काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य चुनावका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिसकिएको जनाएको छ ।
आयोगका अनुसार मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न अझै बाँकी रहेको छ । निर्वाचन आयोगले ३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भएको समेत जनाएको छ ।
आयोगले आचारसंहिताको प्रावधानविपरीत उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न आग्रह गरेको छ । ‘गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्षरुपमा असर पार्ने गलत सामग्री सामाजिक सञ्जालमा पोष्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आँच पुग्न सक्ने भएकाले यस्ता प्रकृतिका काम नगर्न नगराउन आयोग चेतावनी दिन्छ’ आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।