* बुटवल उपमहानगरको मेयरमा बाबुराम आचार्य र उपमेयरमा डिला रेग्मी * कंचन गाउपालिकाको अध्यक्षमा दिपक पौडेल * जिल्लाभरिमा १४ उम्मेदवार
बुटवल । राष्ट्रिय जनमोर्चा जिल्ला समन्वय समिती रुपन्देहीले बुटवल उपमहानगर सहित जिल्लाका विभिन्न स्थानिय तहहरुमा आफ्ना उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएको छ । जस अनुसार राजमो केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य युवा नेता बाबुराम आचार्य (डिल्लीप्रसाद पाध्य) बुटवल उपमहानगर पालिकाको मेयरमा उम्मेदवारी दिएका छन् । बुटवल उपमहानगरको उपमेयरमा राजमो समन्वयका तर्फबाट युवा वाम नेता डिला रेग्मी उम्मेदवार बनेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नरबहादुर थापा र उपमेयरमा भिमबहादुर कुँवरले उम्मेदवारी दिएका छन् ।
यसैगरी रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा समन्वयका युवा नेता दिपक पौडेल उम्मेदवार बनेका छन् ।राजमो रुपन्देही जिल्ला समन्वय समितिले २०७९ वैशाख १२ गते एक प्रेस वक्तव्य जारी गर्दै जिल्लाका विभिन्न स्थानीय तहहरुको लागि आफ्ना उम्मेदवारले उम्मेदवारी दर्ता गराएको जनाएको छ । अध्यक्ष नरबहादुर थापाद्वारा जारी उक्त विज्ञप्तीमा जनाइए अनुसार राजमो समन्वय समितिले रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नम्बर १ मा पूर्णसिंह सुनारलाई वडा अध्यक्ष, देवेन्द्र आचार्य र प्रकाश सुवेदीलाई खुल्ला सदस्यमा उम्मेदवार बनाएको छ ।
त्यस्तै कञ्चनकै वडा नं. २ मा गंगाधर पौडेललाई वडा अध्यक्षमा, वडा नम्बर ३ मा मनिराम सापकोटालाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ भने भिमबहादुर सिजापति र चतुराखर आचार्यलाई खुल्ला सदस्य र टिका थापालाई महिला सदस्यमा उम्मेदवार बनाएको छ । कञ्चन गाउँपालिकाको ४ नम्बर वडामा डिलमाया फौजाले राजमो समन्वयको तर्फबाट खुल्ला सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् ।