काठमाडौं । देशमा स्थानीय तहको नयाँ निर्वाचन सम्पन्न भएको छ । यतिबेला २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चुनिएका नयाँ जनप्रतिनिधिहरुको घोषणा धमाधम भैरहेको छ । अहिलेसम्म घोषित निर्वाचन परिणामले नेपाली कांग्रेसलाई देशको पहिलो नेकपा (एमाले)लाई दोस्रो र नेकपा माओवादी केन्द्रलाई तेस्रो राजनैतिक शक्तिको स्थानमा देखाएको छ । अहिलेसम्म घोषित स्थानीय तहका प्रमुख ÷उपप्रमुखमा सबैभन्दा बढी सिट नेपाली कांग्रेसले नै जितेको छ र सबै भन्दा धेरै स्थानहरुका स्थानीय तहहरुको प्रमुख उपप्रमुखमा पनि कांग्रेस नै अगाडि देखिएको छ । त्यसपछि दोस्रो स्थानमा नेकपा (एमाले) र तेस्रो स्थानमा नेकपा (माओवादी–केन्द्र) देखिएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी–केन्द्र) , नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धन मार्फत् चुनावी तालमेल गरेका थिए । उनीहरुको तालमेल प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का विरुद्धमा रहेको थियो । एमालेलाई प्रतिगमनको मतियार बताउँदै उसलाई स्थानीयस्तरबाट नै परास्त गर्ने उद्घोषका साथ पाँच दलीय गठबन्धन चुनावमा होमिएको थियो । तर यो स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनले पनि अपेक्षाकृत सफलता हासिल गर्न सकेको देखिएन । गठबन्धनको वैशाखीबाट नै यस अघि दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस देशको पहिलो राजनैतिक शक्ति बन्न पुगेको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी जनता समाजवादी र राजमोलाई पनि यो गठबन्धनबाट स्थानीय चुनावमा केही राहतका सिटहरु त प्राप्त भएको देखियो तर जुन उद्देश्यका लागि भनेर पाँच दलीय गठबन्धन भित्रका दलहरुले चुनावी तालमेल गरेका थिए त्यसमा उनीहरु पूर्णतः असफल देखिएका छन् । उनीहरुले खोजे जस्तो ‘प्रतिगमन पत्तासाफ’ हुन सकेन ।
पुरानै शैलीको निर्वाचनः
संसदीय व्यवस्था अन्तर्गत हुने निर्वाचनहरु सत्ता र शक्तिबाट प्रभावित रहन्छन भन्ने तथ्य यस पटकको स्थानीय निर्वाचनमा पनि थप प्रष्ट भएको छ । सत्ता शक्तिको दुरुपयोग गरिएका र आर्थिक प्रलोभनमा पारेर मतहरु खरिद बिक्री गरिएका घटनाहरु यस पटकको निर्वाचनमा पनि छताछुल्ल भएर आए । रंगिन सपनाहरु सजाएर घोषणापत्र तयार पारी जनताका बीचमा लैजाने काम विभिन्न दलहरुले यस पटकको निर्वाचनमा पनि पुरानै शैलीमा गरे । निर्वाचनका बेला विकास र सम्बृद्धिका आश्वासनहरु बाँड्ने काम प्रायः पार्टीका उम्मेदवारहरुले गरे । जसले बढी पैसाको खोलो बगाउन सके, जसले बढी ढाँट, छल र षडयन्त्र गर्न सके अहिले पनि चुनाव प्रायः उनैले जितेका गुनासाहरु आइरहेका छन् । उम्मेदवारको छनौट गर्दा नै पार्टीहरुभित्र नातावाद र कृपावादको प्रभाव प्रचुर मात्रामा देखिएको थियो । जसका कारण ती पार्टीहरुभित्रै असन्तुष्टिका स्वरहरु गुन्जिरहेका सुनिन्थ्यिो । त्यसको असर केही ठाउँहरुको मतपरिणाममा पनि देखियो पनि । गठबन्धनका दलहरुका बीचमा मात्र होइन पार्टीहरुभित्रै घात प्रतिघातका खेलहरु पनि देखिए । दलहरुले चुनाव जित्नकै लागि नीति सिद्धान्तलाई