काठमाडौं । नेकपा (मसाल) केन्द्रीय समन्वय समिति र राजमो केन्द्रीय समन्वय समिति समेत सम्मिलित रहेको ९ दलिय मोर्चामा आबद्ध राजनैतिक दलहरुले वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा परस्पर सहकार्य र सहयोग गर्ने भएका छन् ।
संयुक्त क्रान्तिकारी मोर्चा नेपालका तर्फबाट नेकपा (मसाल) केन्द्रीय समन्वय समितिका संयोजक सन्त बहादुर नेपाली, राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, माओवादी आन्दोलनका नेता नारायण शर्मा, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल कम्युनिस्ट पार्टी (मालेमा केन्द्र) का अध्यक्ष लक्ष्मण उप्रेती, नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) का अध्यक्ष राजु कार्की, नेकपा माक्र्सवादी (पुष्पलाल) का वरिष्ठ नेता अच्युतराज ज्ञावाली, प्रगतिशील रुपान्तरण आन्दोलनका नेता एकलाल श्रेष्ठ र राष्ट्रिय जनसरोकार मोर्चाका संयोजक राजन तिमल्सिनाको संयुक्त हस्ताक्षरमा २०७९ बैशाख १६ गते जारी निर्वाचन सम्बन्धी अपिलमा उक्त कुरा जनाइएको छ ।
जारी उक्त संयुक्त अपिलमा यस सम्बन्धमा भनिएको छ – “हामी निम्न लिखित पार्टी, संगठन, संघसंस्था तथा व्यक्तित्वहरु यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा हामी मध्येका कुनै एक शक्तिले कुनै अर्को शक्तिसँग सहकार्य र सहयोग गर्नका लागि अनुरोध गर्दै आम मतदाताहरुले हाम्रा निम्नानुसारका नीति, मूल्यमान्यता र लक्ष्य–उद्देश्यहरुलाई आत्मसात गरेर हाम्रा उम्मेदवारहरुलाई मतदान गरी विजय गराउनको लागि यहाँहरुसमक्ष आत्मीय आह्वान गर्दछौं ।
१) संसदीय प्रणाली श्रमजीवि जनताको राजनीतिक प्रणाली होइन भन्ने कुरा सिद्धान्ततः मात्र होइन, व्यवहारतः हाम्रै देशको अनुभवले पनि पुष्टि गरेको छ । त्यसकारण नेपाली मजदुर किसान, साना व्यापारी, राष्ट्रिय पुँजीपति–उद्योगी लगायत देशभक्त, जनवादी, प्रगतिशील तथा वामपन्थी क्रान्तिकारी शक्तिहरु जनताको जनवादी अधिकारको प्राप्ति, राष्ट्रिय स्वाधीनताको रक्षा र जनजीविकाको सुनिश्चितताका निम्ति नयाँ जनवादी प्रणाली हुँदै समाजवादी शासन प्रणालीको प्राप्ति, संरक्षण र सम्बद्र्धनको लागि हुने संघर्षलाई अगाडि बढाउनै पर्ने भएको छ । हाल हुन गइरहेको स्थानीय निर्वाचन यही दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गतकै भएपनि आम जनतामा क्रान्तिकारी चेतना जगाउन, यो जनविरोधी दलाल संसदीय व्यवस्थाको भण्डाफोर गर्न र यसका विरुद्धमा व्यवस्थाभित्रैबाट समेत संघर्ष चर्काउन निर्वाचनलाई कार्यनीतिक रुपमा उपयोग गर्ने कुरा वर्तमान राजनीतिक परिस्थितिमा अत्यावश्यक छ । त्यसैले यो चुनावलाई क्रान्तिकारी उपयोग गर्ने नीति र कार्यक्रम आमूल परिवर्तनको संघर्षलाई अगाडि बढाउने माध्यम बन्न सक्छ भन्ने हामी ठान्दछौं । २) हालको देउवा नेतृत्वको