दैलेख, २८ साउन । भैरवी गाउँपालिका–५ का कृष्णप्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्नुहुन्छ । घोगा लाग्ने बेलाको मकै बँदेल र बाँदरले नष्ट गर्न थालेपछि उहाँमात्र नभई गाउँका किसान मकै बारीमै दिनरात बिताउन बाध्य छन् ।
केही वर्षअघिदेखि बँदेल र बाँदरले लगाएको बाली नष्ट गर्न थालेपछि उनीहरू मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको विस्तारसँगै नजिक आउने जङ्गली जनावरले वर्षमा छ महिना खान पुग्ने मकैखेती सखाप पारेपछि अन्न खोज्नुपर्ने चिन्तामा किसान छन् ।
“जङ्गली जनावर बँदेलले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जागराम बस्नुपर्ने बाध्यतामा छौँ, वर्षमा छ महिना खान पुग्ने खेती बाँदर÷बँदेलले नष्ट गरेपछि अन्न बेसाउनुपर्ने भएको छ”, किसान जैसीले भने ।
भैरवी गाउँपालिकामा मात्र नभई बँदेल र बाँदरले जिल्लाका धेरै ठाउँमा मकैखेती नष्ट गर्दै आएका छन् । कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकैखेती मात्र नभई अन्य खेतीमा समेत क्षति पुर्याउँदै आएको देखिन्छ ।
कार्यालय प्रमुख दशरथ पाण्डेले दैलेखका सबै स्थानीय तहका ९० वडामा २१ हजार एक सय ७५ हेक्टरमा किसानले मकैखेती लगाउँदै आएको बताए । उनले पछिल्ला वर्षमा जङ्गली जनावरले किसानको बालीमा क्षति गर्ने गरेको बताए ।
उनले किसानको क्षतिमा कार्यालयले पर्याप्त मात्रामा राहत उपलब्ध गराउन नसक्ने बताए । “अहिले मकैखेतीको समय हो, बँदेल र बाँदरले मकैखेतीमा क्षति पुर्याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न आम किसानसँगै सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ, कृषिले पर्याप्त राहत दिन सक्दैन कार्यविधि त्यहीअनुसारको छ”, कार्यालय प्रमुख पाण्डेले भने ।
उनले किसानको कति मकैखेतीमा जङ्गली जनावरले क्षति पुर्यायो भन्ने विवरण कृषि विकास कार्यालयसँग नरहेको बताए । उनले भने, “कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले सङ्कलन गरेको भन्ने छ, हामीले क्षतिको विवरण हेरेर बीउसम्म उपलब्ध गराउन सक्छौँ, कृषिले राहतभन्दा पनि अनुदान दिने गर्दछ । ”
भैरवी गाउँपालिकाका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले एक वडामा पाँचदेखि सात रोपनी जग्गामा किसानले लगाएको मकैमा बँदेलले क्षति पुर्याएको जानकारी दिए । उनले गाउँपालिकाका सबै वडाबाट जङ्गली जनावरले मकैमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्ने कामलाई तीव्रता दिएको बताए ।
“मकैबालीमा बँदेल र बाँदरले पुर्याएको क्षतिको विवरण सङ्कलनलाई तीव्रता दिएका छौँ, अहिलेसम्म गाउँपालिका–१, २, ३, ४, ५ वडामा बढी मात्रमा क्षति पुगेको पाएका छौँ, गाउँपालिकाले राहत दिने कुनै नीति बनाएको छैन, जङ्गली जनावरको नियन्त्रणतर्फ तीनै तहका सरकार लागिपर्नुपर्ने देखिन्छ”, शाखा प्रमुख भट्टराईले भने ।