गोरखाको भुम्लिचोकमा अजिङ्गर फेला

गोरखा, २६ साउन ꞉ गोरखाको गण्डकी गाउँपालिका–६, भुम्लिचोकस्थित पल्लोटारमा आज अजिङ्गर फेला परेको छ । करिब २२ केजी तौल भएको अजिङ्गर त्रिशूली नदी किनार नजिकै सडकमा भेटिएको सबडिभिजिन वन कार्यालय सिउरेनीटारका प्रमुख वन अधिकृत रविआनन्द गोपालीले जानकारी दिए ।

गण्डकी गाउँपालिकाको भुम्लिचोक र चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ जोड्ने नयाँ बनेको पक्की पुल नजिकै गोरखातर्फको कच्ची सडकमा अजिङ्गर फेला परेको उनले जानकारी दिए ।

“तीनवटा घिस्रने जनावरमध्येमा उद्धार गरिएको अजिङ्गर (पाइथन) एउटा हो”, वनअधिकृत गोपालीले भने, “यो संरक्षित जनावरअन्र्तगत पर्दछ । ” कच्ची सडक नजिकै खसेको पहिरोमा उक्त अजिङ्गर भेटिएको वन अधिकृत गोपालीले बताए ।

“स्थानीयवासीले जानकारी दिएपछि वडाध्यक्ष तुलबहादुर गुरुङले हामीलाई अजिङ्गर भेटिएको भनेर कार्यालयमा खबर गरे”, वन अधिकृत गोपालीले भने, “कार्यालयबाट तत्काल कर्मचारी गएर अजिङ्गरको उद्धार गरिएको हो । ”

उनले फेला परेको अजिङ्गर रैथाने हो वा बाढीले बगाएर ल्याएको भन्ने बारेमा यकिन गर्न कठिन भएको बताए । उद्धार गरिएको अजिङ्गरलाई अहिले सबडिभिजन वन कार्यालयमा राखिने र कहाँ छोड्ने भन्ने बारेमा शनिबार मात्र टुङ्गो लाग्ने उनको भनाइ छ ।

“सोही स्थानमा छोड्ने कि चितवनमा लगेर राख्ने भन्ने बारेको निष्कर्षमा पुगिसेकका छैनौँ”, उनले भने, “भेटिएको अजिङ्गरको बासस्थानको क्षेत्र ठूलो रहने गरेको फेला पारिएको क्षेत्रमा पनि यसको बासस्थान हुन सक्छ । ”

वन अधिकृत गोपाली र वनरक्षक अम्बिका शर्माले लौरो र बोराको सहायताले फेला परेको अजिङ्गरको उद्धार गरेका हुन् । स्थानीयवासीले पहिलो पटक त्यस क्षेत्रमा अजिङ्गर फेला परेको बताएका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित