काठमाडौँ । गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा प्रधानमन्त्री महिन्द्रा राजपक्षेले राजीनामा दिएका छन् । राजापक्षेले ९ मई २०२२ मा राजीनामा दिए सँगै श्रीलंकाको मन्त्री परिषद् भंग भएको छ । बिग्रँदो आर्थिक अवस्थालाई सम्हाल्न राजपक्षे नेतृत्वको मन्त्री परिषद् असफल भएका कारण प्रधानमन्त्री राजापक्षेले राजीनामा दिएको बताइएको छ । यतिबेला श्रीलंका स्वतन्त्रतापछि सबै भन्दा ठूलो आर्थिक संकटमा फसिरहेको छ । आर्थिक संकट चुलिएसँगै श्रीलंकाली जनताको जनजीवन यतिबेला अस्तव्यस्त बन्न पुगेको छ ।
सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री राजपक्षेले पदबाट राजीनामा दिएका हुन् । उनले राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा पठाएका हुन् । देशमा अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुले राष्ट्रपति गोटाबाया राजपक्षे र उनको मन्त्रिमण्डलमाथि राजीनामा दिन दबाब दिइरहेका छन् ।
श्रीलंका सरकारले हाल देशमा संकटकाल लागु गरेको छ। स्थानीय मीडिया रिपोर्टहरुका अनुसार राष्ट्रपति भवनमा गोटाबायाको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजपक्षेसँग राजीनामा दिन अनुरोध गरिएको थियो । जसलाई उनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।