एकातर्फ लत्याएर अप्राकृतिक खालको गठबन्धन र तालमेल समेत गर्न पछि परेका थिएनन् । तर कतिपय ठाउँका ती दलका स्थानीय नेता कार्यकर्ता र पार्टी कमिटिहरुले केन्द्रको त्यो तालमेललाई लत्याई दिए । यसपटकको निर्वाचनमा प्रमुख भनिने दलहरुमा देखिएको त्यही जसरीनी चुनाव जित्नका लागि नीति सिद्धान्त लत्याएर जोसँग पनि तालमेल गर्ने प्रवृत्तिका कारण पनि उनीहरु थप बदनामित हुन पुगे । बुथ कब्जादेखि आक्रमण प्रत्याक्रमणका घटनाहरु पनि यसपटकको निर्वाचनको सिलसिलामा दोहोरिन पुगे । मतपरिणाम आफ्नो पक्षमा नआएपछि प्रमुख भनिने दलहरुले नै एकले अर्कोलाई चुनावमा धाँधली गरेको आरोप लगाइरहेका छन् । निर्वाचन सकिएको तीन दिनपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विज्ञप्ती जारी गरी चुनावमा सत्ता गठबन्धनले सत्ता शक्तिको चरम दुरुपयोग गरी धाँधली गरेको आरोप लगाएको छ । एमालेको उक्त आरोपलाई सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ‘हार मानसिकताको उपज’ बताएको छ । प्रमुख दलहरुका ती वक्तव्य र अभिव्यक्तिहरुले यसपटकको निर्वाचन पनि पुरानै शैलीमा सम्पन्न गरिएको र निर्वाचन पछि आएका जनप्रतिनिधिहरुले घोषणा गरे जस्तो काम गर्नेमा गम्भीर आशंका गर्नै पर्ने अवस्था सिर्जना गरिदिएका छन् ।
“बालेन”क्रेजको सन्देश
स्थानीय तह निर्वाचन–२०७९ मा काठमाडौं महानगरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन्द्र शाह (बालेन) यतिबेला चर्चाको शिखरमा छन् । देशको राजधानी रहेको महानगरपालिकामा उनको पक्षमा अप्रत्यासित जनआकर्षण देखिएको छ । मतगणनाको क्रममा प्रमुख दलहरुका उम्मेदवारहरुलाई ठूलो मतान्तरले पछि पार्दै उनले अग्रता लिइरहेका छन् । उनले प्राप्त गरेको मतले दलहरु र धेरै मानिसहरुलाई आश्चर्य चकित पारिरहेको छ । काठमाडौंको मेयरमा बालेनले नै विजय हासिल गर्ने आँकलन धेरैले गर्न थालेका छन् । काठमाडौंको मत गन्न थालिएका हरेक वडाहरुमा अहिलेसम्म बालेनको नै अग्रता लिइरहेका छन् । मेयर पदका लागि बालेनको लौरो चिन्हमा एक छाप, अरु छ छाप सूर्यमा, एक भोट बालेनलाई लौरोमा अरु सबै रुखमा मतगणनाका क्रममा त्यस्ता दृश्यहरु देखिएको मत गन्न बसेका दलहरुका प्रतिनिधिहरुले नै बतायरहेका छन् । अहिले केही वडाहरुमा बालेनले अग्रता लिए पनि काठमाडौंका भित्री बस्ती रहेका वडाहरुको मतगणना हुँदा आफूहरुले नै अग्रता लिने र विजय हासिल गर्ने एमाले उम्मेदवार केशव स्थापितले दावी गरेका छन् । कांग्रेसका नेताहरुले पनि त्यस्तै खालको प्रतिक्रिया दिइरहेका छन् । तर अहिलेसम्म बालेनले प्राप्त गरेको मतको प्रकृति हेर्दा अन्तिम परिणाम पनि उनैको पक्षमा आउने आँकलन धेरैले गरिरहेका छन् ।
बालेन प्रतिको यो जनआकर्षण कसरी सिर्जना भयो ? वास्तवमा बालेन को हुन र कताबाट परिचालित छन् ? देशको राजनैतिक बजारमा यी प्रश्नहरु अहिले सल्बलाइरहेका छन् । बालेन प्रतिको जनक्रेजलाई प्रमुख दलहरुले अझै पनि गम्भीर रुप लिन सकेको देखिंदैन । उनीप्रतिको यो आकर्षणलाई दलहरुले अझै पनि हल्का रुपमा लिएको देखिन्छ ।