दक्षिणपन्थी गठबन्धन सरकारले वाम नामधारी अवसरवादी एमालेको सहयोगमा चरम राष्ट्रघाती एमसीसी संसदबाट पारित गरेपछि देशको राष्ट्रियता र स्वाधीनता भयङ्कर धरापमा परेको छ । अमेरिकी साम्राज्यवादले आफ्नो सामरिक सुरक्षा स्वार्थको लागि हिन्द प्रशान्त रणनीति अन्तर्गत नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न अमेरिकालाई नेपालमा एमसीसी (ःऋऋ) पारित भएपछि बाटो खुलेको छ । त्यसबाट हाम्रो देशको असंलग्न परराष्ट्र नीति खारेज हुने र छिमेकी मित्रराष्ट्र चीनलगायतका देशहरुसँग हाम्रो देशको सम्बन्ध बिग्रने खतरा देखिएको छ । यो अवस्थामा राष्ट्रघाती दलालहरुलाई नेपाली जनताले पहिचान गरी निर्वाचनमा असफल पार्नुपर्छ र देशभक्त, जनतान्त्रिक तथा वामपन्थी र सच्चा कम्युनिस्ट शक्ति र व्यक्तिहरुलाई भोट दिएर विजयी गराउनु पर्छ । यसरी हामीले प्रतिक्रियावादी, प्रतिगामी र विखण्डनवादी तथा दलाल पार्टीहरुलाई नङ्गाउन र स्थानीय तहबाटै पराजित गर्दै जानुपर्छ । ३) हामी देशका वामपन्थी र क्रान्तिकारी पार्टी, संगठन, संस्था र व्यक्तिहरु तत्कालका लागि अस्तित्वमा अलग–अलग रहे पनि नेपालको कम्युनिस्ट तथा वामपन्थी आन्दोलनमा क्रियाशील र समर्पित रहँदै आएका छौं । हाल नेपालमा तीब्र गतिमा वामपन्थीहरुको गुणात्मक रुपले दक्षिणपन्थी दिशामा रुपान्तरण र पतनले नेपालको कम्युनिस्ट आन्दोलनमा ठुलो संकट र गत्यावरोध पैदा गरेको छ ! यो अवस्थाको सामना गर्न हामी सक्षम हुनु जरुरी छ । त्यसैले क्रान्तिकारी कम्युनिस्टहरुको एकीकरण, ध्रुवीकरण, शुद्धीकरण र सुदृढीकरण गर्दै क्रान्तिकारी पार्टी र आन्दोलनको पुनर्गठन गर्दै अगाडि बढ्न प्रयास गरिरहेका छौं । यस सन्दर्भमा आगामी निर्वाचनमा तपसिलमा उल्लेखित पार्टीहरुका उम्मेदवारहरु तथा विभिन्न दलहरुबाट विद्रोह गरी स्वतन्त्र उमेद्वार बनेका कतिपय स्वच्छ, स्वाभिमानी, जनसेवी, क्रान्तिकारी र देसभक्तहरुलाई विजयी गराउनका लागि हामी जोड दिन चाहन्छौं । त्यसका लागि जहाँ एउटा पदमा हामी मध्ये दुई वा त्यो भन्दा बढी उम्मेदवारी परेको छ, त्यहाँ सके सहमति गरी एउटालाई मतदान गर्ने, नसके मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने अनि जहाँ एउटा पदमा हामी मध्ये कुनै एक पार्टीको मात्र उम्मेदवारी परेको छ, त्यहाँ सबैले उसैको पक्षमा प्रचार–प्रसार गर्ने र तोकिएको चुनाव चिन्हमा मत दिएर विजयी बनाउनका लागि सहयोग गर्ने नीति लिएका छौं । तसर्थ तल उल्लेखित पार्टीका कार्यकर्ता तथा उम्मेदवारहरुले जिल्लामा आपसमा तत्काल भेटघाट र सहमति–समझदारी गरी यो नीतिलाई कार्यान्वयन गर्न–गराउनको लागि जोड दिन चाहन्छौं । यसरी हाम्रा सच्चा देशभक्त, जनवादी र क्रान्तिकारी उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी गराउन आम मतदाताहरुसित हामी हार्दिक अपिल गर्दछौं ।”