काठमाडौं । मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद नेपालमा हर्षोल्लासका साथ मनाइएको छ । कोभिड महामारीका कारण प्रभावित बनेको ईद पर्व २०७९ वैशाख २० गते दुई वर्षपछि हर्षोल्लासका साथ मनाइएको हो । समूहमा मनाइने यो पर्व विगत दुई वर्षदेखि कोभिड महामारीका कारण मुस्लिम समुदायहरुले मनाउन पाएका थिएनन् । यो वर्ष कोभिड सामान्य भएसँगै २० वैशाखमा एक आपसमा खुसी साटासाट गरी काठमाडौं, भैरहवा लगायत देशका विभिन्न स्थानहरुमा ईद (इदुल फित्र) मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाएका छन् ।
ईद मुस्लिम समुदायको पवित्र महिना तथा कुरआन अवतरण भएको महिना रमजान (रोजा) सकिएपछि मनाइने पर्व हो । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । सरकारले इदको अवसरमा २० वैशाखमा सार्वजनिक बिदा दिएको थियो ।