काठमाडौं । नेकपा (मसाल)का महामन्त्री मोहन बिक्रम सिंहले पार्टी प्रशिक्षणहरुमा र प्रवक्ता रामप्रकाश पुरीले एक अनलाइनमा लेख मार्फत “राजमो समन्वय समितिले चुनाबमा राजावादीहरुसँग तालमेल गरेको” भनी दिएको अभिव्यक्ति प्रति राजमो केन्द्रीय समन्वय समितिका सचिवालय सदस्य तथा बुटवल उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार रहेका बाबुराम आचार्यले आपत्ति प्रकट गरेका छन ।
आचार्यले एक प्रेस वक्तब्य नै प्रकासित गरेर महामन्त्री सिंह र प्रवक्ता पुरीको उक्त अभिव्यक्तिको निन्दा गरेका छन । चुनाबमा दुई चार सिट जित्नैको लागि वर्ग शत्रुसँग मिल्ने आफ्नो महाअपराधबाट कार्यकर्ताको ध्यान अन्यत्र मोड्न मसाल नेतृत्वले त्यसरी झुठको सहारा लिएको आचार्यद्वारा जारी बक्तब्यमा उल्लेख गरिएको छ ।
राजमो समन्वयका नेता तथा बुटवल उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार रहेका बाबुराम आचार्य द्वारा २०७९ बैशाख १९ गते जारी उक्त बक्तब्यमा अगाडि भनिएको छ – “स्थानीय तहको निर्वाचनको सन्दर्भमा मसालका महामन्त्री मोहन बिक्रम सिंहले आन्तरिक प्रशिक्षणहरुमा र प्रवक्ता रामप्रकाश पुरीले आफ्नो लेख मार्फत् यो कुरा बताइरहेका छन कि – “राजमो समन्वय समितिले राजावादीहरुसँग निर्वाचनमा तालमेल गर्ने नीति लिएको छ ।” उहाँहरूको त्यो अभिव्यक्तिले स्वयं मसाल भित्रका क्रान्तिकारी कार्यकर्ताहरुमा र आम मतदाताहरुमा भ्रम सिर्जना गरेको छ । यसर्थ उहाँहरुद्वारा सृजित उक्त भ्रमबारे प्रष्ट पार्न यो वक्तब्य जारी गरिएको छ ।
१, सर्वप्रथम हामिले यो स्पष्ट पार्न चाहान्छौ कि – राष्ट्रघाती एमसिसी सम्झौताका विरुद्ध राजावादी शक्तिहरु समेत सँग मिलेर हामी आन्दोलनमा गएको कुरा सत्य हो । राष्ट्रघाती एमसीसी पक्षधर गठबन्धनको तुलनामा त्यो आन्दोलनमा राजावादी शक्तिहरुको भुमिका सकारात्मक र स्पष्ट विपक्षमा भएको कुरा प्रष्ट थियो । त्यसकारण नै त्यो एमसीसी बिरुद्धको आन्दोलनमा हामी सङ्गै थियौ । तर स्थानीय निर्वाचनका सन्दर्भमा हामीले आफ्नो नीति स्पष्ट पारिसकेका छौ – प्रतिक्रियावादी, प्रतिगामी र बिखण्डनबादी शक्तिसँग हाम्रो कुनै तालमेल हुनेछैन । त्यसकारण स्थानीय निर्वाचनमा हाम्रो कुनै पनि ठाउँमा राजावादी शक्तिहरुसँग तालमेल वा सहकार्य भएको छैन र हुने सम्भावना समेत छैन । किनकी त्यसरी तालमेल गर्ने हाम्रो नीतिनै छैन । हाम्रो नीति स्पष्ट छ – यो निर्वाचनमा प्रतिक्रियावादी , प्रतिगामी, विखण्डनवादीसँग तालमेल हुन नसक्ने र देशभक्त तथा जनतन्त्रिक शक्तिहरुसँग आवद्ध रहेका जनपक्षीय उम्मेदवारहरु सङ्ग तालमेल हुन सक्नेछ । यसरी हाम्रो नीति स्पस्ट हुँदाहुँदै पनि तथ्यहरुलाई तोडमोड गरेर कमरेड एमबी र पुरीले जुन भ्रम सिर्जना गर्न खोजेका छन त्यो निन्दनीय छ र म त्यो भ्रम प्रति खेद एवं निन्दा व्यक्त गर्न चाहान्छु ।
२, अहिले स्थानीय निर्वाचनको सन्दर्भमा एमबी सिंहको मसालले नेपाली काङ्ग्रेससँग गठबन्धन र चुनाबी तालमेल गरेको छ । कार्यकर्ताहरुलाई नेपाली काङ्ग्रेसको झण्डा बोकेर प्रचारमा लगाइएको छ । आफैले दस्ताबेजमा वर्गशत्रु घोषणा गरेको नेका सङ्ग एमबिको मसालले गरेको चुनाबी तालमेलले मसाल भित्रका एकथरी कार्यकर्ताहरुलाई रुष्ट बनाएको छ । ती कार्यकर्ताहरुको रुष्ठतालाई मत्थर पार्न मसाल नेतृत्वले बिद्रोही समुहको बदनाम गर्ने हथकण्डा अपनाउनु निकै दुखद पक्ष हो । चुनाबमा दुई चार सिट जित्नैका लागि वर्ग शत्रु सङ्ग मिल्ने आफ्नो त्यो महाअपराधबाट कार्यकर्ताको ध्यान अन्यत्र मोड्न मसाल नेतृत्वले त्यसरी झुठको सहारा लिएको कुरा प्रष्ट छ ।
३ ) बुटवल नगरमा हामी मसाल र राजमो समर्थक मतदाताहरुसँग सविनय अनुरोध गर्छौ कि – बुटवलमा राजमोले आफ्ना छुट्टै उम्मेदवार उठाएको छैन । त्यसकारण आफ्नो अमुल्य मत राष्ट्रघाती एमसिसी पक्षधर गठबन्धन, प्रतिगामी र बिखण्डनवादीहरुको विपक्षमा बिद्रोही जनमोर्चाका उम्मेदवारहरुको पक्षमा दिन हामी अनुरोध गर्दछौ ।
बुटवल उपमहानगरपालिकामा राजमो बिद्रोही अर्थात राष्ट्रिय जनमोर्चा समन्वय समितिका तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी परेको छ । उनीहरुको चुनाव चिन्ह पुतली रहेको छ । यसर्थ पुतली चिन्हमा मतदान गरेर आफुलाई राष्ट्रघाती एमसीसीको विपक्षमा उभ्याउन हामी मसाल तथा राजमो समर्थक र देशप्रेमी आम मतदाताहरुमा हार्दिक अपिल गर्दछौं ।”