिक्त र सल्लाहकार समितिमा एक स्थान रिक्त राखिएको छ । समितिको अध्यक्ष नरेन्द्रबहादुर थापा, उपाध्यक्ष दलबहादुर खत्री, महासचिव भरतबहादुर सुनार, कोषाध्यक्ष बोमबहादुर बुढा र महिला उपाध्यक्ष लक्ष्मी बस्याल रहनु भएको छ । समितिको ससदस्यहरुमा विश्वास पौडेल, हिरोहित पौडेल र जीवन घर्ती रहनुभएको छ । समितिको सल्लाहकारहरुमा कमला गैरे, लोकेन्द्र निरासी, कमल भूसाल र गोविन्द वि.क रहनुभएको छ ।
विशेष राष्ट्रिय भेला आयोजक समितिका संयोजक नरेन्द्र बहादुर थापाद्वारा प्रस्तुत प्रतिवेदनमा आगामी कार्यक्रमबारे उल्लेख गरिएको छ । जसमा लेखिएको छ ः (क) राष्ट्रिय सम्मेलनको तयारीको लागि व्यापक संगठन निर्माण गर्न प्रयत्न गर्ने । (ख) राहतलाई दरबन्दीमा परिणत गरी शिक्षक स्थायीको लागि संघर्ष गर्ने । (ग) कक्षा ११, १२ मा अध्यापन गर्ने शिक्षक स्थायी गर्न संघर्ष गर्ने । (घ) विद्यालय कर्मचारी स्थायी गर्न पहल गर्ने ।
(ङ) बालविकासका सहयोगी कार्यकर्तालाई शिक्षकमा परिणत गर्न संघर्ष गर्ने ।
(च) संस्थागत विद्यालयका शिक्षकहरुलाई सामुदायिक विद्यालयका शिक्षक सरह तलव कायम गर्न प्रयत्न गर्ने । (छ) शिक्षा ऐन २०२८ लाई अविलम्व परिमार्जन गरी समयानुकूल शिक्षक हित र शिक्षा व्यवस्थापनको पक्षमा लैजान संघर्ष गर्दै गुणस्तरीय शिक्षा कायम गर्न प्रयत्न गर्ने ।