काठमाडौं । नेपालको विद्यार्थी आन्दोलन तथा जनतान्त्रिक आन्दोलनमा शहिद मित्रमणि आचार्य कहिल्यै विर्सन नसकिने नाम हो । जुन आस्था र विचारका निम्ति मित्रमणिले आफ्नो प्राणको आहुति दिएका थिए । त्यही विचारलाई अभिभावकत्व प्रदान गर्दै आएको राजनैतिक नेतृत्वले वर्ग वैरीसँग घाँटी जोडेर चुनावी मैदानमा कुदिरहेको वर्तमान परिवेशमा शहिद मित्रमणिको स्मृति ती पार्टी र संगठनहरुले कसरी गर्लान् भन्ने जनचासो बढेको छ ।
वैशाख १८ गते मित्रमणि दिवस आउँदैछ । २०४२ साल वैशाख १८ गते विद्यार्थी नेता मित्रमणि आचार्यलाई कांग्रेसी गुण्डा र पंचायती व्यवस्थाको मिलेमतोमा चितवनको पर्साढापमा क्रुरतापूर्वक हत्या गरिएको थियो । अहिले कतिपय वामपन्थी बताउने समूहले मित्रमणिको हत्या गरेको त्यही कांग्रेसी समूहसँग सत्ता स्वार्थको लागि चुनावी तालमेल गरिरहेका छन् । यस स्थितिमा उनीहरुले कुन रुपमा मित्रमणि दिवस मनाउने होलान् भनेर चासोका साथ हेरिएको छ ।
२०४६को जनआन्दोलनपछि प्यूठानको विजुवार बजारमा सहिद मित्रमणिको शालिक स्थापना गरिएको थियो । त्यसरी नै २०६७ साल माघ १६ गते सहिद दिवसका दिन अखिल (छैठौं) को आयोजनामा चितवनस्थित रामपुर कृषि कलेजमा सहिद मित्रमणिको शालिक अनावरण गरिएको थियो । मित्रमणि आचार्यले अध्ययन गरेको रुपन्देही पक्लिहवा कृषि कलेजमा प्रगतिशील विद्यार्थी संगठनहरुले “मित्र भित्ते पत्रिका” चलाएका थिए । प्यूठान विजुवारस्थित शालिकलाई उचित संरक्षण र मर्मतको आवश्यकता छ । यता पूर्व विद्यार्थी नेता माधव पौडेलले बताए अनुसार चितवन रामपुरको शालिकलाई पुनः मर्मत सम्भार गर्नुपर्ने आवश्यकता छ । प्रत्येक वर्ष अखिल (छैठौं) ले वैशाख १८ गते दुवै शालिकमा गएर माल्यार्पण गर्दै आएको छ ।
यसपटक मित्रमणि दिवसका दिन पनि राजनैतिक दलहरु चुनावी प्रचारप्रसारको चटारोमा हुनेछन् । जति व्यस्ततामा भए पनि शहिद मित्रमणिले देशको जनतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई आफूलाई कम्युनिस्ट बताउने ती दलहरुले नबिर्सिउन –हाम्रो चासो त्यही हो ।