नेपालगञ्ज । बाँके र बर्दिया जिल्लाका भारतसँग सीमा जोडिएका नाकाहरु वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २०७९ वैशाख २७ गते राति १२ बजेदेखि बन्द हुने भएको छ ।
भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन् ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि सीमा नाका बन्द गरिने प्रजिअ खत्रीले जानकारी दिए ।
यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो ।
दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो । बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ ।