काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टीगत रुपमा चुनावमा भाग लिने प्रष्ट निर्णय अझै गर्न सकेको छैन । तर पाँच दलीय गठबन्धनको देउवा सरकारले ‘विप्लव समूहलाई निर्वाचनमा सहभागी गराउने’ बहानामा स्थानीय निर्वाचनको मिति सार्ने चलखेल गर्न थालेको छ ।
पाँच दलीय गठबन्धनको एक घटक नेकपा (एकीकृत समाजवादी) का नेता माधव नेपालले चुनावको मिति सार्न सकिने प्रष्ट संकेत गरेका छन् ।
नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा स्थानीय तहको चुनावमा सहभागी भए चुनाव सार्न सकिने बताएका छन् ।

पर्वतमा २०७८ चैत्र २८ गते भएको कार्यक्रमपछि सञ्चारकर्मी सँग नेता नेपालले भनेका छन्– ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् ।
विप्लवजी आउनुभयो भने हाम्रै निर्णयले रोकिएको रहेछ भने गठबन्धनका सबै साथीहरु तयार हुनुहुन्छ । विप्लव समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ ।’ विप्लव नेकपाले चुनाव स्थगित गर्न माग गरिरहेका बेला अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु मुलुककै लागि फाइदाजनक भएको दाबी गरे ।