बागलुङबजार । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको मूल नेतृत्वले दक्षिणपन्थी नीति लिएपछि ती पार्टी भित्र ठाउँ ठाउँबाट निरन्तर विद्रोहका आवाजहरु उठिरहेका छन् । आफैले दस्तावेजमा वर्गशत्रु घोषणा गरेको नेपाली कांग्रेससँग आगामी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय मसाल र राजमो नेतृत्वले गरेपछि विद्रोहको त्यो सिलसिला मसाल र राजमोभित्र झनै तेज गतिले अगाडि बढिडरहेको छ । यही सिलसिलामा पार्टी केन्द्रको दक्षिणपन्थी नीतिका विरुद्धमा निरन्तर संघर्षरत रहेका बागलुङ ढोरपाटनका राष्ट्रिय जनमोर्चाका स्थानीय नेता कार्यकर्ताहरुले सयौं जनताको उपस्थितिमा बृहत भेला सम्पन्न गरेका छन् ।
ढोरपाटन नगरपालिका स्तरीय उक्त अगुवा कार्यकर्ता बृहत भेला २०७८ चैत्र १२ गते बुर्तिबाङमा सम्पन्न गरिएको हो । भेलाले आसन्न स्थानीय तहको निर्वाचन सम्बन्धि विभिन्न नीति तथा निर्णयहरु पारित गरेको बताइएको छ ।राष्ट्रिय जनमोर्चा बागलुङकी जिल्ला सदस्य दुर्गादेवी घर्तीको प्रमुख आतिथ्यता उक्त भेला सम्पन्न भएको थियो । भेलालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन घर्तीले पार्टीभित्र सही र सत्य कुरा बोल्दा इमान्दार कार्यकर्ताहरुलाई पार्टी नेतृत्वले पाखा लगाउने काम गरेको बताइन । आफुहरु पार्टीभित्रै असन्तुष्ट र पीडित बन्नुपर्ने अवस्था सिर्जना भएको बताउँदै नेतृ घर्तीले आसन्न स्थानीय निर्वाचनमा जनताको भावना र विचारलाई कदर गर्दै निर्वाचनमा लाग्न सबैलाई आग्रह समेत गरिन । भेलाका विशिष्ट अतिथि एवं ढोरपाटन नगरपालिका वडा नं.४ का वडा अध्यक्ष तिलक पुनले राष्ट्रिय जनमोर्चाको केन्द्रिय नेतृत्व मण्डलीले पार्टीभित्रका इमान्दार कार्यकर्ताहरुलाई पार्टीभित्र फरक विचार राखेकै आधारमा विभिन्न झुटा आरोप लगाएर अनेकौं हर्कत गर्नुका साथै कार्वाही गरी किनारा लगाउन खोजेको बताए । उनले पार्टी संसदीय अवसरवादी प्रवृत्तिमा लिप्त भई दक्षिणपन्थी दिशातर्फ जान लागेकाले सच्चा र इमान्दार पार्टी कार्यकर्ताहरुले पार्टी नेतृत्वको स्वेच्छाचारी र गलत प्रवृत्तिलाई रोकी पार्टी पुनरनिर्माणमा लाग्नु पर्ने बेला आएको स्पष्ट पारे ।
भेलामा पार्टी संगठन र वर्तमान राजनीतिक अवस्थाको वारेमा ढोरपाटन नगरपालिकाका सबै वडाहरुको वडास्तरीय रिपोर्टिङ प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङकी सदस्य तारा कुमारी पुन, ढोरपाटन नगर कार्यपालिका सदस्य कमला छवी वि.क, वडा नं. २ का वडा सदस्य प्रेम चालिसे, शिक्षक मोर्चाको तर्फबाट बोम बहादुर बुढा, भीम पुन, साविक अधिकारीचौर गाविसका पूर्व उपाध्यक्ष भानसिंह बुढा, अखिल नेपाल युवक संघका जीवन घर्ती, तिलक बुढा लगायतले मन्तव्य राखेका थिए । भेलाले आगामी स्थानीय निर्वाचन सम्बन्धि नीति पारित गरेको छ । जसअनुसार निर्वाचनमा विजय हासिल गर्नका लागि स्थानीय अन्य राजनीतिक दलहरुसंग समेत तालमेल तथा गठबन्धन गरेर जान सक्ने र तालमेल हुन सक्ने स्थिति नआएमा मेयर र उपमेयर सहित एकल प्यानल समेत खडा गरेर उम्मेदवारहरु उठाउने निर्णय गरेको छ । भेलाले अन्य राजनीतिक दलहरुसंग चुनाबी गठबन्धनका लागि बार्ता र छलफलका लागि तिलक पुनको संयोजकत्वमा ३ सदस्यीय बार्ता टोली र तिलक पुनकै संयोजकत्वमा १७ सदस्यीय मूल निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । राष्ट्रिय जनमोर्चा ढोरपाटन नगर समितिका सदस्य धन बहादुर खत्रीको अध्यक्षता रहेको उक्त भेलामा तिलक बुढाको स्वागत मन्तव्य रहेको थियो ।
भेलामा राष्ट्रिय जनमोर्चा ढोरपाटन नगरपालिकाका १ सयभन्दा बढी अगुवा कार्यकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।स्मरणरहोस् राजमो र मसाल नेतृत्वले वडाअध्यक्ष तिलक पुन लगायतका नेता कार्यकर्ताहरुलाई आफूहरुसँग वैचारिक मतभेद राखेकै कारण विभिन्न झुठा मुद्दा लगाएको थियो । राजमो र मसालको क्रान्तिकारी लाइनप्रति प्रतिबद्ध रहेका जनप्रिय तिनै नेता तिलक पुनलाई “कांग्रेसमा गएको” भन्दै झुटा कपोकल्पित आरोप लगाएर राजमो नेतृत्वले निर्वाचन आयोगमा झुटा विवरण पेश गरेपछि आयोगले तिलक पुनको वडाअध्यक्ष पद खाली भएको सूचना जारी गरेको थियो । तर त्यसका विरुद्ध तिलक पुन सर्वोच्च अदालत पुगेर रिट दायर गरेपछि सर्वोच्चको अन्तरिम आदेशबाट उनको पद पुनस्र्थापित भएको थियो र अहिले पनि पुनले वाडा अध्यक्षको जिम्मेवारी निभाइरहेका छन ।

