काठमाडौं । रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ९ मे का दिन ‘विजय दिवस’को उपलक्ष्यमा सम्बोधन गरेका छन् । सो सम्बोधनमा पुटिनले युक्रेनमाथिको आक्रमण, पश्चिमा राष्ट्र तथा नेटोजस्ता महत्वपूर्ण विषयमा भनाइ राखेका छन् ।
रुसले ९ मेका दिन नाजी जर्मनीमाथिको जितको खुशीयालीमा विजय दिवस मनाइरहेको हो ।
सन् १९४५ को दोस्रो विश्वयुद्धका क्रममा तत्कालिन सोभियत संघ रुसले हिटलरको नेतृत्वमा रहेको नाजी जर्मनीलाई युद्धमा हराएको थियो ।
पुटिनका अनुसार युक्रेनमा विशेष सैन्य अभियान गर्न जरुरी थियो र त्यो न्यायोचित छ । सही समयमै युक्रेनमा रुसले सैन्य अभियान चलाएको उनको भनाइ छ ।
युक्रेनमा आक्रमण गरिरहेको विषयमा पुटिन भन्छन्,‘रुसले आफ्नो सुरक्षा, स्वतन्त्रता र सार्वभौमिकताको लागि युक्रेनमा लडिरहेको छ ।’
पुटिनले युरोपेली राष्ट्र र नेटोसँग रुसको तनाव गतवर्षदेखि बढेको स्वीकार गरेका छन् । रुसले युरोपसँग तनाव कम गर्न निष्पक्ष सम्झौता हुनुपर्ने बताउँदा बेवास्ता गरेपछि अहिलेको अवस्था निम्तिएको उनको भनाइ छ ।
युक्रेन नेटोमा आवद्ध नहोस् भन्ने रुस चाहन्थ्यो। तर नेटोले कुनैपनि युरोपेली देशलाई नेटोमा आवद्ध हुने अधिकार छ भनेको थियो ।
युरोपले पहिल्यैबाट डोनबासमा आक्रमणको योजना बनाइरहेको पनि पुटिनको आरोप छ । उनका अनुसार उनीहरुले युक्रेनबाट परमाणु हतियार प्राप्त गर्न खोजिरहेका थिए। साथै नेटोले रुस नजिकका जमिनी क्षेत्र खोजिरहेको थियो ।
नेटोले युक्रेनी सीमा प्रयोग गर्नखोज्दा आफ्नो सीमा क्षेत्रमा खतरा बढेपछि युद्ध गर्नुपरेको उनको भनाइ छ ।
पुटिनले दोस्रो विश्वयुद्धमा मारिएका सेना र डोनबासमा मारिएका रुसी सेनाको लागि दुई मिनेटको मौनधारणको लागि पनि अपिल गरेका थिए । उनले सो क्रममा हरेक सिपाहीको मृत्युले रुसलाई शोक परेको पनि उल्लेख गरे ।
पुटिनका अनुसार युक्रेनको विषयमा सहमति गर्न खोज्दा पश्चिमा राष्ट्रले केही सुन्न चाहेनन् बरु उल्टै रुसी भूमिमा आक्रमणको योजना बनाए । बीबीसी