नेपाली राजनीतिमा आकस्मित रुपमा उदाएका बालेन, वास्तवमा प्रमुख भनिने राजनीतिक दलहरुको अकर्मण्यता र असक्षमताका कारण सिर्जित भएका पात्र हुन् । निर्वाचनका बेला जनताको घर दैलोमा गएर विकास र सम्बृद्धिका ठूला ठुला आवश्यकताहरु बाँड्ने, तर सत्तामा पुगेपछि जनहितलाई एकातर्फ लत्याएर आफ्नै निहित स्वार्थहरु पूरा गर्न तर्फ केन्द्रित रहने । अनियमितता र भ्रष्टाचारमा लिप्त हुने । सत्ता जोगाउनका निम्ति विदेशी प्रभुहरुको पाउमा देशको स्वाधिनता पनि सुम्पन तयार रहने । विकासका परियोजना र संस्था एवं संस्थानहरुमा आफन्त नातेदारहरुको भर्तिकेन्द्र बनाउने । नातावाद र कृपावादमा रमाउने, पार्टी निर्माणमा अहोरात्र खटिने नेता कार्यकर्ताहरुलाई पर्घेल्ने र बेवास्ता गर्ने । दलहरुमा वर्षौंदेखि देखिंदै आएका प्रवृत्तिहरु हुन ति । प्रमुख भनिने दलहरुमा निहित त्यही प्रवृत्तिकै कारण स्थानीय नेता कार्यकर्ता र जनता ती दलहरुप्रति आक्रोशित थिए । पार्टी नेतृत्वको कार्यप्रति असहमति राखेर आक्रोशित भए पनि पार्टी नै छोड्न हिम्मत भने उनीहरुले गर्न सकेका थिएनन् । आफ्नो पार्टी नेतृत्वले अघि सारेको उम्मेदवारलाई छोडेर बालेनलाई भोट दिने कार्यगरी ती कार्यकर्ताहरुले आफ्नो असन्तुष्टिलाई मूर्त रुप दिएका छन् ।
बालेनले अहिले प्राप्त गरेको मत दलहरुप्रतिको त्यही जनआक्रोशको अभिव्यक्ति हो । दलहरुको झुठो आश्वासनबाट आजित भएका जनताले पथभ्रष्ट हुँदै गएको पार्टी नेतृत्वलाई सबक सिकाउनका लागि पनि बालेनको पक्षमा मत जाहेर गरेका हुन् ।
बालेनले अघि सारेका चुनावी एजेण्डा, उनको प्रचारशैली र शालिनता हेर्दा बुझ्न सकिन्छ–यो निर्वाचनमा उम्मेदवार बन्नका लागि उनले लामो समयदेखि तयारी गरेका थिए । काठमाडौंका जनता, विशेषत उर्जाशील युवा शक्तिको मनस्थितिलाई मसिनो गरी अध्ययन गरेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेको देखिन्छ । स्ट्रकचरल इन्जिनियर बालेनले अघि सारेका चुनावी एजेण्डाहरु यथार्थ धरातल माथि टिकेको देखिन्छ । त्यसमाथि उनको प्रस्तुति र प्रचार शैलीले उनका एजेण्डाहरुलाई जनताले छिट्टै विश्वास गरेको हुनुपर्छ । पुख्र्यौली थलो तराई रहेका बालेन विगत लामो समयदेखि काठमाडौंको स्थायी बासिन्दा हुन् । काठमाडौंको जनजीवन र आवश्यकतालाई उनले नजिकबाट बुझेको पनि देखिन्छ । उनी मूलतः एक ¥यापर हुन । आफ्ना विभिन्न ¥याप गीतहरु मार्फत् उनले नेपाली राजनीतिमा देखिएको विकृति विसंगतिहरुको उजागर पनि गर्दै आएका थिए । तिनै ¥याप गीतहरुका कारण बालेन आधुनिक युवाहरुका माझ चर्चित र प्रिय थिए । त्यो लोकप्रियता र आकर्षण पनि अहिले बालेनले प्राप्त गरेको मतको एक कारण हो ।
बालेनले अघि सारेको काठमाडौंको विकासको अवधारणा निकै आकर्षक र विश्वासिलो खालको देखिन्छ । तर राज्य संयन्त्रमा परिवर्तनका लागि एक व्यक्तिको चाहना र योजना मात्र पर्याप्त हुँदैन । त्यसलाई कार्यान्वयन गर्न संगठित शक्ति अनिवार्य रुपमा चाहिन्छ नै । अहिले बालेनले काठमाडौंको मेयरमा विजय हासिल गरेको खण्डमा योजना निर्माण र कार्यान्वयनको तहमा उनको कुनै टिम हुने छैन । उनी नेतृत्वको काठमाडौं महानगरको स्थानीय सरकारमा अरु सबै जनप्रतिनिधि विभिन्न पार्टीहरुका नै हुनेछन् । राज्य संयन्त्रमा परिवर्तन ल्याउन, विकासका परियोजनाहरु अघि बढाउन एक व्यक्तिको सोच, विचार र अवधारणा महत्वपूर्ण त हुन सक्छ तर त्यसलाई कार्यान्वयनको तहमा पु¥याउन ऊ सँग संगठित शक्ति हुनै पर्दछ । त्यै आवश्यकताबोध गरेर नै राजनैतिक पार्टीहरुको निर्माण गरिएको हुन्छ । राजनैतिक पार्टीहरु निश्चित दर्शन, नीति र सिद्धान्तबाट निर्देशित र परिचालित रहेका हुन्छन् । बालेन साहको राजनैतिक सिद्धान्त र नीति के हो ? त्यो अझै प्रष्ट छैन । उनी कुनै शक्ति केन्द्रबाट परिचालित रहेको आरोप पनि एकथरीले लगाउने गरेका छन् । समयक्रमको विकाससँगै उक्त आरोप पछाडिको वास्तविकता पनि अवश्य खुल्दै जानेछ । तर अहिले नै उनलाई राजनैतिक दलका नेताहरुबाट ‘शक्तिकेन्द्रको एजेण्ट’को ट्याग भिराउनु त्यो न्यायसंगत हुने छैन । बालेनलाई दलहरुको असक्षमताले जन्माएको एक विद्रोही पात्रको रुपमा लिन सकिन्छ । उनी प्रतिको उर्लंदो जनलहरबाट राजनैतिक दलहरुले अब गम्भीररुपमा आत्मसमिक्षा गर्नु आवश्यक छ । आफ्ना गल्ती कमजोरीहरुबाट पाठ सिकेर पार्टीहरु अघि बढेनन् भने एक होइन अनेकौं बालेनहरु आउन सक्छन् । यो व्यवस्थाको विकृत प्रणालीका कारण समय समयमा बालेन जस्ता पात्रहरु आइरहने छन् । त्यो सिलसिला अघि बढ्दै जाँदा पुँजीवादी संसदीय व्यवस्था नै गम्भीर संकटमा फस्न सक्छ ।
आवश्यकता व्यवस्था परिवर्तनको ः नयाँ निर्वाचनबाट स्थानीय तहहरुमा नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएर आएका छन् । ती निर्वाचित मध्ये कुनै कुनै असल मानिसहरु पनि हुन सक्छन् । तर यो राज्य व्यवस्थाभित्र जतिसुकै असल मानिसहरु निर्वाचित भएर सरकार संचालनको तहमा पुगे पनि जनताको जीवनस्तरमा आमूल परिवर्तन भने हुन सक्ने छैन भन्ने तथ्य कटु यथार्थ हो । यो व्यवस्थाको समग्र संरचनाले आमूल परिवर्तनको त्यो कार्य गर्न नै दिंदैन । सुधारका केही कामहरु हुन नसक्ने होइन तर जनताको जीवनस्तरमा समग्र परिवर्तन यो व्यवस्था अन्तर्गत हुन नसक्ने कुरा अब प्रष्ट भैसकेको छ । यहाँ आवश्यकता निर्वाचन मार्फत् जनप्रतिनिधि फेर्ने होइन, व्यवस्था नै बदल्ने हो । वर्तमान व्यवस्थाप्रति जनतामा व्यापक असन्तोष र वितृष्णा फैलिंदै गएको अहिलेको स्थानीय निर्वाचनले पनि प्रष्ट पारिसकेको छ । संसदीय व्यवस्था वास्तवमा गरिखाने श्रमजीवी वर्गको हितकारी व्यवस्था होइन रहेछ भन्ने तथ्यलाई अब जनताले पनि व्यवहारिक रुपमै बुझ्दै गएका छन् । संसदवादी शक्तिहरु यो व्यवस्थालाई नै बचाइ राख्न चाहन्छन् । उनीहरुका लागि यही व्यवस्था नै स्वर्ग हो । तर बहुसंख्यक श्रमजीवी जनताका निम्ति यो नरकिय व्यवस्था नै हो । त्यसैले यो तथ्यलाई आमूल परिवर्तनका पक्षधर कम्युनिष्ट क्रान्तिकारीहरुले मनन गर्नुपर्छ । । वर्तमान व्यवस्थाप्रतिको जनताको त्यो असन्तुष्टिलाई नेतृत्व दिन कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु अघि सर्नु पर्दछ । यदि उनीहरु त्यसरी अघि सरेनन् भने त्यसको फाइदा प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुले लिन सक्नेछन् ।