विरेन्द्रनगर । कालिकोटका स्थानीय तहहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा पनि चुनावी मैदानमा उत्रिएको छ । गत स्थानीय तथा संघ र प्रदेशको चुनाव ससमेत बहिष्कार गरेको विद्रोही नेकपाले यसपटक स्वतन्त्र रुपमा स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ता गरेको छ । कालीकोटका नौवटै पालिकामा विद्रोही नेकपाका नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कालिकोटका स्थानीय विप्लवका केन्द्रीय सदस्यदेखि पूर्व संविधानसभा सदस्यहरूसमेत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा एटम विसी र उपाध्यक्षमा कलशा विकले उम्मेदवारी दर्ता गराएका छन् । विसी सो पार्टीका केन्द्रीय सदस्य हुन् भने विक सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माकी भाइबुहारी हुन् ।
रास्कोट नगरपालिकामा धिरान्दा उपाध्याय र उपप्रमुखमा फुलटौरा विकले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्याय २०६४ सालको संविधानसभाको सदस्य हुन् ।
यस्तै खाँडाचक्र नगरपालिका प्रमुखमा हस्त विक, तिलागुफा नगरपालिकामा रमेश चदारा प्रमुखमा र उपप्रमुखमा धनराज शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।
पचालझरना गाउँपालिका अध्यक्षमा नेकपा जिल्ला सचिव मनिलाल ऐडीले, विनीत सिंह तिरुवाले उपाध्यक्ष, पलाता गाउँपालिकामा पदम विक अध्यक्ष, महावै गाउँपालिकामा धनबहादुर सिंह, शुभकालिका गाउँपालिकामा मनिश विक र सान्नी त्रिवेणी गाउँपालिमामा रुपसिंह बोहोरा उम्मेदवारी दिएका छन्नु । चुनावलाई उपयोग गरेर जाने नीतिअनुसार नै उम्मेदवारी दिएको जिल्ला सचिव मनिलाल ऐडीले बताए । कालीकोट विद्रोही नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माको गृहजिल्ला हो ।