तीन सय नब्बे उम्मेदवार निर्विरोध

काठमाडौं | यही वैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा कुल ३९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित भएका मध्ये सबै भन्दा बढी नेकपा (एमाले) का १३८ जना रहेका छन् । निर्वाचन  आयोगका अनुसार निर्विरोध निर्वाचित मध्ये नेपाली कांग्रेसका ११५ जना, माओवादी–केन्द्रका ५९ जना एकीकृत समाजवादीका ३५ जना, नेमकिपा र राप्रपाका दुई दुई जना र लोसपा, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा माओवादी (समाजवादी) का एक एक जना रहेका छन् । यस्तै ३५ जना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट देशका ७५३ स्थानीय तहमा कुल ३५ हजार २ सय २१ नयाँ जनप्रतिनिधि छानिँदै छन् । ती पदका लागि आयोगले तोकेको वैशाख ११ र १२ गतेको उम्मेदवार  मनोनयन दर्ताको समयावधिमा कुल १ लाख, ४५ हजार १० जनाको उम्मेदवारी परेको थियो । ती मध्ये ३९० जना निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्विरोध निर्वाचित भएका मध्ये गाउँपालिकाको अध्यक्ष ३,  उपाध्यक्ष ४, वडाअध्यक्ष ४८, दलित महिला सदस्य १६४ महिला सदस्य ७१ र खुल्ला सदस्य १०० जना रहेका छन् । निर्विरोध निर्वाचित ३ अध्यक्ष मध्ये दुई जना नेकपा (एकीकृत समावादी) का र १ जना नेकपा एमालेका रहेका छन् । एकीकृत समाजवादीका तर्फबाट उम्मेदवार रहेकाहरु डोल्पाको काइके गाउँपालिकाको अध्यक्षमा अंगदकुमार राना र छार्का ताङसोङ गाउँपालिकाको अध्यक्षमा सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका छन् । डोल्पाकै शे फोक्सुण्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

आयोगले सार्वजनिक गरेको विवरणमा प्रदेशगत रुपमा हेर्दा सबै भन्दा बढी  १५७ जना कर्णाली प्रदेशमा निर्विरोध निर्वाचित भएका छन् । आयोगका अनुसार प्रदेश १ बाट ४३ जना, मधेश प्रदेशमा ९ जना, बागमतिमा ४६ जना, गण्डकीमा ११२ जना, लुम्बिनीमा ८ जना र सुदुरपश्चिममा १५ जना निर्विरोध निर्वाचित भएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित