ढोरपाटन, १ साउन । आज साउन १ गते अर्थात साउनेसङ्क्रान्ति बागलुङका छन्त्याल तथा अन्य समुदायले ‘लुतो फाल्ने’ गर्दछन् । बिहानदेखि साँझसम्म चेलिबेटी बोलाउने र आफन्त जम्मा भएर मिठामिठा परिकार खाने, दु꞉ख–सुख साटासाट गर्ने र साँझ घर–घरमा लुतो फाल्ने चलन छ । पछिल्लो समय लुतो फाल्ने संस्कृति हराउँदै गएको स्थानीय बताउँछन् ।
बजार क्षेत्रमा प्रचलन हराइसके पनि बागलुङका केही गाउँमा भने अहिले पनि प्रचलन रहेको ढोरपाटन नगरपालिका–९ का ८१ वर्षीय खिमबहादुर पुनले बताए । युवामा पुस्ता हस्तान्तरण हुन नसक्दा यो संस्कृति हराउँदै गएक भन्दै बुढापाका चिन्तित बनेका छन् । आफूले सानैदेखि कला, संस्कृति तथा परम्परा सिकेको बताउँदै अहिलेका पुस्ताले कुनै पनि परम्परा संरक्षणमा चासो नदिँदा यस्ता संस्कृति र चलन हराउँदै गएको उनको भनाइ थियो ।
पहिलो साउने सङ्क्रान्तिको साँझ कुरिलो, लुतेझार, पानीसरो, कागभलायो, कुकुरडाइनो, रातपातेलगायत औषधीय गुण बोकेका वनस्पतिका र कागती, अमिलो बेलौतीलगायतका फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फाल्ने गरिए पनि अहिले त्यस्तो गर्न छोडिएको पुनले बताए । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, डम्फू बजाउने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन रहेकोमा पछिल्लो समयमा लुतो फाल्ने चलन निकै कम भएको उनले बताए ।
यसरी तुलो फाल्दा रोगव्याधी नलाग्ने, बालीनाली राम्रो हुने र पशुचौपायालाई राम्रो हुने मान्यता रहेको पुनको भनाइ थियो । “पहिले–पहिले साउने सङ्क्रान्ति भव्य रुपमा मनाउने गरिन्थ्यो, अहिले त्यो चलन निकै कम भएको छ, दिनभरी जङ्गल र बारीमा डुलेर कुरिलो, लुतेझार, काँडा जम्मा गर्ने, साँझ आँगनमा ठूलो आगो बालेर दनदनी बलिरहेको अगुल्टोलाई घर वरपर घुमाएर मकैबारीमा फलिन्थ्यो, लुतो फाल्दा दु꞉ख कष्ट आइ नलाग्ने, बालीनाली र वस्तुभाउलाई राम्रो हुन्छ, अहिले त कसले लुतो फाल्ने ?”, उनले भने ।
पुनले हालसम्म आफूले लुतो फाल्दै आएको भन्दै सन्तानले यो चलन गर्ने हुन् कि होइनन् भन्ने चिन्ता लागेको बताए । उनले लुतो फाल्ने विधि कसैले सिक्न चासो नदिएकाले यो प्रचलन हराउँदै जाने चिन्ता थप बढेको बताए ।
स्थानीय प्रेम बुढा मगरले असारमा किसानले बारीमा रुज्दैँभिज्दैँ खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोगबाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन तुलो फाल्ने चलन बसेको बताए । आज साँझ लुतो, दादलगायत रोगबाट मुक्ति मिल्छ भनेर बाउबाजेले लुतो फाल्ने गरे पनि अहिले त्यो चलन हराउँदै गएको उनको भनाइ थियो ।
“हामी सानो हुँदा बाउबाजेले विभिन्न विधि/पद्दति अपनाएर लुतो फाल्ने गर्नुहुन्थ्यो, तर अहिले उनीहरू हुनुहुन्न, उहाँहरूसँगै विस्तारै लुतो फाल्ने प्रचलन पनि हरायो”, मगरले भने, “हामीले पहिला सिकेनौँ अहिले केकसरी लुतो फाल्ने केही थाहा छैन । ”
गाउँघरमा लुतो फाल्ने प्रचलन कम भए पनि साउन महिनालाई महिलाले विशेष रुपमा मनाउन थालेका छन् । साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहेन्दी लगाउनुका साथै भगवान शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्ने गर्दछन् ।
व्रत बस्ने, हरियो चुरा र मेहेन्दी लगाउने प्रचलन भने बढेसँगै यसले विकृतिसमेत भित्र्याएको बुढापाको गुनासो छ ।