काठमाडौं । राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिएसँगै सत्ता गठबन्धनबाट बाहिरिएको घोषणा गरेको राष्ट्रिय जनमोर्चा स्थानीय निर्वाचन नजिकिंदै गएसँगै पुनः पाँच दलीय गठबन्धनमा सामेल भएको छ । राष्ट्रिय जनमोर्चा गठबन्धनमा सामेल मात्र भएको छैन, पाँच दलीय गठबन्धनले गठन गरेको कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको “स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समिति” मा समेत बसेको छ । राजमोका सचिव हिमलाल पुरी सो समितिको सदस्य बनेका छन् ।
सत्ता गठबन्धनको २०७८ चैत्र २२ गते विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो समिति गठन गरेको थियो । समितिमा सत्ता गठबन्धनमा रहेका पाँच दलका प्रतिनिधि नेताहरु सदस्य रहेका छन । समितिमा कांग्रेस बाट महामन्त्री गगन थापा र सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा (एकीकृत समाजवादी) बाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जनता समाजवादी पार्टी बाट नेता अशोक राई र नेतृ रेनु यादव र राष्ट्रिय जनमोर्चा बाट सचिव हिमलाल पुरी सदस्य रहेका छन् ।
स्मरणरहोस् संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको थियो । २०७८ फागुन १६ गते राजमो अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गर्दै राजमो ५ दलीय गठबन्धनबाट अलग भएको घोषणा गरेका थिए । तर अहिले पाँच दलीय गठबन्धनको बैठकहरुमा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल मुुख्य नेताका रुपमा सहभागी हुँदै आएकी छिन् । नेतृ पौडेल नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहकी पत्नी समेत हुन । गठबन्धनबाट अलग हुँदा अध्यक्ष केसीको नामबाट वक्तव्य आउनु र फेरि सामेल हुँदा उपाध्यक्ष पौडेलको सहभागिता देखिनुले मसाल नेतृत्वको दोहोरो चरित्र छरप्रष्ट भएको त छ नै साथै गठबन्धनबाट अलग भएको घोषणा कार्यकर्ताको आँखामा छारो हाल्ने प्रयास मात्र थियो भन्ने पनि स्पष्ट भएको छ । अझ रोचक कुुरा त के छ भने–राष्ट्रिय जनमोर्चाको मातृ पार्टी नेकपा (मसाल) ले आफ्नो आठौं महाधिवेशनबाट पारित राजनीतिक दस्तावेजमा नेपाली कांग्रेसलाई प्रतिक्रियावाद वर्गदुश्मनको कित्तामा राखेको छ । तर अहिले आफुले वर्गदुश्मन घोषणा गरेको त्यही पार्टीसँग घाँटी जोडेर उसैको नेतृत्वमा राजमो चुनावी गठबन्धनमा सामेल हुन पुगेको छ । यसबाट मसाल नेतृत्व संसदीय मोहजालको दक्षिणपन्थी तलाउमा कतिसम्म डुबिसकेको रहेछ भन्ने थप प्रष्ट भएको छ । अहिले पाँच दलको निर्वाचन परिचालन तथा अनुगमन समितिमा राजमोको संलग्नतालाई दक्षिणपन्थी तलाउमा मसाल नेतृत्वको डुवानको पछिल्लो उदाहरणका रुपमा लिन सकिन्छ ।